मेरो विचारमा गोप्य कुरा लुकाउनका लागि सबैभन्दा राम्रो ठाउँ आफ्नो सुत्ने कोठा नै हो। सुत्ने कोठाको वरिपरि समाजमा पालन गर्नुपर्ने मर्यादाहरूले त्यो कक्षबाहिर एउटा लक्ष्मण रेखा कोरेका छन् जस्तो मलाई लाग्छ।
दुनियाँभरिका मानिसले ‘निदाउनका लागि मात्र’ उपयोग गर्ने त्यो कोठाको यो विशेष प्रयोजनबारे म आफ्नो सहर छाडेर राज्यको राजधानी पुगेपछि मात्र थाहा पाउन सकेँ।
कम्पनीले भाडामा लिएको फ्ल्याटमा तीन वटा कोठा छन्। एउटा मुख्य द्वारनेर, मुख्य द्वारको पल्लोपट्टि मेरो कोठा अनि मेरो कोठाको छेउमा तेस्रो कोठा। पहिलो दिन घरभित्र पसेको केही बेरमै मृणालिनीले हातले इसारा गर्दै भनिन्, ‘मिन्नु यजल्ली किप्स टु हरसेल्फ।’
मिन्नु त्यो तेस्रो कोठामा बस्ने केटी थिइन्। हामी तीन महिलाहरूमा सबैभन्दा कान्छी उनी सधैँ निकै व्यस्त देखिन्थिन्। बिहान उठ्नेबित्तिकै अथवा साँझ घर फर्किनेबित्तिकै झट्ट खाना बनाउने र कोठाभित्र पस्ने उनको बानी थियो।
घरमा बिताएको लगभग पूरा समय मिन्नु कोठाभित्रै बसिन्। एउटा ठूलो डाइनिङ टेबल भए पनि हामी दुवैसँग बसेर खान उनी चाहन्नथिन् जस्तो लाग्यो। कोठाबाट गायब भएका चीजबीजबारे मृणालिनीबाट थाहा पाउँदा म झन् छक्क परेँ।
बैठक कोठामा पहिले राखिएका फर्निचरहरू– एउटा टी-टेबल, दुई वटा सिङ्गल-सिटर सोफाहरू, इस्त्री गर्ने टेबल, भान्साबाट एउटा टोस्टर अनि एउटा काठको कुर्सी पनि उनले आफ्नो कोठामा लगेकी थिइन् रे!
त्यति मात्र नभएर मिन्नुले मसँग एउटा अतिरिक्त टावेल पनि मागिन्। कस्तो हतारो र आतुरताका साथ उनले त्यो तौलिया मबाट लिइन्, म शायद कहिल्यै बिर्सन सक्दिनँ...
एक दिन मिन्नु घरमा देखिइनन्। उनलाई भेट्न आएका आमा-बुवासँग उनी भ्रमण गरिरहेकी छिन् भन्ने कुरा मृणालिनीले बताइन्। पाँच-छ दिनपछि उनी आफ्नो परिवारका तीन जना सदस्यसहित टुप्लुक्क आइन्। एक शब्द पनि नबोली आफ्नो कोठातिर हिँडेकी मिन्नुलाई हामीले असहाय भएर हेरिरहनुबाहेक केही गर्न सकेनौँ।
यसपालि गायब हुने पालो त्यो सेतो सोफाको थियो। आफ्नो बुवा अथवा भाइका निम्ति ओछ्यानको सट्टामा प्रयोग गर्नका लागि उनले त्यो सोफा लगेकी होलिन्। ‘कति ठूलो होला मिन्नुको कोठा! आवश्यकता अनुसार ठूलो र सानो हुन सक्ने यो कुनै जादुई कक्ष हो कि क्या हो?
