छङ्ग खुल्छ कुमारी हिमाल
हिउँ पग्लिनु
हिउँ पर्नु
विश्वव्यापी तापक्रम वृद्धिको मार
मेरो कुमारी यौवन
किन नपरोस् वेदनामा?
पुसे पन्ध्रको साँझ
घ्यु तताएर झ्वाइँय
खुदो मिलाएर चट्ट
पित्ले कसौँडीमा
पकाएको मीठो लट्टे
छेवैमा कुडे भरी दूध
‘साइदुवा पेट पनि चराको
गोजेरो जत्रो छ, खाए पो लाग्छ’
त्यो मायालु गाली
यादको जुलुस बनेर आउँछ।
आजभोलि अर्चले तिर पनि
कहाँ फल्छ र बोडी?
मास र भट्ट?
कहाँ फल्छ र
डाँडाको नाकतिर
रैथाने अनदी?
जैविक विविधता
धराप परेदेखि
कता हराए हाम्रो
पेटेन्ट अधिकारका
रैथाने माछा, बेगनासका असला
रुपा र खास्टेका खिजा
यादहरू जुलुस लिएर
आउँछन् र झस्काउँछन्
‘उठ अब, अबेला भयो
भाले बास्यो डाँडामा घाम लाग्यो !’
विश्वव्यापी तापक्रम वृद्धिको
मारमा छन् हाम्रा हिमाल
हाम्रा कृषिका जैविक विविधता
यादहरू
जुलुस बनेर आउँछन्
यदि बाँचेका भए
लेखनाथ बाजे कति कोर्थे होला कविता
मिठा मिठा
पुसे पन्ध्रको लट्टे जस्ता
यादहरू जुलुस बनेर आउँछन्
र झस्काउँछन्।