चितवनमा नेकपा एमालेका कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएका छन्।
नेकपा एमाले निकट युवा तथा विद्यार्थीहरुले भरतपुरको चौबीसकोठीमा भेला भएर जबराको पुत्ला जलाएका हुन्।
अनेरास्ववियू चितवनको संयोजनमा सोमबार साँझ गरिएको कोणसभा सम्पन्न भए लगत्तै युवा, विद्यार्थीले जबराको पुत्ला जलाएका थिए।
सो क्रममा उनीहरुले प्रधानन्यायाधीशविरुद्ध चर्का नारा लगाएका थिए।
कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोखरेल, भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्यलगायतले बोलेका थिए।
आजै सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको थियो। सो फैसलाविरुद्ध एमाले कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्।