२०६७ साल असोज महिना, दसैँ आउनुभन्दा केही दिनअघि हामी काठमाडौँबाट छिमेकी मुलुक भारतको कोलकाता भ्रमणको क्रममा बिहान प्रस्थान गर्यौँ र बेलुकाको बास हेटौँडामा भयो। भोलिपल्ट बिहानै पथलैया-सीमरा-वीरगंज हुँदै भारतको पूर्वीचम्पारण जिल्लाको रक्सौल बजारमा पुग्यौँ, जहाँबाट कोलकाताका लागि हाम्रो रेल यात्रा सुरु हुनेवाला थियो।
यात्राका लागि हामी तीन जनाको सानो समूह थियो। रक्सौलमै हल्का नास्ता गरेर मात्र त्यहाँबाट कोलकाताको लागि मिथिला एक्सप्रेस रेल चढ्यौँ। जीवनमा पहिलो पटक रेल चढ्ने मौका थियो मेरा लागि। काठमाडौँको भृकुटीमण्डपमा बालरेल त चढेको थिएँ २०४०/४१ सालतिर। मिथिला एक्सप्रेस रेलको टिकट हामीले यतै काठमाडौँको एक ट्राभल एजेन्सीबाट लिएका थियौँ। स्लिपर सिटमा बसेर यात्रा गर्दा आनन्दको अनुभूति भएको थियो, असोज महिना भएकोले खासै गर्मी महसुस भएको थिएन।
हावडा पुलसम्म यात्राका लागि सामान्य भेस्ट लगाएर रेलको यात्रामा थियौँ हामी, साथी हुनुहुन्थ्यो जोरपाटी निवासी अनन्त खनाल र उहाँका कान्छा छोरा। बसले जस्तो उफार्ने काम रेलमा नहुँदो रहेछ भन्ने कुराको मलाई अनुभव भयो। गिलासमा राखिएको पानी पनि नपोखिने किसिमले गति लिने हुँदा रेलको यात्रा सहज नै थियो। रक्सौलबाट कोलकाताका लागि प्रस्थान गरेको हामी चढेको रेल पहिलो स्टेसनमा रोकिएपछि खानाका सेट बोकेर व्यवसायीहरू रेलका डिब्बाभित्र छिरे, हामीलाई भोक लागेकै थियो, आफ्नो रुचिअनुसार हामीले खाना लियौँ।
एकछिनपछि रेलले पुनः रफ्तार लियो। रेलमार्गको दायाँबायाँ फराकिला जमिन र हरिया वृक्षहरू अनि खेतका फाँटहरू देख्दा मनमा उमङ्ग छाएको थियो। बिचबिचमा बस्ती अनि बजार हेरेर साइनबोर्डहरूमा लेखिएका ठाउँको नाम हेर्ने गर्थ्यौँ हामी यो स्थानमा आयौँ भन्दै। रेलको ट्वाइलेटहरूबाट सिधै जमिनमा झर्ने मलमूत्रले रेलमार्ग अशोभनीय देखिन्थ्यो।
कुनै एक ठाउँ पुगेपछि झमक्क रात पर्यो। रेलको एकनासको गतिले गर्दा रातको समयमा निद्रा लाग्नु स्वाभाविकै थियो। ठाउँ-ठाउँमा रहेका स्टेसन अर्थात् बिसौनीमा रेल रोकिँदा खानेकुरा बिक्री गर्नेहरू डिब्बाभित्र पसी नै रहन्थे भने समलिङ्गीहरू पैसा माग्न पनि आइरहेको देखिन्थे। यात्रुहरू झर्ने र चढ्ने भइरहन्थ्यो रेलमा। बिहानै उज्यालो नहुँदै हामी चढेको रेल कोलकाताको हावडा पुल स्टेसनमा रोकियो। हावडा पुलको नाम मैले गाउँमा उहिल्यैदेखि सुने तापनि पहिलो पटक देख्न पाएँ, हावडा पुललाई कोलकाता पहिचानको प्रतीक पनि भनिँदो रहेछ।
