राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै पार्टीभित्रै विरोध भएपछि ती नाम फिर्ता लिने बचन दिएका छन्।
आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा कुलमानले भान्जादेखि ससुरासम्म नाता पर्नेलाई समानुपातिक सूचीमा राख्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै फिर्ता लिने बचन दिएका हुन्।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार कुलमानले नाता पर्नेहरूको नाम फिर्ता लिन र सूचीमा तल परेका कतिपय नामलाई माथि तान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कुरा गर्ने बताएका छन्।
सोमबार रातिको सातबुँदे सहमति अनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छ। कुलमान रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनेर रास्वपामा गएका छन्।
त्यही सहमतिपछि रास्वपा तर्फबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा कुलमानले नातामा भान्जा पर्ने राम लामा र ससुरा पर्ने धर्मलाल तामाङको नाम समावेश गराएका थिए। उनीहरू दुवै उज्यालो नेपालका सदस्यसमेत नरहेको ती केन्द्रीय सदस्यले बताए।
यसरी कुलमानले आफ्नै पार्टी सदस्यलाई समेत जानकारी नदिई नातावादलाई बढावा दिएको भन्दै केन्द्रीय समिति बैठकमा विरोध भएको हो।
बैठकमा १६ जना केन्द्रीय सदस्यले बोलेका थिए। सबैले कुलमानको विरोध गर्दै समानुपातिक सूची सच्याउन दबाब दिए।
'कुलमानजीले सधैं योग्यताको कुरा उठाउनुभयो, तर समानुपातिक सूची बनाउने बेला आफ्नै भान्जा र आफ्नै ससुराको नाम घुसाउनुभएछ,' बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, 'काभ्रेतिरको नातामा सम्धि पर्ने व्यक्तिको नाम पनि हाल्नुभएको रहेछ।'
उनले अगाडि भने, 'अरू बेला आदर्शको कुरा गर्ने, अनि अवसर आउँदा नातावादलाई बढावा दिने उहाँको यस्तो प्रवृत्तिको सबै केन्द्रीय सदस्यले विरोध गरे।'
यति मात्र होइन, उज्यालो नेपालबाट सिफारिस गरिएका नामलाई रास्वपाले तल्लो प्राथमिकतामा राखेकोमा पनि केन्द्रीय सदस्यहरूले विरोध गरेका छन्। रवि लामिछानेसँग कुरा गरेर त्यसलाई पनि सच्याउनुपर्ने उनीहरूको दबाब छ।
'कुलमानजीले आयोगमा बुझाइएको सूचीमा तल परेका नामलाई माथि तान्न लगाउने र आफ्ना नातेदारको नाम फिर्ता लिने बचन दिनुभएको छ,' ती केन्द्रीय सदस्यले भने, 'यसमा कुरा मिलेन भने सबै नाम फिर्ता लिन्छु भन्नुभएको छ।'
उनका अनुसार बैठकमा केन्द्रीय सदस्य शंकर ढकालले कुलमानको कदमप्रति लक्ष्य गर्दै भनेका थिए, 'हामीले योग्यताको कुरा गरेका थियौं। तर कुलमानजीले नातावादलाई प्रश्रय दिनुभयो। यो हाम्रो मान्यता विपरीत छ। यसलाई तुरून्त सच्याउनुपर्छ।'
अर्का केन्द्रीय सदस्य महेन्द्र थापाले निर्वाचन आयोगमा बुझाउने अन्तिम सूचीमा कुनै पनि हालतमा नेताका नातेदारहरू पर्न नहुने भन्दै कुलमानलाई सचेत गराएका थिए।
उनले भने, 'अझै सच्याउने समय छ। विवादित नाम हटाएर वास्तविक कार्यकर्ता र योग्य व्यक्तिलाई समेट्नुपर्छ।'
बैठकमा सहभागी नेताहरूले कुलमान घिसिङबाटै यस्तो निर्णय आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
