प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन्।
विसं. २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण चाड पूर्णिमा नाच अवलोकन गर्न प्रम पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुगेका हुन्।
सो अवसरमा शाक्यले रुद्रायणी मन्दिर पुनर्निर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताइन्। ‘मन्दिरको बाहिरको अवस्था हेर्दा राम्रो देखिएको छ तर भूकम्पले गर्दा भित्रभित्रै भत्किन थालेको देखियो’ शाक्यले अवलोकनपछि भनिन्।
मन्त्री श्रेष्ठले पुरातात्विक र ऐतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य रुद्रायणी मन्दिरको तत्काल जिर्णोद्वार गर्न जरुरी रहेको बताए।
‘रुद्रायणी मन्दिर र खोकनाको अवस्थाबारे प्रधानमन्त्रीज्युले गम्भीर चासो राखेपछि उहाँकी धर्मपत्नी र म अवलोकन गर्न आएका हौँ’ अवलोकन पछि मन्त्री श्रेष्ठले भने।
मन्त्री श्रेष्ठले खोकना र बुंगमतिको सम्पदामा कुनै समस्या नपर्नेगरी फास्ट ट्रयाक निर्माण गरिने बताए।
अवलोकनका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो।
अवलोकन पछि पुरातत्व विभागका महानिर्देशक गौतमले भूकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनःनिर्माण गर्ने बताए। उनले सातौं शताब्दीदेखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखे।