नेपालका सडकहरूमा ट्राफिक प्रहरीले नियमित चेक गर्दा कानमा गुन्जिने एउटा साझा तर चिन्ताजनक प्रतिउत्तर छ, 'हामी लोकल हो, यहीँ जान लागेको, त्यहीँसम्म हो…' । यो वाक्य कुनै सामान्य बहाना मात्र होइन बरू हाम्रो समाजमा गहिरोसँग जरा गाडेको गैरजिम्मेवार, आत्मसन्तुष्ट र नियमविहीन मानसिकताको स्पष्ट प्रतिबिम्ब हो।
सडकमा हुने अधिकांश सवारी दुर्घटनाको मूल कारण मानवीय लापरबाही र नियम उल्लंघन नै हो, तर हामी अझै पनि 'हामी लोकल' भन्ने आत्मघाती भ्रममा ढुक्क छौं। यो सोचले अधिकार र जिम्मेवारीबीचको सिमानालाई धुमिल बनाएको छ।
हेल्मेट नलगाउने, एकै मोटरसाइकलमा तीन जना सवार हुने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी हाँक्ने, ट्राफिक नियमलाई क्षणिक औपचारिकता ठान्ने प्रवृत्तिले हाम्रो सडक सुरक्षाको जगलाई नै हल्लाइरहेको छ।
अझ दुखद् पक्ष त के भने, स्थानीय तहका जनप्रतिनिधि वा प्रभावशाली व्यक्ति स्वयंले पनि कहिलेकाहीँ यस्तो गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्छन्। जब नेतृत्व स्तरमै नियम तोड्ने उदाहरण देखिन्छ, तब साधारण नागरिकलाई नियम पालनाको प्रेरणा कहाँबाट मिलोस्? यस्ता प्रवृत्तिले केवल ट्राफिक नियमको अवज्ञालाई मात्र होइन, बरू सडक सुरक्षा र कानुनी शासनप्रतिको गम्भीर बेवास्तालाई पनि दर्शाउँछ। सानो दूरी वा 'लोकल' क्षेत्रको बहानामा ठूलो जोखिम लिने यो प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको छ। यस प्रकारको हानिकारक मानसिकतालाई निरूत्साहित गर्न र सडक सुरक्षाको संस्कृति स्थापित गर्न अभिभावक, समाज र राज्यको संयुक्त प्रयास अपरिहार्य छ।
अनुशासनको पहिलो पाठशाला परिवार हो। सडक सुरक्षाको चेतना विद्यालय वा प्रहरीबाट मात्र आउँदैन, यसको बीउ घरमै रोपिनुपर्छ। राम्रोसँग पढेलेखे वा भनेको माने बापत मोटरसाइकल वा स्कुटर किनिदिने अभिभावकको प्रवृत्ति एक प्रकारको भावनात्मक प्रलोभन हो, जसले बालबालिकालाई शिक्षाको वास्तविक मूल्यभन्दा भौतिक वस्तुको क्षणिक आकर्षणतर्फ बढी ध्यान केन्द्रित गर्न सिकाउँछ। यसभन्दा पनि खतरनाक कुरा, उनीहरूले सवारी साधन किनिदिँदा सुरक्षा सावधानी वा सवारी चालक अनुमति पत्रको आवश्यकता बारे सिकाउँदैनन्, जसका कारण सवारी दुर्घटना बढ्दो छ।
जब बच्चाले बुबा-आमालाई ट्राफिक संकेत तथा चिह्नमा रोकिएको, सवारी चलाउँदा सधैं ट्राफिक नियमको पालना गर्ने, हेल्मेट लगाउने र कागजपत्र दुरूस्त राख्ने गरेको देख्छ तब नियमको वास्तविक अर्थ बुझ्छ। अभिभावक स्वयंले 'छोटो बाटो हो, के हुन्छ र?' भन्ने सोच त्यागे मात्र बालबालिकामा जिम्मेवारीको बोध तथा विकास हुन्छ।