अब त एकदमै अति भयो! जे भए पनि मिन्नुसँग कुरा गर्नैपर्छ, मैले निर्णय गरेँ।
‘मिन्नु, प्लिज पुट द्याट सोफा ब्याक इन द सिटिङ रुम बिफोर योर फेमेली लिभ्स। हामी त्यो बोक्न सक्दैनौँ।’
उनले यसको कुनै विरोध गरिनन्।
त्यो घटनाको केही महिनापछि बिरामी परेका कारणले मिन्नु शल्यक्रियाका लागि आफ्नो घर फर्किनुपर्यो। एक रात म सुत्न लागिरहेको बेलामा मेरो फोन बज्यो।
‘म्याम, इट्स मि- मिन्नु। मलाई मद्दत गर्न सक्नुहुन्छ? मेरा साथीहरू सुनीत र विजय अहिले मेरा सामानहरू लिएर मलाई पठाउनका लागि आउँदै छन्। दराजबाट मेरा लुगाहरू निकालेर उनीहरूलाई दिनुहोस् न, कोठाको साँचो उनीहरूसँगै छ।’
सुनीत र विजय दुवै हाम्रै सहकर्मी थिए। लोग्नेमान्छेले जवान केटीका लुगा छुनु हुन्न भन्ने सोचेर मैले ‘हुन्छ’ भनेँ।
दस मिनेटपछि मैले आफ्ना दुई पुरुष सहकर्मीसँग मिन्नुको कोठामा पहिलो पटक पस्ने मौका पाएँ। हतार-हतारमा मिन्नुले भनेबमोजिम सामान प्याक गरेपछि उनीहरू दुवै जना ढोकाको साँचो लिएर मबाट बिदा भए। मिन्नुले राखेका बाँकी सामानहरू भने उही कोठाभित्र सुरक्षित थिए।
---
मिन्नु फर्किएपछि मेरो कोठा नजिकको कोठा केही दिनका लागि खाली रह्यो। पूरै घरमा फैलिएको शान्तिको पछ्यौरी बेर्दै मृणालिनी र मेरो मित्रता अझै न्यानो भइरह्यो। निकै साधारण र व्यवस्थित हाम्रो जीवनमा एउटै रोमाञ्चक कार्यक्रम थियो; निशाको आगमन।
निशा हाम्रो अफिसमै काम गर्थिन्। उनी हाम्रै फ्ल्याटको माथिल्लो फ्ल्याटमा बस्थिन्। झन्डै-झन्डै मेरी आमाको उमेरकी भए पनि १६ वर्षकी केटीजस्तै उत्साहले भरिएकी हुनाले मृणालिनी र म उनलाई पटक-पटक तल बोलाउँथ्यौँ अनि सँगै खान्थ्यौँ। बेलुका बेला-बेलामा हामीहरू आइसक्रिम अर्डर गर्थ्यौँ र त्यसमा रमाइला रोमान्टिक कुरा मिसाएर खान्थ्यौँ अनि खित्का छोडेर हाँस्थ्यौँ!
एकदिन निशाले मलाई खुसीले अँगालेर भनिन्, ‘म तल आउँछु, तिमीहरूसँग बस्नका लागि!’
मबाट यो कुरा चाल पाउँदा मृणालिनी पनि मख्ख परिन्। मिन्नु अघि बसेको त्यो कोठामा को आउला भन्ने चिन्ताको अब समाधान भयो जस्तै हामी दुवैलाई लाग्यो। महिला, शाकाहारी अनि हाम्री साथी... जीवनमा अरू के चाहिन्छ र? उत्सुकतापूर्वक हामीले उनलाई स्वागत गर्यौँ।
आउनेबित्तिकै मिन्नुले अघि आफ्नो कोठाभित्र लगेका दुई वटा सिङ्गल-सीटर सोफाहरू निशाले फिर्ता ल्याइन्। आफ्नो कोठा सधैँ सफा राख्ने अनि बेला-बेलामा नयाँ तन्ना र अन्य चीजहरू किन्ने उनको बानी थियो। उनको कोठाको तुलनामा मेरो कोठा निकै अस्तव्यस्त देखियो।
जति सुग्घर निशाको कोठा थियो, उनको आन्तरिक संसारमा त्यति नै उथलपुथल हुँदै थियो। कहिले उनी असाध्यै खुसी हुन्थिन्, कहिले दुःखी। साना-साना कुरामा रिसाई केही नभनी आफ्नो कोठाभित्र लुकेर बस्ने उनको व्यवहारले हामीलाई पनि दिक्क पार्थ्यो। कहिलेकाहीँ त्यो कोठाबाट
उनको नाचेको आवाज सुनिन्थ्यो, कहिलेकाहीँ फिल्मको। उनलाई के भन्ने, के नभन्ने थाहा नपाउने कारणले उनीसँग कुरा गर्नुअघि धेरै सोचविचार गर्नुपर्थ्यो।
एक दिन मैले मृणालिनीलाई भनेँ, ‘डिड यु नोटिस समथिङ? वि ह्याभन्ट ह्याड अ सिंगल आइसक्रिम टुगेदर सिन्स सि ह्याज सिफ्टेड।’
मृणालिनीले जवाफमा मुन्टो हिलाइन्।
निशाको बिनाकारण रिसाउने बानी विशेषगरी मसँगै थियो। मेरा फरक-फरक गीत गाउने, मृणालिनीसँग हाँस्ने-बोल्ने, विभिन्न प्रकारका शोखले फुर्सदमा मन हल्का गर्ने बानीले निशामा विचित्र किसिमको बेचैनी उत्पन्न गर्थ्यो!
