महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२को प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी छन्।
बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मन्त्रालयमा आयोजित मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ प्रबोधीकरण कार्यक्रममा मन्त्री श्रद्धा श्रेष्ठले नीति बनाउन मन्त्रालय र सम्बन्धित निकायहरूले महत्वपूर्ण भूमिका खेलेको बताइन्।
मन्त्रालयको यो काम एक महत्वपूर्ण काम भएको उनले बताइन्।
वर्तमान सरकारले यसलाई प्राथमिकता दिएर नै यस नीतिलाई छिटो स्वीकृत गरेको उनले बताइन्।
मानव बेचबिखन विरूद्ध सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन्। नीति आइसकेपछि अब यसलाई कार्यान्वयनको पाटोमा लैजान मन्त्री श्रेष्ठले जोड दिइन्।
उनले सीमित स्रोत र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धारमा कठिनाइ हुने गरेको समेत बताएकी छन्।
सीमित स्रोत र प्रक्रियागत जटिलताका कारण उद्धार र समन्वयमा केही कठिनाइ भएको उनले उल्लेख गरिन्।
उद्धार भएका महिलाहरूले उजुरी गर्न हिच्किचाउने तथा उजुरी गरिसकेपछि पनि सम्पर्कमा नआउने अवस्था रहेको भन्दै यसमा सबैले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ। मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ मा धेरै विषय समेटिएकाले यसको सफल कार्यान्वयनका लागि उनले जोड दिइन्।