'अब अर्को गोली चले मेरो शिरबाट चल्छ, तर जेनजीको आशा मर्न दिन्नँ!
नयाँ बानेश्वरको मञ्चबाट पुराना दलहरूलाई 'सुध्रिन' चेतावनी दिँदै गृहमन्त्री सुधन गुरूङ मंगलबार यसरी नै गर्जिएका थिए।
विडम्बना के भने, गृहमन्त्रीले यसो भनिरहँदा उनकै छेउ मुस्कुराइरहेका दुई विवादित पात्र पनि थिए। तीमध्ये एक जनाको नाता त गोलीसँगै जोडिएर आउँछ।
कुनै बेला आफैलाई गोली हान्न लगाएर साम्प्रदायिक हिंसा भड्काउन खोज्ने र आफूलाई 'धर्मगुरू' दाबी गर्ने दिनेशप्रसाद पण्डित उर्फ आचार्य श्रीनिवास मंगलबारको जेनजी स्मृतिसभामा अतिथि बनेर मञ्चमा आसिन थिए।
उनीसँगै धर्मको आवरणमा धेरैलाई ठगेर सजाय पाइसकेका र ठगीधन्दाको दुर्नामबाट जोगिन बारम्बार नाम फेर्ने विजय भण्डारी अर्थात बालयोगेश्वर पनि त्यही मञ्चमा मुस्कुराइरहेका थिए।
जेनजी आन्दोलनको एक वर्ष पुगेको स्मृतिसभामा गृहमन्त्रीकै लहरमा विशिष्ट अतिथि बनेका यी दुई अनुहारले उनकै सुशासनको भाषणलाई गिज्याएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सचेतक क्रान्तिशिखा धितालले विवादास्पद धर्मगुरूहरूलाई मञ्चमा राखिएको भन्दै सामाजिक सञ्जालबाट प्रश्न उठाएकी छन्।
'मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो? त्यहाँ भएका धर्मगुरूको अर्थ के थियो?' उनले लेखेकी छन्, 'त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन्, जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन्, तिनले के बुझे, मलाई थाहा छैन।'
क्रान्तिशिखाको यस्तो टिप्पणीपछि गृहमन्त्री गुरूङले उनलाई झन्डै एक दर्जन 'जेनजी' सांसद सामेल ह्वाट्सएप ग्रुपमा हप्काएको पनि सार्वजनिक भएको छ।
हेर्नुहोस्: गृहमन्त्री गुरूङले आफ्नै पार्टीकी सचेतक क्रान्तिशिखालाई हप्काए
हामीले यो स्टोरीमा मंगलबार पुरानो संसद भवनको प्रागंणमा आयोजित कार्यक्रमपछि फेरि चर्चामा रहेका यी दुई 'धर्मगुरू' हरूको विवादित विगत खोतल्ने प्रयास गरेका छौं।
सद्भाव भड्काउन उद्यत भइरहने श्रीनिवास
२०७४ चैतमा विराटनगर–१४ जतुवामा रहेको रामजानकी मन्दिरमा धार्मिक महायज्ञ चलिरहेको थियो।
महायज्ञमा कथा वाचन गर्न भनेर चैत २४ मा एक जना युवा पण्डित मन्दिरमा आइपुगेका थिए। आफूलाई आचार्य श्रीनिवास भनेर चिनाउने उनले महायज्ञमा प्रवचन दिए। आयोजकले उनको बसोबासको प्रबन्ध मन्दिर परिसरमै मिलाएको थियो।
चैत २५ गते राति करिब २ बजेको थियो। श्रीनिवास शौचालय जान भनेर मन्दिरको कोठाबाट बाहिर निस्किए।
त्यही बेला उनीमाथि अचानक कसैले गोली प्रहार गर्यो।
सुनसान रातमा दुई राउन्ड गोली चलेको आवाजले मन्दिर परिसर र आसपासको बस्तीमा हल्लाखल्ला सुरू भयो।
मान्छेहरू भेला भइरहँदा रगतपच्छे अवस्थामा श्रीनिवास भुइँमा ढलिरहेका भेटिए। उनको दाहिने छाती र पाखुराबाट रगत बगिरहेको थियो।
तत्कालै उनलाई विराटनगरस्थित न्युरो अस्पताल पुर्याइयो।
प्रहरी अनुसन्धान क्रममा 'मंगोल नेसनल अर्गनाइजेसन' नामक संगठनको पर्चा भेटियो। पूर्वी नेपालमा लामो समयदेखि आदिवासी–जनजाति समुदायको पक्षमा सक्रिय अर्गनाइजेसनको नामको पर्चा भेटिएको विषयले ठूलो चर्चा पायो।