रेलको अन्तिम स्टेसनबाहिर ट्याक्सीवालाहरूले यात्रुहरू कुरिरहेका थिए। हामी रेलबाट ओर्लिँदा पूरा उज्यालो भइसकेको थिएन, एउटा ट्याक्सी पकडेर लाग्यौँ निधो गरे बमोजिमको वासस्थानतिर। कोलकाता पुगेपछि नेपाली महावाणिज्यदूतावासमा चिनेका साथीभाइ तथा कुनै बखतका सहकर्मीहरूसँग पनि भेट भयो।
पहिलो स्टिमर यात्रा
कोलकाताबाट गंगासागरतर्फ जाँदा बाटोमा पर्ने गंगासागरको एक शाखा नदी तर्दा स्टिमरमा चढ्यौँ। स्टिमरमा बस्ने सिट प्याक भएका कारण हामी चालकको नजिकै उभिएर रमाइलो मान्दै यात्रा गर्यौँ। जीवनमा अनौठो यात्राको रूपमा रह्यो गंगासागर आउँदाजाँदाको त्यो स्टिमर यात्रा। वाष्प इन्जिनबाट चल्ने भएकोले त्यस खालको डुंगालाई स्टिमबोट अर्थात् स्टिमर भनिँदो रहेछ।
कोलकाता सहरको कुनै-कुनै बाटोको छेउतिरको भागमा ट्रामको लिक पनि देखियो, सानो खालको रेललाई ट्राम भनिँदो रहेछ, हामी ट्राममा यात्रा भने गरेनौँ। भूमिगत मेट्रो रेल चढ्ने चाहना भए तापनि हामी समयाभावका कारण त्यो लक्ष्य पनि पूरा भएन। बास बसेको ठाउँबाट नजिकै रहेको चिडियाखाना पनि हेर्न भ्याएनौँ। कालीघाट दर्शन र दक्षिणेश्वर दर्शन गर्न भने भ्यायौँ।
कोलकाता सहरमा गुड्ने ट्याम्पोहरू ग्याँसबाट चल्दा रहेछन्। धरमतला जाने बसहरू धेरै गुडेका देखिए त्यहाँ। बसका कन्डक्टरले बसको ढोकाबाट ‘धरमतला धरमतला’ भन्दै यात्रुलाई संकेत गरिरहेका देखिन्थे। पहिले कलकत्ता नाम रहेको कोलकाता भारतको पाँचौँ ठुलो बन्दरगाह तथा भारतकै दोस्रो ठुलो महानगर हो। जसलाई पश्चिम बंगालको राजधानी भनेर पनि चिनिन्छ।
कम प्रदूषित सहर
काठमाडौँ सहरको तुलनामा कोलकाता सहर धेरै नै सभ्य देखियो, खासै प्रदूषित देखिएन। भारतका सबै सहरहरू स्वच्छ वातावरणयुक्त छैनन् होला भन्ने मेरो अन्दाज थियो। नयाँदिल्ली विश्वकै धेरै प्रदूषित सहरमा पर्छ भन्ने चाहिँ सुनेको थिएँ। कोलकाताका विभिन्न ठाउँहरूमा नुहाउनका लागि सार्वजनिक बोरिङ तथा धाराहरू देखिए। पूरै पानी कालो देखिने एउटा नदी देखियो कोलकातामा, जुन नदीबाट वरैसम्म ह्वास्स दुर्गन्ध आउने रहेछ।
भिक्टोरिया मेमोरियल
कोलकाताको छोटो भ्रमणका क्रममा हामीलाई ब्रिटिशकालीन स्मारकको रूपमा रहेको संग्रहालय भिक्टोरिया मेमोरियलको अवलोकन गर्ने अवसर मिल्यो। सन् १९०६ र १९२१ को बिचमा बनेको सो स्मारक महारानी भिक्टोरियाको सम्झना स्वरूप बनेको रहेछ। हामी त्यहाँका विभिन्न कक्षहरू घुम्यौँ र हेर्यौँ अनि तस्बिर पनि खिच्यौँ र खिचायौँ।