ती दिनहरूमा मैले अनलाइन संगीत क्लास लिन्थेँ। कुन-कुन दिन, कुन-कुन समयमा म संगीत सिक्छु भन्ने उनलाई ठ्याक्कै थाहा थियो। एक दिन अफिसबाट मैले फर्कनेबित्तिकै मलाई केही जासुसजस्तै नियालेर उनले सोधिन्, ‘ओह... यु ह्याभ कम फर द अनलाइन क्लासेस, राइट?’
छक्क परेर मैले ‘नाइँ’ भनेँ। उनको इसारा म कोर्सका लागि काम छाडेर आएकी हुँ भन्ने थियो।
बिस्तारै-बिस्तारै मृणालिनी र मेरा कुराकानी निशा आफ्नो कोठामा पसेपछि अथवा फोनमा मात्र हुन सक्ने अवस्था भइसकेको थियो। हामी चाहिँ झन्डै उस्तै-उस्तै कुरा मन पराउँथ्यौँ, जुनमा निशालाई कुनै चासो थिएन।
एकदिन बेलुका अफिसबाट फर्किँदा लिफ्टमा भेटिएकी मृणालिनीसँग घर पस्दा निशाले भनिन्, ‘बहुत प्यार बढ रहा है... बहुत प्यार बढ रहा है!’
के भन्नु भन्ने सोचेर हामीले केही भनिनौँ। अचानक निशा मबाट एकदमै टाढा बस्न थालिन्। बेलुकाको खाना हामीहरू एक-अर्कासँग खान्थ्यौँ। अब उनी बैठक कोठाको सोफामै बसेर खान सुरु गरिन्। घरभित्र दिनहुँ उत्पन्न हुँदा यो अस्थिरताको अवस्थाले मलाई पनि पूरै अस्वस्थ बनाइरहन्थ्यो।
मलाई देखाउनका लागि निशा मृणालिनीसँग हाँस्थिन्, नाच्थिन् अनि ‘तिमीलाई आफ्नो ज्यान पनि हाजिर छ’ जस्ता कथनहरू भन्थिन्। यस प्रकारका मानसिक यातनालाई मेटाउनका लागि मैले आफैँलाई फेरि-फेरि भन्थेँ, ‘उनी अब छैनन्, उनी अब छैनन् भन्ने ठान्नुपर्छ।’
एक दिन काममा व्यस्त भएको बेला निशाले मलाई फोन गरिन्, ‘किन तिमीले मेरो बारेमा कुरा काटेको? म चाहिँ व्यक्तिगत कुरामा अल्झिएकी थिएँ, तर तिम्रो यो हरकतले तिमीले मलाई पीडा दियौ।’
पीडा... एकै क्षणमा बितेका सबै पलहरू मेरा आँखाअगाडि आए।
आफैँ माथिको नियन्त्रण गुमाएर मैले पनि फर्काएँ, ‘मैले केही कुरा काटेको छैन! मेरो लागि तिमी अब छैनौ!’
