‘अनि भाइ, ब्याचलर पास गर्यौ त?’ मेरो पछाडिबाट आवाज आयो।
पछाडि फर्की हेरेँ, आफ्नै गाउँका एकजना बुद्धिजीवी व्यक्ति हुनुहुँदो रहेछ। उहाँको प्रश्नको उत्तर दिँदै मैले भनेँ, ‘गरेँ काका।’
‘राम्रै जिपिए ल्याएरै त पास गर्यौ होला है?’ उहाँले पुनः प्रश्न गर्नु भयो।
‘हाहा, काका ठिकै नै आयो,’ मैले उत्तर दिएँ।
‘अब विदेश त जाने होला?’ प्रश्न फेरि आयो।
‘ब्याचलर सकिएपछि विदेश जानै पर्छ भन्ने हुन्छ र काका?’ मैले प्रतिप्रश्न गरेँ।
‘त्यस्तो त हैन भतिज तर अब अहिलेको देशको अवस्था हेर्दा यस्तै यस्तै छ, त्यही भएर तिम्रो विचार के रहेछ भनेर बुझेको मात्र,’ काकाले मुस्कुराउँदै उत्तर दिनु भयो।
‘ठिकै छ काका, अब यतै गाउँमा आएर बस्ने विचार गर्दै छु, यही ठाउँबाट पढेर आज ब्याचलर सकियो, कसरी विदेश जान्छु होला र,’ मैले उत्तर दिएँ।
‘अनि भतिज के छ त सहर तिरको खबर?’ उहाँले प्रश्न गर्नु भयो।
‘के हुनु काका, सहर त मलाई कत्ति पनि मन परेन, सहरमा आफ्नो भन्ने त कोही नहुने रहेछ।’
मेरो कुरा गहिरिएर सुनेर हाँस्दै भन्नुभयो, ‘खै हो भतिज, के हो तिमी यसो भन्छौ? पल्लाघरे कान्दाइ हजुरबाको छोरो त उतै पो घरजम गरेर बसेछ त थाहा पायौ?’ उहाँले मलाई मेरो सिनियर ब्याचका एकजना दाइको उदाहरण दिनु भयो।
‘ए त्यो दाइ, अँ अहिले कुरा भएको छैन काका उहाँसँग। ए, त्यो निकै राम्रो कुरा हो त सहरमा गएर बस्नु,’ मैले हँसिलो मुहारमा उत्तर दिएँ।
‘भतिज, तिमी त्यसो भन्छौ तर वास्तविकता अर्कै रहेछ नि। कान्दाइ हजुरबाले त्यत्रो जग्गा बेचेर पढाए, अहिले उहाँको अवस्था निकै बिजोग छ नि। हजुरआमा पनि बेलैमा बित्नुभयो। भएको त्यही एउटा छोरो थियो, पाल्छ कि भनेर त्यत्रो दुख गराएर पढाए, अन्तिममा आफू एक्लै भएर बस्नु पर्यो,’ काकाले सुस्केरा हाल्दै भन्नु भयो।
‘लौ काका! के भयो र त्यस्तो, राम्रै पढ्ने बुझ्ने मान्छे थिए जस्तो लाग्थ्यो त अनि कसरी एक्लै भए कान्दाइ हजुरबा?’ मैले चासो राख्दै प्रश्न गरेँ।
‘भतिज खै के भनौँ, कान्दाइले राम्रो शिक्षा पाओस् भनेर सहर पठाए, सुरुसुरुमा त राम्रै थियो, पछि-पछि हुँदै गएपछि गलत संगतमा परेर सबै पैसा पनि सकिएर फेरि सुधार भएर पढ्दै थियो, ब्याचलर सकेपछि एकचोटि पनि गाउँ आएन। उतै बिहे गरेर बसेको छ भन्ने सुनेपछि यहाँबाट सोधखोज हुँदै जाँदा मेरो कोही छैन, टुहुरो हो भनेर भन्दै हिँडेछ। त्यसपछि हजुरबाले पनि निकै चित्त दुखाए अनि खासै सम्पर्क छैन अहिले।’
‘हजुरबालाई त सुगर छ है?’ मैले प्रश्न गरेँ।
‘हो भतिज, अहिले त अरू बिरामीले पनि निकै च्यापेको छ,’ काकाले भन्नु भयो, ‘खै हो भतिज, सहरमा उच्च शिक्षा पाएर राम्रो हुन्छ भन्ने कि के भन्ने केही थाहा नहुँदो रहेछ, अब हेर त कान्दाइ बाको बिजोग! सबै सम्पत्ति पनि सकियो। त्यही वृद्धभत्ताबाट औषधि गर्दै छन्, कहिलेकाहीँ मसँग भएको बेला म पनि सहयोग गर्छु।’
काकाले उदास अनुहार लगाउँदै भन्नु भयो, ‘ल भतिज, कहिलेसम्म बस्छौ त गाउँ?’
