झन्डै दुई दशकअघि पहिलो आइफोन सार्वजनिक भएयता यसको क्यामरा, स्क्रिन र क्षमता निरन्तर परिवर्तन भयो। तर फोनको मूल स्वरूप उही रह्यो— हातमा समाएर चलाउने आयातकार उपकरण।
यसपालि एप्पलले पहिलो पटक त्यसको स्वरूप नै परिवर्तन गरेको छ।
एप्पलले सार्वजनिक गरेको 'आइफोन डुओ' किताबजस्तै खोल्न र बन्द गर्न मिल्ने फोल्डएबल फोन हो। बन्द गर्दा यसको बाहिर ५.४ इन्चको स्क्रिन हुन्छ। खोल्दा भित्र ७.६ इन्चको ठूलो स्क्रिन देखिन्छ।
अर्थात् बन्द गर्दा सानो आइफोन, खोल्दा सानो ट्याबलेटजस्तो।
एप्पलका अनुसार यसको भित्री स्क्रिन आइफोन १८ प्रो म्याक्सको भन्दा ५० प्रतिशत ठूलो छ। अमेरिकामा यसको मूल्य १ हजार ९९९ डलरबाट सुरू हुन्छ। सबैभन्दा महँगो मोडलको मूल्य ३ हजार १९९ डलर छ।
त्यसैले प्रश्न उठ्छ— स्क्रिन फोल्ड गर्न मिल्ने भएकै कारण यो फोन धेरै उपयोगी हुन्छ? वा, एप्पलले अत्यन्त महँगो र आकर्षक उपकरण मात्र बनाएको हो?
फोन सार्वजनिक गर्नुअघि केही समय चलाएका प्रविधि पत्रकारहरूको प्रारम्भिक प्रतिक्रिया यस्तो छ— डुओ उपयोगी हुन सक्छ, तर सबैका लागि होइन।

फोन खोल्दा के गर्न सकिन्छ?
डुओको मुख्य उपयोग ठूलो स्क्रिनमा फोटो र भिडिओ हेर्नु मात्र होइन। यसमा दुइटा एप सँगसँगै चलाउन सकिन्छ।
उदाहरणका लागि, कुनै पत्रकारले एकातिर प्रतिवेदन पढ्दै अर्कातिर नोट लेख्न सक्छ। यात्रुले नक्सा र होटलको ठेगाना सँगसँगै हेर्न सक्छ। सामान किन्न लागेको ग्राहकले दुई वेबसाइट खोलेर मूल्य र विशेषता तुलना गर्न सक्छ।
इमेल लेख्दा छेउमै फोटो एप खोलेर तस्बिर सिधै इमेलमा सार्न सकिन्छ।
एउटा भागमा भिडिओ चलाउँदै अर्कोमा सन्देश लेख्न वा इन्टरनेट चलाउन सकिन्छ। एउटै एपका दुईटा ट्याब पनि खोल्न सकिन्छ। एप्पलले यसलाई 'स्प्लिट भ्यू' भनेको छ।
सामान्य फोनमा एउटा एप खोलेपछि अर्को बन्द हुन्छ। डुओमा भने दुईटा एप आँखाअघि सँगसँगै रहन्छन्। यसको सबैभन्दा ठूलो व्यावहारिक उपयोग यही हो।
ठूलो स्क्रिनमा एपका अक्षर र तस्बिर मात्र ठूला हुँदैनन्, एपको बनावट पनि बदलिन्छ। त्यस्तै इमेलमा पनि एकातिर सूची र अर्कातिर आफूले खोलेको इमेल देख्न सकिन्छ।
अर्थात् यसमा ल्यापटपमा झैं दुइटा स्क्रिन सँगसँगै देख्न सकिन्छ।
यसले ल्यापटपलाई पूरै विस्थापित भने गर्दैन। तर कागजात पढ्ने, नोट लेख्ने, इमेल गर्ने र भिडिओ बैठकमा सहभागी हुने व्यक्तिले छुट्टै ट्याब्लेट वा ल्यापटप बोक्नुपर्ने आवश्यकता घटाउन सक्छ।
डुओमा 'एप्पल पेन्सिल' पनि चल्छ। पेन्सिल चलाउन मिल्ने यो पहिलो आइफोन पनि हो। पेन्सिल आएपछि डुओको स्क्रिनमा हातैले नोट लेख्न, कागजातमा चिनो लगाउन र चित्र बनाउन सकिनेछ।
तर यो पेन्सिल छुट्टै किन्नुपर्छ। अनि त्यो पेन्सिल आइप्याडमा जस्तो फोनमै टाँसेर राख्ने ठाउँ पनि छैन।
डुओ फोन विभिन्न कोणमा अड्याउन पनि सकिन्छ।
यसलाई आधा खोलेर टेबलमा राखेपछि भिडिओ कुराकानी गर्दा समातिरहनुपर्दैन। खाना बनाउँदा परिकारको विधि, व्यायाम गर्दा प्रशिक्षकको भिडिओ वा यात्रा गर्दा फिल्म हेर्न सकिन्छ।
समूहको फोटो र भिडिओ खिच्दा पनि छुट्टै ट्राइपड नचाहिन सक्छ। घोप्टो 'भी' आकारमा राख्दा बाहिरी स्क्रिनमा घडी, मौसम, पात्रो र तस्बिर देखाउन सकिन्छ।