सानैदेखि अभिभावकले आफ्ना सन्तानलाई सवारी चलाउँदा हेल्मेट अनिवार्य लगाउने, सवारीको स्वरूप परिवर्तन नगर्ने, ट्राफिक नियमको सम्मान, दुईपांग्रे साधनमा दुई जनाभन्दा बढी नचढ्ने, तीव्र गतिमा नचलाउने जस्ता सुरक्षाका आधारभूत नियमहरूलाई पालना गर्ने बानी सिकाउनुपर्छ साथै बच्चाले सवारी चलाउन सिक्नुअघि नै ट्राफिक नियम, सडक चिह्न तथा संकेत र सडक अनुशासनबारे सिकाउनुपर्छ र यसलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्छ।
सामान्य गल्तीले पनि ज्यान जोखिममा पर्न सक्छ भन्ने वास्तविकतालाई बुझाएर सन्तानलाई जिम्मेवार नागरिक बनाउनु अभिभावकको कर्तव्य हो। चालक अनुमतिपत्र नभएकालाई सवारी चलाउन दिनु कानुनतः अपराध हो र यसले सन्तानलाई जोखिममा पर्छ भन्ने कुरामा अभिभावक सजग, सचेत र कठोर अडान हुनुपर्छ।
त्यसैगरी सडक सुरक्षा केवल व्यक्तिगत जिम्मेवारी होइन, सामाजिक प्रतिबद्धता पनि हो। विद्यालय, धार्मिक संस्था, स्थानीय सरकार र सामाजिक संघसंस्थाले सडक सुरक्षासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।
टोल विकास समितिहरूले हेल्मेट नलगाउने वा तीन जना चढ्ने बानी विरूद्ध सचेतना अभियान चलाए भने व्यावहारिक परिवर्तन सम्भव छ।
आम सञ्चार माध्यम र सामाजिक सञ्जालहरूले पनि सकारात्मक सन्देश प्रसारण गरी नागरिक दबाब सिर्जना गर्न सकेमा सवारी दुर्घटनाको बढ्दो ग्राफलाई कमि गर्न सकिन्छ। त्यसको अलवा केही स्थानीय सरकार प्रमुख वा जनप्रतिनिधिहरूलाई पनि नैतिकता र जिम्मेवारीताको बोध गराउनु आवश्यक छ।
यदि स्थानीय सरकार प्रमुख वा जनप्रतिनिधि स्वयंले नियमको अवहेलना गर्छन् भने, त्यो केवल व्यक्तिगत गल्ती होइन, संस्थागत असफलता हो। नेतृत्वले आफ्नो व्यवहारबाट नागरिकलाई सन्देश दिनुपर्छ कि सडक नियम सबैका लागि समान छन्। 'लोकल' वा 'पहुँचवाला' भनेर कुनै पनि व्यक्तिलाई नियम उल्लंघनमा छुट दिनु हुँदैन। स्थानीय सरकारका प्रमुख वा प्रभावशाली व्यक्तिहरूले नियम तोडेमा उनीहरूलाई थप कडा कारबाही गरिनुपर्छ, जसले उदाहरण स्थापित गर्न सकोस्।
ट्राफिक चेकजाँचका क्रममा जब शिक्षक वा शिक्षिकाले 'म यही स्कुलसम्म हिँडेको, म स्थानीय शिक्षक हुँ' भन्ने जबाफ दिन्छन्, त्यो केवल नियम उल्लंघन मात्र होइन, शिक्षाको नैतिकता नै प्रश्नमा पार्ने व्यवहार हो। शिक्षक ज्ञानका दियो हुन्, तर जब उनीहरू नै अनुशासन तोड्छन्, विद्यार्थीमा गलत सन्देश पुग्छ। विद्यालय स्तरमा ट्राफिक शिक्षाको आवश्यकता यहीँबाट सुरू हुन्छ।