यसैबीच रास्वपा र कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले असन्तुष्टि व्यक्त गरेका छन्।
पहिचानको मुद्दालाई केन्द्रमा राखेर राजनीति गरिरहेका थेगिमले पार्टी विलयको यो निर्णयप्रति आश्चर्य प्रकट गरेका हुन्।
कोशी प्रदेशको पहिचानवादी आन्दोलनको नेतृत्व गरिरहेका र इलामको उपनिर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका थेगिमले यो एकताले पहिचानको एजेन्डालाई ओझेलमा पार्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
'हामी कुलमानजीसँग पहिचानको मुद्दा स्वीकार गर्ने सर्तमा साथमा थियौं,' उनले भने, 'रास्वपासँग केवल चुनावी गठबन्धन र सहकार्य गर्नेसम्मको कुरा भएको थियो। तर पार्टी नै विलय गर्ने कुनै पूर्वजानकारी थिएन। अब के गर्ने भन्ने विषयमा छलफल जारी छ।'
'मेरो बुझाइमा हामीले चुनावी गठबन्धन र सहकार्य गर्ने सम्मको मात्र कुरा थियो,' थेगिमले भने, 'आफ्नो पहिचान र अस्तित्व समाप्त गरेर मिल्न सकिँदैन भनेर त कुलमानजी हिजो बिहानसम्म बोलिरहनुभएको थियो। तर बेलुका झट्टै एकताको कुरा आयो। उहाँ कसरी सबै विलय गरेर जानुभयो, त्यो विषयमा उहाँलाई नै सोध्नुपर्छ। हामीलाई यसबारे जानकारी छैन।'
थेगिमले रास्वपासँगको एकतामा आफ्ना मुख्य एजेन्डाहरू कता परे भन्ने स्पष्ट नभएको प्रश्न उठाएका छन्।
संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकताका मुद्दामा रास्वपासँग के सहमति भयो भन्ने कतै उल्लेख नगरिएको उनले जिकिर गरेका छन्।
पहिचानको पृष्ठभूमिबाट आएको शक्ति रास्वपासँग जाँदा ती मुद्दा कतिसम्म अगाडि बढ्छन् भन्ने कुनै टुंगो नभएको उनको भनाइ छ।
यो एकता प्रक्रियाप्रति डा. महेन्द्र लावतीले पनि स्पष्ट असहमति जनाएको थेगिमले उल्लेख गरेका छन्।
उज्यालो नेपालको घोषणापत्रमा पहिचान, सामुदायिक समाजवाद र बहुसंस्कृतिवाद उल्लेख थियो, तर अहिले भएको एकतामा यी विषयहरू गायब पारिएको उनले बताएका छन्।
पहिचानको मुद्दा बोक्ने नयाँ शक्तिको आवश्यकता महसुस गरेर उज्यालो नेपालमा आबद्ध भएको बताउने थेगिमले अस्तित्व नै मेटेर गरिने एकतालाई स्वीकार गर्न नसकिने संकेत गरेका छन्।
उनले पहिचानवादी शक्तिहरूसँग चुनावी प्रक्रियामा मोर्चाबन्दी र गठबन्धन गरेर जान सकिने भए पनि विचारहीन एकताको अर्थ नहुने तर्क गरेका छन्।
इलामको उपनिर्वाचनमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङले एमालेबाट चुनावी सफलता प्राप्त गर्दा कांग्रेसका डम्बर खड्का दोस्रो भएका थिए। पहिचानवादी उम्मेदवार थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका थिए।
२०७९ फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम 'कोशी' राखेपछि त्यही वर्षको चैत ५ देखि कोशीमा आन्दोलन सुरू भएको थियो। त्यो आन्दोलनमा एक जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए।
पहिचानवादीहरू अहिले पनि आन्दोलन जारी रहेको बताउँछन्।
आन्दोलन जारी रहेको भनिएकै बेला आन्दोलनकै संयोजक थेगिम भने नयाँ राजनीतिक दलको केन्द्रीय सदस्य बनेका थिए। यद्यपि, उनी आबद्ध दल नै रास्वपामा मिसिएपछि उनी नैतिक संकटमा परेका छन्।
'के गर्ने भन्नेबारे छलफल जारी छ,' थेगिमले भने।