एक दिन हाम्रो सल्लाह बमोजिम गंगासागरको यात्रा गर्ने समय तय भयो र हामी बसबाट १५० किमी दक्षिणमा रहेको गंगासागर पुग्यौँ। असोज महिना भए पनि गंगासागर धमिलो नै देखियो, सायद हाम्रो बागमती नदी झैँ प्रदूषित भएर नै होला। गंगासागरको किनारमा उभिँदा छालको तरङ्ग स..र..र..र गर्दै आफूतिर आएको देखेर हामीलाई रमाइलो लागेको थियो। गंगासागरको किनारमा श्राद्ध र पूजा गर्नेहरू पनि देखिन्थे, पण्डितहरूले उनीहरूसँग भाउताउ गरेको पनि पाइन्थ्यो।
गंगासागरमा नुहाएर लुगा फेर्न टेन्ट जस्तो बनाइएको थियो पालले घेरेर। गंगासागरको पानी नुनिलो हुँदो रहेछ भन्ने कुरा मलाई त्यहाँ पुगेपछि थाहा भयो। गंगासागर स्नानपछि सँगै रहेको कपिलमुनिको मन्दिरमा गएर त्यहाँका पुजारीबाट प्रसाद लिएर आयौँ। साथी अनन्तले शंख किन्नुभयो भने मैले सामुद्रिक प्राणीको हड्डीबाट बनेको एउटा सेतो रङको डटपेन किनेर ल्याएँ। त्यहाँ बाख्राभन्दा अलिक ठुलो आकारका र सेता रङका गाईहरू पनि देखिन्थे। ती साना आकारका गाईहरू देखेर म छक्क परेको थिएँ।
तरकारी बजारमा गएर मैले चेरी किनेर ल्याएँ। त्यहीँ छेउमा रहेको एक घरमा मानिस नभएको र भित्ताहरूमा बोट बिरुवा उम्रिएको देखेपछि हामीले एकजनालाई सोध्दा ‘घरमा वृक्ष उम्रिएपछि घर छोडेर अन्तै गए’ भन्ने जानकारी पाउँदा हामी छक्क पर्यौँ, उनले ठिक भने वा बेठीक भने दोधारमा पर्यौँ। वृक्षप्रति यति धेरै आस्था देख्दा प्रकृतिसँग कति धेरै प्रेम रहेछ त्यहाँका मानिसमा भन्ने लाग्यो। कोलकाता साँच्चिकै सभ्य र भव्य सहर भएको पाएँ मैले।
सार्वजनिक यातायातका साधनमा महिलाका सिट खाली भए पनि त्यसमा पुरुष यात्रु बस्दा रहेनछन्, बरु उभिएर यात्रा गर्दा रहेछन्। बाटोमा हिँड्दा महिलासँग पुरुष ठोक्किएमा पुरुषले तत्काल झुकेर क्षमा माग्ने गरेको पनि पाइयो। कपडाहरू किन्नका लागि न्यूमार्केट भन्ने ठाउँमा जानुपर्दो रहेछ, त्यहाँ मैले एक सय भारु दरका दुई वटा टिसर्ट किनेको थिएँ। तरकारी किन्नका लागि छुट्टै ठाउँ, कपडाका लागि छुट्टै ठाउँ र किराना सामानका लागि छुट्टै ठाउँ देखिदा कोलकाता साँच्चिकै व्यवस्थित सहर रहेछ भन्ने लाग्यो मलाई।
