अधिकांश घर माटो र लेदोले पुरिएका छन्। कतै घरको छानो मात्रै देखिन्छ, कतै भग्नावशेषको थुप्रो।
यिनै भग्नावशेषबीच सशस्त्र प्रहरी अधिकारीहरू कोही उद्धारको पर्खाइमा जीवित छन् कि भनेर खोजिरहेका छन्।
रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलका विभिन्न टोली परिचालित छन्। उनीहरू क्षतिग्रस्त घरभित्र पसेर कराउँछन् — 'सुन्नुस्, सुन्नुस्। हामी उद्धारकर्ता हौं। मेरो आवाज सुन्नुहुन्छ भने मलाई आवाज दिनुस्। सक्नुहुन्न भने कुनै ठोस वस्तुमा ढकढक्याउनुस्।'
भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीले किनारका घर, भवन र संरचना तहसनहस बनाएको थियो। त्यही भग्नावशेषभित्र कोही जीवित मानिस फसेका छन् कि भनेर सशस्त्र प्रहरी टोलीले अहिले पनि खोजी गरिरहेको छ।
तर मानिसको ज्यान जोगाउन खटिएको यही सुरक्षा निकाय आफै पनि बाढीबाट अछुतो रहेन।
टिमुरेमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना र त्रिशूली जलविद्युत आयोजना सुरक्षा बेस, मैलुङमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए। तीमध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो।
आफ्नै सहकर्मीलाई बाढीले बगाए पनि घटनास्थलमा रहेका सशस्त्र प्रहरी कर्मचारी भने मानिसको ज्यान जोगाउन खटिइरहे।

बाढीको साइरन
टिमुरेमा बाढीले बगाउन थालेपछि त्यसको खबर मैलुङसम्म पुगिसकेको थियो। टिमुरेको बिओपी कमान्डर सहितका कर्मचारीलाई समेत बाढीले बगाएपछि तल्लो क्षेत्रको कमान्ड सशस्त्र प्रहरीका सई रमेश थापाले सम्हाले।
मैलुङ क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याउन सक्ने देखिएपछि थापाले सुरूमा स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजान थाले।
'माथिबाट सूचना आउनेबित्तिकै दौडिएर पूर्वसूचना प्रणाली 'एक्टिभेट' गरेँ। त्यो हाम्रो कम्पाउन्डभन्दा माथिल्लो भागमा थियो। त्रिशूली जलविद्युत आयोजनाका मानिसहरू पनि त्यहीँ बस्थे,' उनले भने, 'साइरन एक्टिभेट भएपछि धेरै जना भाग्न सके। अरूलाई पनि फोन गरेर भाग्न भन्यौं।'
उनका अनुसार त्रिशूली-३ 'ए' का कर्मचारीलाई पनि फोन गरेर बाढीबारे जानकारी गराइएको थियो।
'त्रिशूली-३ 'ए' का कर्मचारीलाई फोन गर्दै थिएँ। हाम्रा भाइहरूलाई पनि अलि अगाडि नै माथितिर पठाइसकेको थिएँ। त्यही बेला बाढी आइसकेको थियो। पानीले मलाई पनि उछिट्यायो,' उनले भने, 'बाढीले मानिसहरू बगाएर ल्याउँदै थियो। एक जना मानिसलाई पनि उद्धार गरेर माथितिर लगेर राखेँ।'
बाढी ठूलो आएपछि उनीहरू थप माथितिर गएर सुरक्षित स्थानमा बस्न पुगे।
त्यही क्रममा चार जना सशस्त्र प्रहरी कर्मचारीलाई बाढीले बगाएको उनी बताउँछन्।
अन्य सबैको मोबाइल बगिसकेपछि एक जना सशस्त्र प्रहरीको मोबाइल बाँकी थियो। त्यही फोनबाट घटनाको खबर गरिएको थियो।
सई थापा आफै पनि घाइते भएका छन्। उनी अहिले काठमाडौं आएर उपचाररत छन्।
भग्नावशेषभित्र जीवनको खोजी
भदौ १० गते बाढी आएपछि सशस्त्र प्रहरीका विभिन्न टोली तत्कालै खोजी तथा उद्धारमा परिचालित भएका थिए।
उनीहरूको खोजी केवल बेपत्ता मानिसको शव पत्ता लगाउनमा सीमित थिएन। भग्नावशेषभित्र कोही जीवित छन् कि भन्ने आशामा उनीहरूले घर–घर खोजिरहेका थिए।
घटना भएको करिब ६० घन्टा बितिसकेको थियो। भदौ १३ गते रसुवाको टिमुरेबाट करिब २०० मिटर नजिकै एक बालिका रोइरहेको आवाज सुनियो।