शिक्षकले कक्षामा मात्र होइन, सडकमा पनि अनुशासनको जीवित उदाहरण बन्नुपर्छ। विद्यालयको पाठ्यक्रममा सडक सुरक्षा, ट्राफिक संकेत र नागरिक जिम्मेवारीका अध्याय अनिवार्य हुनुपर्छ। त्यसका साथै, स्थानीय तह र ट्राफिक प्रहरीले सहकार्य गरी 'ट्राफिक सचेतना कक्षा' सञ्चालन गरे जिम्मेवार नागरिक उत्पादन गर्न सकिन्छ।
शिक्षकले 'स्थानीय' वा 'शिक्षक' को बहाना नबनाई इमानदारिताका साथ नियम पालना गर्नु नै उहाँहरूको पेशागत नैतिकताको उच्चतम मापदण्ड हो। गुरूजीको गल्तीलाई सामान्यीकरण होइन, नैतिक चेतावनीको रूपमा लिँदै, अबको ट्राफिक शिक्षा शिक्षकको चेतनाबाटै सुरू हुनुपर्छ।
साथै विद्यालय पाठ्यक्रममा सडक सुरक्षा अध्याय अनिवार्य रूपमा समावेश, स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयमा 'ट्राफिक शिक्षक कार्यक्रम' सञ्चालन गरिनुपर्छ, तब मात्र हामी सुरक्षित सडक र सभ्य समाजको दिगो र दरिलो जग बसाल्न सक्छौं।
अत: 'हामी लोकल' भन्ने मानसिकतालाई निरूत्साहन गर्न बहुआयामिक दृष्टिकोण अपनाउनुपर्छ। समान कानुनको कडाइका साथ कार्यान्वयन, जरिवाना रकमलाई समयसापेक्ष र पर्याप्त बनाउने साथै नियम उल्लंघनकर्तालाई निश्चित अवधिका लागि अनिवार्य ट्राफिक सचेतना कक्षा वा सडक स्वयंसेवकका रूपमा परिचालन गर्ने जस्ता रचनात्मक दण्ड सजाय र दुर्घटनाले 'स्थानीय' वा 'बाहिरका' भन्दैन भन्ने मूल सन्देश सहितका जनचेतनामूलक कार्यक्रमहरू विद्यालयदेखि समुदायस्तरसम्म सञ्चालन गर्नुपर्छ।
सडक नियमको पालना केवल प्रहरीले मागेको औपचारिकता होइन, जीवन रक्षासँग जोडिएको संवैधानिक दायित्व हो। 'हामी लोकल' भन्ने सोचले हाम्रो नागरिक चेतना कमजोर बनाउँछ। यस प्रकारको हानिकारक मानसिकतालाई निरूत्साहित गर्न र सडक सुरक्षाको संस्कृति स्थापित गर्न अभिभावक, समाज र राज्यको संयुक्त प्रयास अपरिहार्य छ।
अब आवश्यक छ, नियम पालनलाई आत्मसम्मानको विषय बनाउने, अनुशासनलाई संस्कारको रूपमा स्वीकार्ने र सवारी चलाउने हरेक क्षणमा आफ्नो मात्र होइन, अरूको पनि जीवन सुरक्षित राख्ने प्रतिवद्धता जगाउने, सडक सुरक्षित बनाउने शक्ति राज्यसँग मात्र होइन, हामी प्रत्येक नागरिकसँग पनि छ।
जबसम्म हरेक नागरिकले सडक नियमलाई आफ्नो व्यक्तिगत सुरक्षा र सामाजिक जिम्मेवारीको रूपमा लिँदैनौं, तबसम्म सडक सुरक्षाको चुनौती कायमै रहन्छ। सामूहिक प्रतिबद्धता र जिम्मेवारीको भावनाले मात्र 'हामी लोकल' मानसिकतालाई 'हामी जिम्मेवार' मानसिकतामा रूपान्तरण गर्न सकिन्छ।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, अँधेरी, सिन्धुपाल्चोकका प्रमुख हुन्।)