घर फर्किँदा मैले निशालाई आफ्नो कोठाभित्र बसिरहेको पाएँ। उनका आँखा ममाथि टाँसिएका थिए। केही दिनपछि उनी फेरि सिफ्ट भइन्- माथिको आफ्नो पुरानो फ्ल्याटमा।
---
आफ्नो कोठाबाहिर मोटो सिमाना कोर्ने मानिसले अर्काको कोठाबाहिर पनि उपस्थित भएका लक्ष्मणरेखालाई पनि पक्कै मान गर्छ भन्ने ग्यारेन्टी रहेनछ! कामको लागि आएको यो सहरले मलाई ठ्याक्कै यही सिकायो।
निशा माथिल्लो फ्ल्याटमा फर्केर गएपछि उनको अनुपस्थितिले मृणालिनीको र मेरो उकुसमुकुस एकदमै मेटाइदिएको थियो। कत्रो राहतका दिनहरू थिए ती! तैपनि, निशासँग बिताएका खुसीका पलहरूको सम्झना हामी दुवैमा केही उदासीको बादलझैँ फैलिइरह्यो।
अफिस वा बाटोमा भेट हुँदा पनि म उनलाई भाउ दिँदैनथेँ। मसँग पनि उनी उही व्यवहार गर्थिन्। मृणालिनीसँग मात्रै उनी कुरा गर्थिन्, त्यो पनि कहिलेकाहीँ।
मेरो कोठा नजिकको कोठा झन्डै एक महिनाको लागि फेरि खाली रह्यो। निशाले जाँदाजाँदै चाबी अफिसमै दिएको कारणले त्यो कोठा बन्द नै रह्यो। एक दिन हामीले अफिसबाट फेरि पल्लो पल्ट आउने हाम्रो छिमेकीको बारेमा थाहा पायौँ, रीमा।
रीमा हाम्रो लागि कोही नौलो व्यक्ति थिइनन्। म आएको पहिलो हप्तामै मैले उनीबारे सुनेकी थिएँ, अनि उनी र मृणालिनीको झगडाको बारेमा पनि। एक-अर्काबीचको बोलचाल बन्द भएका कारणले घर फर्किंदाखेरि रीमा भने मृणालिनीबाट बिदा नै लिइनन्। अब रीमा फर्किनाले मृणालिनीलाई अलिकति अचम्म पनि लाग्यो।
हिल स्टेसनमा जन्मे-हुर्केकी रीमाको अन्दाज एकदमै अङ्ग्रेजजस्तै थियो। प्यान्ट, टप्स, मेकअप लगाउने अनि स्टाइलिश अङ्ग्रेजी बोल्ने उनको बानी थियो। गोरी, अग्ली रीमाको बोलचालको तरिका मलाई हिन्दी फिल्मकी विगतकी अभिनेत्री सिमी गरेवालजस्तो लाग्यो।
आउनेबित्तिकै हामीहरूसँग उनी घुलमिल हुन धेरै कोसिस गरिन्। पहिलो दिन रातिको खाना खाँदाखाँदै मसँग मिल्ने साथीझैँ कुरा गर्न थालिन्: ‘किन बिहे गर्नुभएन? डन्ट यु फिल...?’
जवाफ के भन्नु भन्ने सोच्दा मृणालिनीलाई हेर्दाखेरि उनलाई मुसुक्क हाँसिरहेकी पाएँ।
नयाँ-नयाँ मान्छेलाई चिन्न-जान्न, साथी बनाउन अनि उनीहरूसँग घुम्न जान रीमालाई धेरै खुसी लाग्थ्यो। मलाई पनि साथी बनाउन उनले पूरै प्रयास गरिन्। तर मैले आफ्नो मित्रताको कोठाको ढोका उनीप्रति बन्द नै राखेँ।
उनप्रति मेरो यस्ता सतर्कताका धेरै कारण थिए; रीमा ती मानिसहरूमा पर्थिन्, जसले ठूला शब्दमा प्राइभेट स्पेसको सम्मान गर्नेबारे धेरै भन्थे तर आचरणमा त्यसको पर्वाह थोपो पनि गर्दैनथे। उनले सुरु-सुरुमा त विनम्र एवं मर्यादापूर्ण बर्तावको प्रदर्शन गरिन् अनि बिस्तारै-बिस्तारै आफ्नो वास्तविक रूप देखाइन्।
एउटै छानामुनि बस्दा यसका उदाहरण भेटाउन मलाई गाह्रो थिएन।
भान्साका भाँडाकुँडा दुई खालका थिए; आफैँले छुट्टै किनेका प्रायःजसो साना भाँडाहरू अनि सबैका लागि कम्पनीले किनेका। रीमाले खाना पकाएपछि कहिल्यै ती कम्पनीका भाँडा राम्रोसँग माझ्दिनथिन्।