चट्टान र काठले थुप्रिएको भग्नावशेषभित्रबाट खोजी गर्दा ६ वर्षीया बालिकाको उद्धार भयो।
त्यसैगरी केही दिनअघि घरभित्रबाट एक महिलाको १० दिनपछि जीवितै उद्धार गरिएको थियो।
भदौ २० गते शनिबार दिउँसो करिब १ बजे सशस्त्र प्रहरी टोली विदुर–१०, बेत्रावतीमा खोजी गरिरहेको थियो।
खोजीकै क्रममा चार तल्ला पुरिएको एउटा घरभित्रबाट आवाज आयो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले त्यसपछि घरको भित्ता फोडेर भित्र फसेकी ६५ वर्षीया चण्डिका श्रेष्ठको उद्धार गर्यो।
सशस्त्र प्रहरीका फिल्ड कमान्डर इन्स्पेक्टर सुमन विश्वकर्माका अनुसार 'बचाऊ, बचाऊ' भन्ने आवाज सुनेपछि उद्धार सुरू गरिएको थियो।
'बचाऊ, बचाऊ भन्ने आवाज आयो,' उनले भने, 'इको आएजसरी कहाँ–कहाँबाट हो आवाज आएजस्तो भयो। त्यसपछि हामी त्यहाँ छिरेका हौं।'
बाढीले घरसहित बगाएपछि महिला बेहोस भएको र पछि होस आएको हुन सक्ने उनले बताए।
'सुरूकै दिनदेखि यो क्षेत्रमा आउँदै सर्च गरेका थियौं। सायद उहाँ बेहोस हुनुहुन्थ्यो कि! केही आवाज आएको थिएन। आज अचानक आवाज सुनिएपछि हामीले तुरून्त रेस्क्यु गर्यौं,' उनले भने।
खोजी तथा उद्धारकै क्रममा सशस्त्र प्रहरीले ५ हजारभन्दा बढी मानिसको उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।
'हाम्रा टोलीहरू सुरूदेखि नै लागिरहेका छन्। भग्नावशेषभित्र र पुरिएका जति पनि भवनहरू छन्, सबैमा जीवन अझै रक्षा गर्न सकिन्छ कि भनेर लागिरहनुभएको छ,' उनले भने।

सुरूङभित्र पनि खोजी
बाढी प्रभावित खुला क्षेत्रमा मात्रै होइन, सुरूङ उद्धारमा समेत सशस्त्र प्रहरीका तालिमप्राप्त अधिकारी परिचालित छन्।
नेपाली सेना र अन्य विज्ञ टोलीसँगै विपद व्यवस्थापनसम्बन्धी तालिम लिएका सशस्त्र प्रहरीका अधिकारी पनि सुरूङभित्र खोजीमा खटिएका छन्।
लामो प्रयासपछि भदौ १९ गते बिहान त्रिशूली-३ 'ए' को सुरूङबाट दुई जनाको उद्धार भयो। उद्धार गरिएकाहरू सञ्जय साह र कविर महर्जन हुन्।
सशस्त्र प्रहरी बलका डिएसपी अमृत थापाको कमान्डमा १८ जनाको टोली त्यहाँ खोजीमा खटिएको थियो। सुरूङभित्र सशस्त्र प्रहरी हवल्दार पवन तामाङ समेत छिरेका थिए। त्यहाँ एक जनाको शव पनि फेला परेको थियो।
अहिले पनि सुरूङ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र अन्य निकायका अधिकारीहरू खोजीमा परिचालित छन्।
डिआइजी कार्कीका अनुसार त्रिशूली-३ 'ए' र ३ 'बी' मा पनि सशस्त्र प्रहरी टोली खटिएका छन्।
'आवश्यकता अनुसार जनशक्ति थपघट भइरहन्छ। एक ठाउँमा १८ जना, अर्कोमा १० जना परिचालित छन्,' उनले भने।
ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म
खोजी तथा निगरानीका लागि सशस्त्र प्रहरीले ड्रोनसमेत प्रयोग गरिरहेको छ।
विशेषगरी क्षतिग्रस्त र भग्नावशेषमा परिणत भएका घरभित्र ड्रोनमार्फत खोजी गर्ने काम भइरहेको छ।
त्यसैगरी शवको खोजीका लागि तालिमप्राप्त कुकुर सहितको टोली पनि परिचालन गरिएको छ।
यसरी भोटेकोशी–त्रिशूली बाढीले सुरक्षाकर्मीलाई समेत क्षति पुर्याए पनि बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको खोजी भने रोकिएको छैन।
भग्नावशेषभित्र कतै कसैले अझै सहयोगका लागि आवाज दिइरहेको छ कि भन्ने आशामा उनीहरू घर–घर पुगिरहेका छन्।
***