फोटो खिच्ने नयाँ तरिका, तर क्यामरामा सम्झौता
डुओमा दुवैतर्फ स्क्रिन भएकाले फोटो खिचिने व्यक्तिले बाहिरी स्क्रिनमा आफू कस्तो देखिएको छु भनेर हेर्न सक्छ। उसले आफ्नो अनुहार, उभिने तरिका र फोटोको फ्रेम मिलाउन सक्छ।
एप्पलका अनुसार स्मार्ट टेकले समूहका सबै जना तयार भएको पहिचान गरेर आफै फोटो खिच्न सक्छ। बालबालिकालाई क्यामरातिर हेर्न लगाउन बाहिरी स्क्रिनमा रमाइला चलायमान चित्र देखाउन सकिन्छ।
फोनलाई टेबलमा अड्याएर भिडिओ वा टाइम–ल्याप्स पनि खिच्न सकिन्छ। पत्रकार र सामाजिक सञ्जालका लागि सामग्री बनाउनेहरूलाई यो उपयोगी हुन सक्छ।
तर क्यामरामा एउटा ठूलो सम्झौता छ।
डुओमा सामान्य दृश्य र धेरै फराकिलो दृश्य खिच्ने दुईटा ४८ मेगापिक्सेल क्यामरा छन्। टाढाको वस्तु नजिक ल्याएर खिच्ने छुट्टै टेलिफोटो लेन्स छैन।
एप्पलले दुई गुणासम्म अप्टिकल गुणस्तरको जुम उपलब्ध हुने बताएको छ। तर यो छुट्टै जुम लेन्स होइन; मुख्य क्यामराले खिचेको तस्बिरको बीच भाग प्रयोग गरेर तयार गरिने हो।
त्यसैले उत्कृष्ट क्यामरा प्राथमिकता भएका मानिसका लागि डुओभन्दा निकै सस्तो आइफोन १८ प्रो वा प्रो म्याक्स बढी उपयोगी हुन सक्छ। सबभन्दा महँगो आइफोनमै एप्पलको सबैभन्दा शक्तिशाली क्यामरा नहुनु यसको प्रमुख कमजोरी भने हो।
फोल्ड हुने फोनको प्रमुख समस्या स्क्रिन पट्याइने ठाउँमा देखिने धर्सो हो। प्रारम्भिक फोल्डएबल फोनमा त्यो स्पष्ट देखिन्थ्यो र औंलाले छुँदा पनि महसुस हुन्थ्यो।
सामसङले सन् २०१९ मा पहिलो ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको थियो। एप्पलले त्यसको करिब सात वर्षपछि बजारमा फोल्डएबल फोन ल्याएको हो।
डुओ चलाएका द भर्ज र म्याकरूमर्सका पत्रकारहरूले फोन खोल्न–बन्द गर्न सहज लागेको र बीचको धर्सो अपेक्षाभन्दा कम देखिएको बताएका छन्। औंलाले चलाउँदा पनि धर्सो पत्ता लगाउन कठिन भएको द भर्जले लेखेको छ।
तर धर्सो पूरै हराएको छैन। निश्चित कोणबाट प्रकाश पर्दा देखिन्छ नै।
अब फोन हजारौं पटक खोलेर बन्द गरेपछि भने धर्सो कस्तो हुन्छ, त्यसको लक कत्तिको सुचारु रहन्छ र भित्री स्क्रिन कति सजिलै कोरिन्छ भन्ने अहिले थाहा छैन।
एप्पलका अनुसार डुओ पानी र धूलो प्रतिरोध गर्ने आइपी–६८ मापदण्ड अनुसार बनेको छ। यसको संरचनामा टाइटानियम तथा भित्री स्क्रिन कोरिनबाट जोगाउने तह प्रयोग गरिएको छ।
डुओको तौल २५४ ग्राम छ। वायर्डका अनुसार यसको प्रमुख प्रतिस्पर्धी सामसङ ग्यालेक्सी जेड फोल्ड ८ को तौल २०१ ग्राम मात्र छ।
त्यसैले डुओ फोन दिनभरि खल्तीमा बोक्दा, एक हातले चलाउँदा वा लामो समय पढ्दा अलि भारी महसुस हुन सक्छ।
सामसङ, गुगल, मोटोरोला र चिनियाँ कम्पनीले वर्षौंदेखि यस्ता फोल्डएबल फोन बनाइरहेका छन्। तैपनि फोल्डएबल फोनले विश्व स्मार्टफोन बजारको ५ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने एपीले जनाएको छ।
एप्पलले सम्भवतः अरू कम्पनीका प्रारम्भिक कमजोरी हेरेर प्रविधि परिपक्व हुने समय कुरेर अहिले यस्तो फोन ल्याएको हो।


कति पर्छ मूल्य?
