बजार घट्दा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) मा आकर्षण बढ्छ भन्ने मान्यता छ। बजार घटेको समयमा सेयर किन्ने अवसर हुने र पछि मूल्य बढ्दा लाभ हुने अनुमानमा यस्ता कोषका योजनाको मूल्य बढ्छ।
तर अहिले बजारमा यसको विपरीत परिदृश्य छ। अहिले बजारमा कारोबार हुने ४५ मध्ये ३९ वटा म्युचुअल फन्ड योजनाको प्रतिइकाइ मूल्य अंकित मूल्यभन्दा कममा कारोबार भइरहेको छ।
अंकित मूल्य भनेको लगानीकर्ताले यस्ता इकाइको प्राथमिक निष्कासन (आइपिओ) मा तिर्ने मूल्य हो। म्युचुअल फन्ड योजनाको अंकित मूल्य प्रतिइकाइ १० रूपैयाँ हुन्छ।
कम्पनीले सेयर जारी गरेजस्तै म्युचुअल फन्डहरूले इकाइ जारी गर्छन्। नेपालमा खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका योजना सञ्चालनमा छन्। खुलामुखी योजनाको निश्चित परिपक्व अवधि हुँदैन र व्यवस्थापकमार्फत नियमित रूपमा इकाइको कारोबार हुन्छ।
बन्दमुखी योजनाको निश्चित अवधि हुन्छ र यस्ता योजनाका इकाइ सेयर बजार (नेपाल स्टक एक्सचेन्ज) मा कारोबार हुन्छन्।
दुवै प्रकारका योजनाको रकमको व्यवस्थापन विज्ञ योजना व्यवस्थापकहरूले गर्छन्। लगानीकर्ताले आफै सेयर किनबेच गर्ने नभई योजना व्यवस्थापकले संकलित रकमबाट सेयर लगायतका क्षेत्रमा लगानी गर्छन्। लगानीबाट नाफा भएपछि योजनाले लगानीकर्तालाई लाभांश दिन्छन्। लाभांश दर निश्चित हुँदैन भने नोक्सान हुँदा लाभांश नदिन पनि सक्छन्।
आइपिओका क्रममा म्युचुअल फन्डहरूले अंकित मूल्य १० रूपैयाँमा प्रतिइकाइ बिक्री गर्ने गर्छन्। तर अहिले बजारमा ३९ वटा योजनाको प्रतिइकाइ मूल्य १० रूपैयाँभन्दा कममा कारोबार भइरहेको हो।
जबकि, साउनसम्मको तथ्यांक अनुसार २६ वटा योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) नै अंकित मूल्यभन्दा धेरै छ। बन्दमुखी म्युचुअल फन्ड योजनाको अवधि पूरा भएपछि लगानीकर्ताले सामान्यतः योजनाको न्याभका आधारमा रकम प्राप्त गर्छन्। हाल यस्ता योजनाको परिपक्व अवधि सातदेखि १२ वर्षसम्म छ।
सामूहिक लगानी कोषले लगानी गरेको सम्पत्तिको बिक्रीबाट हुने नाफा–घाटाका आधारमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य पनि परिवर्तन भइरहेको हुन्छ। यी योजनाले प्रतिइकाइ खुद सम्पत्तिको विवरण हरेक महिना पत्रपत्रिकामा प्रकाशित गर्ने गर्छन्।
आर्थिक वर्षको अन्तिम महिना अर्थात् हरेक वर्ष असार मसान्तमा कुनै योजनाको न्याभ १० रूपैयाँभन्दा बढी भएमा त्यसले इकाइधनीलाई लाभांश दिन सक्छ। सेयर बिक्रीबाट, लाभांशबाट वा ब्याजबाट प्राप्त भइसकेको आम्दानी अर्थात् 'रियलाइज्ड गेन' बाट लाभांश वितरण गरिन्छ।
यस्ता योजनाले बजारमा लगानी गरेको सेयरको मूल्य बढेको भए त्यसबाट भएको आम्दानीलाई पनि लेखांकनमा जनाउँछन्। तर सेयर बिक्री नभएसम्म यस्तो आम्दानीलाई 'अनरियलाइज्ड गेन' अर्थात् प्राप्त भइनसकेको आम्दानी भनिन्छ।
अहिलेसम्म यीमध्ये १३ वटा योजनाले लगानीकर्तालाई लाभांश दिइसकेका छन्। यी योजनाले २.२ प्रतिशतदेखि १२ प्रतिशतसम्म नगद लाभांश दिएका छन्। धेरै योजनाले ८ प्रतिशतभन्दा कम लाभांश दिएका छन्।
पाँच वटा योजनाले भने घोषणा गरेको लाभांश लगानीकर्तालाई दिइसकेका छैनन्। अहिले यी इकाइ खरिद गर्ने लगानीकर्ताले पनि यस्तो लाभांश पाउन सक्छन्। पाँचमध्ये दुइटा योजनाले १२ देखि १५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन्। बाँकीले २.५ देखि ३.५ प्रतिशत घोषणा गरेका छन्।
न्यून लाभांश दरका कारण पनि यी योजनाप्रति लगानीकर्ताको आकर्षण कम भएको देखिन्छ।
तर यी योजनाले पनि अहिले घटेको मूल्यमा सेयर खरिद गरिरहेका छन्। आर्थिक वर्ष २०८३/८४ को अन्त्यसम्ममा बजार बढ्दै गएमा यस्ता योजनाले पनि राम्रो लाभ पाउन सक्छन्। यसले आगामी दिनमा लाभांश दरमा समेत सुधार हुन सक्ने सम्भावना रहन्छ।
त्यसैले लगानीकर्ताले आत्तिएर इकाइ बिक्री गर्नुभन्दा योजनाले गरेको लगानी, न्याभ, लाभांश र योजनाको परिपक्व अवधि लगायत पक्षमा पनि ध्यान दिन आवश्यक हुन्छ।
यद्यपि, लगानीकर्ताले लगानी रणनीति बनाउँदा योजनाको आधारभूत पक्ष बुझेर नै निर्णय गर्नुपर्छ।