भर्खरै संघीयतामा प्रवेश गरेको र धर्मनिरपेक्ष राष्ट्र घोषित भइसकेको अवस्थामा गैरहिन्दु समुदायको संस्थाले हिन्दु 'धर्मगुरू' माथि गोली प्रहार गरेको हल्ला आगोसरी फैलियो।
त्यसपछि विराटनगरदेखि काठमाडौंसम्म विरोध सुरू भए। हिन्दुवादी संगठनहरू सडकमा ओर्लिए।
बन्द, हडताल र साम्प्रदायिक तनाव सिर्जना गर्ने प्रयास तीव्र बने।
जसै गोली खाएका श्रीनिवास २१ दिनसम्म अस्पतालमा उपचारपछि डिस्चार्ज भए र उनका केही सहयोगी पक्राउ परे, त्यो घटनाको रहस्य पनि बाहिरियो।
तत्कालीन मोरङ प्रहरी प्रमुख एसपी अरूणकुमार बिसी र अनुसन्धान अधिकृतहरूको टोलीले कल डिटेल्सदेखि घटनास्थलको सूक्ष्म अनुसन्धानपछि एउटा यस्तो साम्प्रदायिक षड्यन्त्रको पर्दाफास गरिदिए, जसले श्रीनिवासको षड्यन्त्र बाहिर ल्याइदियो।
प्रहरी अनुसन्धानबाट खुल्यो — देशमा हिन्दु राष्ट्रको पक्षमा जनलहर उठाउन, धार्मिक हिंसा भड्काउन र आफूलाई राष्ट्रिय स्तरको धार्मिक 'हिरो' बनाउन श्रीनिवास आफैले पेस्तोल खरिद गरेर आफ्ना सुटरलाई आफूमाथि नै गोली हान्न लगाएका थिए!
तत्कालीन मोरङ प्रहरी प्रमुख (एसपी) बिसीले घटनाबारे पत्रकार सम्मेलन गरेरै भनेका थिए, 'हाम्रो अनुसन्धानबाट श्रीनिवासले हिन्दु राष्ट्रको मुद्दा भड्काउन र देशभरि साम्प्रदायिक आन्दोलन भड्काउन आफै पेस्तोल किनेर आफ्नै सहयोगीलाई गोली हान्न लगाएको पुष्टि भयो। यो विशुद्ध साम्प्रदायिक दंगा गराउने नियतले रचिएको आपराधिक षड्यन्त्र थियो।'
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थायी घर भएका दिनेशप्रसाद पण्डित उर्फ श्रीनिवासको जन्म नुवाकोटमा भएको हो।
उनले औपचारिक रूपमा कुनै विश्वविद्यालय वा संस्कृत पाठशालाबाट 'आचार्य' को उपाधि हासिल गरेका छैनन्। तर १६ वर्षकै उमेरदेखि पुराण वाचनमा लागेका उनले नामको अगाडि आफै 'आचार्य' जोडे र सुनसरीको चक्रघट्टीमा आश्रम बनाएर धार्मिक गतिविधि सञ्चालन गर्न थाले।
पुराण वाचन गर्दागर्दै उनी उग्र धार्मिक अभियानतिर मोडिएका थिए।
आफूलाई स्थापित गराउन उनले आफ्नै ज्यान जोखिममा पार्ने तर साम्प्रदायिक हिंसा भड्काउने खतरनाक योजना बुने।
प्रहरी अनुसन्धान अनुसार श्रीनिवासले नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारी (खान सन्तोष) सँग सम्पर्क गरी १५ हजार रूपैयाँमा एउटा पेस्तोल र गोलीको प्रबन्ध मिलाएका थिए। त्यसपछि आफ्ना अंगरक्षक तथा विश्वासपात्र सहयोगी चितवनका माधव चौधरी (काले रोशन) लाई हतियार सुम्पिएका थिए।
२०७४ चैत २५ गते राति योजनाबद्ध रूपमा श्रीनिवास शौचालय जाने बहानामा निस्किए र पूर्वसहमति अनुसार चौधरीले ५ मिटरको दुरीबाट गोली चलाए।
पक्राउ परेपछि प्रहरीले सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीहरूका अगाडि सुटर माधव चौधरीले भनेका थिए, 'गुरूकै योजनामा ५ मिटर टाढाबाट मैले गोली हानेको हो। गुरूले मलाई 'हातमा हान्नू' भन्नुभएको थियो। तर रातको समय ५ मिटर टाढाबाट हान्दा मिसफायर भएर हातमा नलागी छातीमा लाग्यो। धर्म र हिन्दु राष्ट्रका लागि गुरूले गोली खान तयार हुनुभएको भनेपछि मैले हानेको हुँ।'
