नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन्।
संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा भारतले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत विषयमा छलफल भएको थियो। छलफलमा बोल्दै समिति सदस्य गिरिले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने बताइदिएका हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल-भारत सिमानामा काँडेतार लगाउने र सुरूङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरू नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउनेमात्रै काम गरेको बताए।
बोलेर मात्रै कूटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनेर समयमै कूटनीतिक सक्षमता देखाउन गिरिले सरकारको ध्यानाकर्षण गराए।
नेपालको कमजोर कूटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थततालाई समयमै आत्मसाथ गरी पहलकदमी गर्न गिरिले आग्रह गरे।
‘विपक्षमा रहेर कहिले पनि त्यस्ता मागलाई उठाउनु हुँदैन। जुन सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्। कूटनीति भनेको चुनाव लड्न गर्न भाषण होइन। सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो। हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य हो यो,’ गिरिले भने।
छलफलमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठूलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कूटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए। उनले विशेषज्ञहरूका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू-भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी गरे।
त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक बहाव रोकिने गरी संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै रावलले सीमा विवाद सुल्झाइ अतिक्रमण रोक्नु पर्नेमा जोड दिए।
नेपाल भारत सीमा विवाद, अतिक्रमण तथा डुबानलगायत समस्या बारेको छलफलमा समिति सदस्यहरूले तत्काल कूटनीतिक पहल गरि डुबानलगायत समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।