पश्चिम बंगालको राजधानी कोलकातामा नेपाली भाषीहरू धेरै नै भेटिने गरेको पनि पाइयो। नेपाल राष्ट्र बैंकबाट दश हजार भारु साटेर गएकोमा प्रशस्तै पुग्यो कोलकातामा त्यति रकमले। चार रुपैयाँमा माइलौँ यात्रा गर्न पाइने र बाह्र रुपैयाँमा पेटभर खान पाइने कोलकाता साँच्चिकै सस्तो ठाउँ भएको अनुभव भयो मलाई त्यति बेला। कोलकाताका सडक फराकिला र बाटोको दायाँबायाँ वृक्षहरू भएको देख्दा काठमाडौँभन्दा धेरै नै व्यवस्थित भएको पाएँ।
मान्छेले तान्ने गाडाको अस्तित्व
सामान ढुवानी गर्ने र मान्छे समेत चढ्ने बयल गाडा र घोडाले तान्ने टाँगासम्म देखेको मैले कोलकातामा भने मानिसले काँधको सहायताले तान्ने गाडा देख्दा अचम्म मानेको थियो। अहिलेको परिवर्तित जमानामा पनि कष्टकर भएर काँधको जोडबलले गाडामा सामान गुडाएर गन्तव्यमा लगिदिनेहरू पनि देखियो त्यहाँ।
उहिले तीर्थयात्राको क्रममा यात्रा गरिएका रेलको टिकट हाम्रा गाउँका मान्छेहरूले घरमा सुरक्षित राख्दथे। जुन सुत्केरी हुँदै गरेका महिलाको कम्मरमा च्यापेमा प्रसव वेदना कम हुने र शिशुको जन्म सजिलै हुने भन्ने मान्यता रहेको थियो। २०३५/३६ सालअगाडि हामीले गाउँमा त्यस्ता टिकट देखेका थियौँ। दुई इन्ची लम्बाई र आधा इन्ची चौडाइको बाक्लो कागजमा रहेका रेलका त्यस्ता टिकटको प्रचलन आजकल भने छैन जस्तो लाग्छ। अहिले जहाँ रहे पनि अनलाइनबाटै टिकट बुकिङ गर्न पाइन्छ। कुन श्रेणीको सिटको टिकट लिने हो भन्ने कुरा यात्रुको आर्थिक अवस्थाले निर्धारण गर्दछ।
कोलकाताबाट फर्कँदा हामी जोगबनी भएर फर्कने योजना बनायौँ। दरभंगा र सीतामढी हुँदै जोगबनी नाकाबाट हामी विराटनगर प्रवेश गर्यौँ। नाकाबाट यता प्रवेश गरेपछि मात्र हाम्रो मोबाइलले यताको नेटवर्क समात्यो, हामीले घरमा खबर गर्यौँ ‘नेपाल आयौ’ भनेर। मैले कोलकातामा किनेको बाटा जुत्ता पनि थियो झोलामा, त्यो जुत्ता टिकाउ भने भएन।
कोलकाता महानगर घुमेर आएपछि काठमाडौँ महानगर अझ भनौँ भने काठमाडौँ उपत्यकाका तीनै सहर गन्जागोल नै लाग्यो। कोलकाताबाट आधा दर्जन कुराहरू मात्रै अनुसरण गरेमा काठमाडौँ सहर पनि सभ्य सहर भनेर भन्न सकिने अवस्था छ। कोलकाताका जनताले सरकारी नियम-कानुनको पालना गरेको पाइयो। नेपालमा भने कतिपयले आँखा छलेर नियम-कानुन उल्लंघन गर्ने बानी परेको छ।
अन्त्यमा, हाम्रा देशका ठुलाबडाहरू विकसित मुलुकहरूको भ्रमणमा जाने गरेकोमा त्यहाँका राम्रा पद्धतिहरूका बारेमा जानकारी हासिल गरे तापनि स्वदेश फर्किएपछि पूरै बिर्सने गरेको झैँ लाग्छ। आफ्नो देशमा त्यस्ता विषयहरूको अनुसरण गरेको पाइँदैन, जुन साह्रै नै दुःखको कुरा मान्नुपर्दछ भन्ने लाग्छ।