नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीको तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपाले कास्की– १ मा केन्द्रिय सदस्य राजकाजी गुरुङ ‘करण’ कास्की– २ मा हेमबहादुर थापा ‘किरण’ र कास्की– ३ मा प्रेम पौडेललाई उम्मेदबार बनाएको हो।
उम्मेदवार बनेका करण र किरण पूर्व माओवादी पृष्ठभूमिका हुन् भने प्रेम एमालेबाट नेकपा एकिकृत समाजवादी हुँदै नेकपामा समाहित भएका हुन्।
माओवादीको भूमिगत राजनीति गरेका करण र किरणले छुट्टा छुट्टै मोर्चा सम्हालेका थिए।
पहिलो संविधान सभा निर्वाचनमा कास्की– २ बाट निर्वाचित भएका करण त्यसपछिका निर्वाचन जित्न सकेका छैनन्।
२०७४ मा एमाले र माओवादी गठबन्धनबाट कास्कीबाटै प्रदेश सभा सदस्य हारेका उनले २०७९ को निर्वाचनमा भने टिकट पाएका थिएनन्।
माओवादीबाट छुट्टिएर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा लागेका किरण भने गएको बर्ष मात्र माओवादीमा फर्किएका थिए। यसअघि संसदीय चुनाव लडेको अनुभव नभएका किरण यसपाली पहिलो पटक चुनावमा होमिन लागेका हुन्।
एमालेबाट गएका प्रेम पौडेल पनि पहिलो पटक संसदीय निर्वाचन उठेका हुन्।