यो तथ्य सार्वजनिक भएपछि प्रहरीले श्रीनिवासलाई २०७५ वैशाखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट पक्राउ गर्यो।
प्रहरीले उनीविरूद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना ऐन अनुसार मुद्दा चलायो।
जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई पुर्पक्षका लागि जेल पठायो।
मामिला मोरङ जिल्ला अदालत पुग्यो। तर अदालतको कठघरामा पुगेपछि कथाले अर्कै मोड लियो।
घाइते श्रीनिवासले अदालतमा पुगेर पन्छिने गरी बयान फेरिदिए। मोरङ जिल्ला अदालतमा इन्कारी बकपत्र दिँदै श्रीनिवासले भनेका थिए, 'म शौचालय जान बाहिर निस्किएका बेला अपरिचित व्यक्तिले गोली हानेका हुन्। प्रहरीले कसलाई पक्राउ गर्यो र कसले के बयान दियो, मलाई थाहा छैन। मैले कसैलाई गोली हान्न लगाएको छैन।'
दबाब, प्रभाव वा आन्तरिक लेनदेनका कारण सुटर माधव चौधरी र अन्य साक्षीहरूले पनि अदालतमा बयान फेरे।
मुख्य हतियार बरामद नभएको र घाइते तथा साक्षी स्वयंले बयान फेरेको प्राविधिक आधार देखाउँदै मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश दीपक खनालको इजलासले २०७५ चैत २७ गते श्रीनिवाससहित सबै आरोपीलाई सफाइ दियो। यसको पूर्ण पाठ २०७६ जेठमा सार्वजनिक भयो।
जेलबाट छुटेपछि पनि श्रीनिवासको उग्र र हिंसात्मक गतिविधि रोकिएन। उनी निरन्तर राज्यका कानुन र सामाजिक सद्भावविरूद्ध लागिरहे।
२०८० असोजमा गौहत्याको विरोधका नाममा जनकपुरमा आयोजित सभामा उनले मञ्चमै नांगो खुकुरी नचाउँदै हिंसात्मक भाषण गरेका थिए।
उनले भनेका थिए, 'गौहत्या गर्नेलाई जहाँ भेट्यो त्यहीँ नांगो खुकुरीले काट्नुपर्छ, त्यसको सम्पूर्ण कानुनी र नैतिक जिम्मा म लिन्छु!'
सामाजिक सद्भाव बिगाारेको र हिंसा उक्साएको अभियोगमा धनुषा प्रहरीले उनलाई पक्राउ गर्यो। तर सार्वजनिक शान्ति सुरक्षाविरूद्धको कसुरमा मात्र ५०० रूपैयाँ जरिवाना तिराएर उनलाई छाडियो।
त्यसपछि त्यसै वर्ष मंसिरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको गौशालामा भएको प्रदर्शनमा श्रीनिवास गेरूवस्त्रधारी टोलीसहित पुगेका थिए।
त्यहाँ प्रहरीमाथि ढुंगामुढा गर्ने र सडक अवरूद्ध पार्ने कार्यमा अग्रभागमा खटिएका उनलाई प्रहरीले पुनः पक्राउ गरी ११ दिन हिरासतमा राखेको थियो।
ठगीधन्दा चलाउँदै, नाम फेर्दै गर्ने विजय भण्डारी
मंगलबार नयाँ बानेश्वरमा आयोजित जेनजी सहिद स्मृति सभाको मञ्चमा अघिल्लो लहरमा श्रीनिवाससँगै मुस्कुराइरहेका अर्का पात्र थिए — विजय भण्डारी।
गुल्मी जिल्लाको धुर्कोट स्थायी घर भएका भण्डारीको विगत पल्टाउने हो भने, उनी धर्मको दोहोलो काढेर सोझा सर्वसाधारणलाई करोडौं ठग्ने र नाम फेर्दै हिँड्ने एक 'ठग' हुन्।
उनलाई नजिकैबाट चिन्ने दाबी गर्ने सुनसरीस्थित एक धार्मिक धामका 'धर्मगुरू' ले भने, 'उनी धर्मका नाममा ठगी र अपराध धन्दा चलाउने सिद्धहस्त ठग हुन्। त्यत्तिको सिद्धिप्राप्त ठग ब्रह्माण्डमा अर्को सायदै कोही होला!'