मृणालिनीले मेरो अगाडि त्यसबारेमा गुनासो गर्दा उनले एकाएक मुख फुलाइन् अनि ‘तिमीले माझेको होला’ भन्दै झगडा गर्न थालिन्। परिस्थिति बिग्रिँदै गरेको देखेर मैले बीचमा आउनुपर्यो। ‘अपना नाम लिखवालो मृणालिनी’ भन्दै रीमा छिटो-छिटो आफ्नो कोठाभित्र पसिन् अनि अर्को दिन सुपरमार्केट गएर आफूलाई नयाँ कराही, बेल्ना, चौका इत्यादि किनेर आइन्।
एक दिन उनले मलाई भनिन्, ‘तपाईँलाई थाहा छ? रेस्टुरेन्टमा धुने कन्सेप्ट नै छैन। हामीकहाँ कामदारलाई भाँडा माझ्न मैले सिकाउनुपर्यो।’
यो सुन्दा मेरो मनमा उम्लिएको प्रतिक्रियाको लाभालाई वर्णन गर्नको लागि अचम्मभन्दा ठूलो शब्द मैले अझै पनि सिकेको छैन।
उनलाई फ्रिज बाँड्नु ऊँटलाई बस्ने ठाउँ दिएजस्तै थियो। तीन जनाको एउटा मिडियम साइज फ्रिजमा पूरै तरकारी अनि खाना पकाउने सामग्री भर्थिन्, अनि ठाउँ नपुगे हाम्रो सेल्फमा पनि आफ्ना चिजहरू राख्थिन्। हामीले पछि आफ्ना खाना बाँकी रहेको ठाउँमा सकेसम्म ठाउँ मिलाएर
राख्नुपर्थ्यो।
बेलुका हाम्रो बस्ने कोठामा एकदमै ठूलो आवाजमा गीत सुन्ने उनको बानी थियो। त्यतिखेर त्यो कोठामा को छन्, अनि ती मान्छेलाई त्यो हल्ला चाहिन्छ कि चाहिँदैन भन्ने कुरा रीमालाई कुनै
वास्ता नै थिएन। दिनभरिको काम सकेपछि घरमा शान्ति र चैन खोजेर फर्किएका हामीहरूलाई
दिनहुँ हुने यो हल्लाले कति झर्को लाग्थ्यो!
अब त अति भयो भन्ने ठानी हामीले फिडब्याक दिँदा उनी झट्टै जवाफ फर्काउँथिन् अनि हामीलाई दुःख दिने उस्तै काम गर्थिन्। कहिलेकाहीँ हाम्रो दुःखमा आनन्द लिने रीमाको बानी घरभित्र मात्रै सीमित नभई अफिसमा पनि सहनुपर्थ्यो।
एक दिन ब्रेक रुममा उनले सोधिन्, ‘नीचे हमारे घर नहीं आओगी? नाराज़ हो?’
प्रश्न पल्लो मेजनिर बसी चुपचाप चिया खाइरहेकी निशातर्फ थियो। जिल्ल परेर अब के होला सोच्दा मैले निशाको हिचकिचाहट भरिएको आवाज सुनेँ, ‘अब तो ऐसा ही है।’
यस्ता आचरण मेरा लागि रीमा बारेमा मृणालिनीको विवरणका प्रत्यक्ष प्रमाण थिए। त्यसकारण म पनि मृणालिनीजस्तै रीमासँग कुरै गर्न छाडेँ।
यो सब काण्डबीच मृणालिनीलाई छोराको बिहेको लागि घर फर्किनुपर्यो। उनीबाट बिदा लिने बेला दुःखको समुद्रमा डुबिरहेकी मलाई सान्त्वना दिँदादिँदै उनले भनिन्, ‘अर्को महिना रीमा पनि घर फर्किनेछिन्। यो कुरा तिमीले पनि सुनेकी हौला नि? उनी जानेबित्तिकै तिमी त्यो कोठामा शिफ्ट गर। यहाँको सबभन्दा ठूलो कोठामा बस्न भविष्यमा तिम्रो लागि निकै मुनासिब हुनेछ। धेरै सोचविचार गर्नुपर्दैन। भनेको मान!’
रीमा घर फर्किएको अर्को हप्ता त्यो कोठाभित्र भरिएका सबै नकारात्मक ऊर्जालाई निष्कासित गर्नको लागि धूप बालेपछि मैले पनि शिफ्ट गरेँ। मेरो कोठा नजिकको कोठा बल्ल मेरो आफ्नो भयो।