अमेरिकामा डुओको मूल्य यस्तो छ—
- २५६ जिबीः १ हजार ९९९ डलर
- ५१२ जिबीः २ हजार १९९ डलर
- १ टेराबाइटः २ हजार ५९९ डलर
- २ टेराबाइटः ३ हजार १९९ डलर
भारतमा यसको आधिकारिक मूल्य भारू २ लाख ९९ हजार ९०० देखि ४ लाख ४९ हजार ९०० सम्म पर्छ।
भारतीय मूल्यलाई स्थिर विनिमय दरमा प्रत्यक्ष रूपान्तरण गर्दा करिब ४ लाख ८० हजारदेखि ७ लाख २० हजार नेपाली रूपैयाँ हुन्छ। यो मुद्रा रूपान्तरण मात्र हो, नेपालको बजार मूल्य होइन।
हालसम्म नेपालमा यसको आधिकारिक उपलब्धता, बिक्री मिति, मूल्य घोषणा भएको छैन। अमेरिका र भारतमा अग्रिम बुकिङ अक्टोबर १६ र बिक्री अक्टोबर २३ बाट सुरू हुनेछ।
नेपालमा कस्तो होला?
फोनहरूको मर्मतबारे अध्ययन गर्ने आइफिक्सिटकी एलिजाबेथ चेम्बरलेनले अहिलेसम्म बजारमा आएका फोल्डएबल फोनहरू मर्मत गर्न सहज नहुने बताएकी छन्। आफूहरूले खोलेर हेरेका कुनै पनि फोल्डएबल फोन सजिलै मर्मत गर्न नसकिएको उनले वायर्ड पत्रिकालाई बताएकी हुन्।
त्यसैले नेपालमा एप्पल डुओका आधिकारिक सेवा केन्द्रले यसको स्क्रिन र कब्जा मर्मत गर्न सक्छन् कि सक्दैनन्, पार्टपुर्जा पाइन्छ कि पाइँदैन र विदेशबाट ल्याएको फोनमा वारेन्टी लाग्छ कि लाग्दैन भन्ने बुझ्नुपर्छ।
त्यस्तै डुओमा एप्पलको नयाँ 'सिरी एआई' छ।
एप्पलका अनुसार यसले प्रयोगकर्तासँग लगातार कुराकानी गर्न, पुरानो इमेल, फोटो वा नोट खोज्न, सन्देश लेख्न र एपभित्र काम गर्न सहयोग गर्न सक्छ।
मानौं, प्रयोगकर्तालाई महिनौंअघि इमेलमा आएको होटल बुकिङ चाहियो। मिति वा पठाउने व्यक्तिको नाम याद नभए पनि सिरीलाई सामान्य भाषामा सोधेर त्यो इमेल खोज्न लगाउन सकिने एप्पलको दाबी छ।
तर नयाँ सिरीका सुविधा अहिले अंग्रेजी भाषामा विस्तार भएका छन्। नेपाली भाषामा काम गर्ने व्यक्तिले तत्काल यसको पूरा लाभ पाउने छैन। कतिपय सुविधामा प्रयोगको सीमा लाग्न सक्ने पनि एप्पलले जनाएको छ।
फोन, सामाजिक सञ्जाल, बैंकिङ, फोटो र भिडिओका लागि डुओ अत्यन्त छिटो हुनेछ। तर ती सबै काम अहिलेका धेरै सस्ता आइफोनले पनि सहजै गर्छन्।
डुओमा फेस आइडी पनि छैन। फोनतिर हेरेर स्क्रिन खोल्न पाइँदैन। छेउको बटनमा औंला राखेर टच आइडी प्रयोग गर्नुपर्छ। पछिल्ला आइफोनमा पाइने एक्सन बटन पनि यसमा छैन।
अझ महत्त्वपूर्ण कुरा, डुओमा भौतिक सिम राख्ने ठाउँ हुँदैन। विश्वभर बिक्री हुने सबै डुओ इ–सिमबाट मात्र चल्छन्।
नेपाल टेलिकम र एनसेल दुवैले इ–सिम दिन्छन्। नेटवर्क र उपकरणको अनुकूलता मिले डुओ नेपालमा चल्नुपर्छ। तर फोन बजारमा आएपछि सम्बन्धित दूरसञ्चार कम्पनीसँग पुष्टि गरेर मात्र किन्नु सुरक्षित हुन्छ।
विदेशबाट ल्याइने फोन कुनै दूरसञ्चार कम्पनीमा बाँधिएको अर्थात् 'क्यारियर–लक' हुनु हुँदैन। एनसेलले क्यारियर–लक आयातीत फोनमा आफ्नो इ–सिम उपलब्ध नहुने स्पष्ट पारेको छ।