यो भनाइले मात्र होइन, नेपालको प्रचलित कानुनले बारम्बार दोषी ठहर गरेका आधारमा पनि भण्डारी ठग हुन् भन्ने पुष्टि गरिसकेको छ।
उनले आफ्नो नाम मात्रै धेरै पटक फेरिसकेका छन्। कहिले आफूलाई विष्णु प्रपन्नाचार्य भन्ने उनले कुनै बेला बालगोपालेश्वर र बालयोगेश्वर विजय कृष्णमूर्तिका नाममा पनि चिनाउन खोजेका छन्। उनले चलाउने संस्थाहरू पनि 'मानव कल्याण आध्यात्मिक परोपकार संघ' बाट सुरू भएर हाल 'मानव सेवा फाउन्डेसन' सम्म पुगेका छन्।
सर्वोच्च अदालतदेखि वैदेशिक रोजगार न्यायाधीकरणसम्मको अभिलेख अनुसार २०६८ देखि उनी सार्वजनिक रूपमा धार्मिक गतिविधिको आवरणमा ठगीधन्दामा जोडिएको देखिन्छ।
उनले अमेरिकामा हुने धार्मिक अनुष्ठानमा लैजान्छौं भनेर ५ लाखदेखि १० लाख रूपैयाँसम्म उठाएका थिए।
पीडितहरूको उजुरीपछि काठमाडौं जिल्ला प्रहरी परिसरले छाउनीस्थित उनको आलिशान निवासमा छापा मार्दा करोडौंका फर्जी रसिद, चेकबुक र ठगीका कागजात बरामद गरेको थियो।
काठमाडौं जिल्ला अदालतले २०७३ मंसिर ६ गते १ करोड २७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भण्डारीलाई दोषी ठहर गरेको थियो।
अदालतले भनेको थियो, 'प्रतिवादी विजय भण्डारीले संस्थाको आवरणमा सर्वसाधारणलाई वैदेशिक रोजगार र धार्मिक भ्रमणको लोभ देखाई ठगी गरेको पुष्टि भएकाले निजलाई साढे दुई वर्ष कैद र ८१ लाख रूपैयाँ जरिवाना हुने ठहर्छ।'
उच्च अदालतले पनि उक्त फैसला सदर गरेपछि मुद्दा सर्वोच्च पुगेको थियो।
अन्ततः २०८१ कात्तिक ११ मा पीडितहरूलाई रकम फिर्ता गर्ने सहमतिमा सर्वोच्चमा मिलापत्र भएको थियो।
धार्मिक कार्यक्रममा विदेश लैजाने भन्दै थप ३ जनाबाट १२ लाख ठगेको अभियोगमा २०७५ जेठ २७ गते वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई डेढ वर्ष कैद सजाय सुनाएको थियो। उनी २०६८, २०७१ र २०७६ सालमा गरी पटक पटक थुनामा समेत परेका थिए।
यसबाहेक २०७५ मा गुल्मीको रून्खादह माध्यमिक विद्यालयको भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा उनले उठेको रकम हिनामिना गरेको आरोप लागेको थियो।
यसबारे सेतोपाटीले रून्खादह माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर रजालीलाई सोधेको छ।
जबाफमा उनले त्यस बेला आफू जिम्मेवारीमा नभएकाले केही थाहा नभएको बताए।
'हिसाबकिताबहरू त विद्यालयमा पक्कै छ, त्यस बेला के कसो भएको हो मलाई थाहा छैन,' उनले भने, 'म जिम्मेवारीमा नभएकाले धेरै कुरा थाहा भएन।'
भण्डारीको विवादित यात्रा यतिमै सीमित छैन। २०८१ साउनमा पशुपतिनाथ परिसरमा आयोजित एक महिना लामो कोटीहोमका एकल आयोजक भण्डारी नै थिए।
त्यहाँ उठेको भेटीको हिसाब नदिएको आरोप पनि उनीमाथि छ।
पोखरामा कोटीहोम गर्ने बहानामा सार्वजनिक चौताराका प्राचीन वर–पीपलका रूखहरू जथाभाबी ढालेर पनि उनी विवादमा आएका थिए।