प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पहिलेजस्तै सासंदहरूको किनबेच गर्न खोजिएको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा ओलीले सासंदहरूको किनबेच गर्न खोजिएको आरोप लगाएका हुन्।
'हामी तीव्र विकासको क्रममा छौं। यस क्रमलाई रोक्ने प्रयासहरू हुन्छन्। बाधा व्यवधानहरू पुर्याउने प्रयासहरू हुन्छन्। सामाजिक परिवर्तनको सन्दर्भमा पनि बाधा पुर्याउने प्रयासहरू हुन्छन्। ती प्रयासलाई तोडेर हामी अगाडि जानु जुरूरी छ,’ उनले भने, ‘देश आज खास लडाइँको स्थितिमा छ। संसदलाई फेरि सासंद किनबेचको, फेरि दलहरूबीचमा गिभ एन्ड टेकको, लेनादेनाको, फेरि समीकरणहरू परिवर्तनको खेलको, पहिलेजस्तै सिलसिला सुरू गर्न खोजियो।’
उनले लेफ्टहरूलाई जोडेर नेपाल कम्युनिष्ट पार्टीलाई मजबुत बनाउन खोजेको, देश बनाउनमा लागि परोस् भन्ने पार्टीले परिकल्पना गरेको तर पार्टीभित्र कहिल्यै समर्थन नभएको बताए।
‘एकदिन पनि राम्रो कामको समर्थन नगर्ने आँट नभएको, हुती नभएको मन नभएको पार्टी बन्यो। लिडरसिपको यस्तो पंक्ति बनाउन खोजेको थिएँ, जसले देशलाई राम्ररी हाक्न सकोस् तर देश हाँक्ने होइन, देशका निम्ति मर्ने होइन, आफ्ना निम्ति मर्ने, आफन्तका निम्ति मर्ने,’ उनले भने।