म झसङ्ग झस्किएँ र भनेँ, ‘हजुर काका, यतै बस्छु केही दिन।’
‘ल है त भतिज, भेट्दै गरौँला, अहिलेलाई निस्केँ,’ यति भनेर काका निस्किनु भयो।
गाउँ के कस्तो छ भनेर घुम्न गएको म, कस्तो कुरा सुन्नु परेको थियो, निकै विडम्बनाको कुरा थियो। हामीले के कुरामा कसरी ज्ञानको प्रयोग गर्ने भन्ने कुरा अझै थाहा पाउन सकेका छैनौँ जस्तो लाग्यो। यो त केवल एउटा उदाहरण मात्र त हो, यस्ता हजारौँ उदाहरण हाम्रो समाजमा देख्न सक्छौँ। नेपाल र नेपाली समाज र त्यसलाई प्रोत्साहन गर्ने नेपालको सैद्धान्तिक शिक्षाले निम्त्याउने सबैभन्दा ठुलो समस्या नै यही हो।
विद्यार्थीले आफू पढ्ने बेला सबैकुरा बिर्सेको हुन्छ, समाज, समाजका मूल्य-मान्यता, उसको स्तर। उसले आफूलाई यस्तै कुराबाट दिक्क हुँदै गएपछि आफूलाई अलग गरेर सबैसँग टाढा राख्न खोज्छ। आधुनिक समाजमा विभिन्न सामाजिक मिडिया छन्, तिनीहरूले पनि यसलाई झनै प्रोत्साहन गर्दै लैजान पछि पर्दैनन्। दैनिक पढाइ र त्यसको प्रोजेक्ट लगायतका कुराले गर्दा उसले आफूलाई बिर्सेर विभिन्न गलत काम गर्ने गर्छ।
अलिकति पढाइको नम्बर आयो भने धेरै खुसी हुने अनि अलिकति कम भयो भने निराश हुँदै संसार सकियो अब त केही छैन भन्ने कुरा उसले दिमागमा खेलाउन थाल्छ। आफूलाई सबैसँग टाढा राख्न खोज्छ। घर-परिवारबाट सोधखोज गर्दा झर्किने, आफ्नो अर्को साथीसँग आफ्नै परिवार विरुद्ध कुरा गर्ने लगायतका अन्य विभिन्न कुराहरू ऊमाथि हाबी हुँदै जान्छन् जसले गर्दा अन्तिममा उसले न समाज चिन्छ, न त्यहाँको मूल्य-मान्यतालाई पछ्याउँछ, न त कसैको सम्मान गर्छ।
उसले आफू एक्लैले सबै कुरा गरेको भन्ने कुरा अरूलाई प्रमाणित गराउन सक्दो प्रयास गर्छ। डिग्री बिनाको शिक्षा कति राम्रो थियो, न कुनै प्रतिस्पर्धा, न कुनै ईर्ष्या, न कुनै तनाव, भन्नै पर्दा हाम्रो नेपाली समाज जुन तरिकाले विकास हुँदै आयो त्यो समाजले लिएर आएको एउटा नकारात्मक पक्ष भनेकै डिग्रीको ज्ञान हो।
एउटा विद्यार्थी जसले सामाजिक मूल्य-मान्यतासँगै लिएर समाजलाई सकारात्मक शिक्षा दिँदै हिँड्छ, उसको उक्त काम कसैले देख्दैन र सुन्न चाहँदैन। हामीले सधैँ किताबका काला अक्षरलाई सेतो कागजको पानामा उतार्न सिक्यौँ, नम्बरमा तुलना गर्न सिक्यौँ, बाँकी केही सिक्न खोजेनौँ र जानेनौँ। उदाहरणकै लागि, ‘सैद्धान्तिक रूपमा कामको सम्मान गर्न सिक्नु पर्छ भनेर सिकाइयो तर यथार्थमा फुटपाथमा बसेर गुजारा चलाउने माथि शोषण गरियो।’
अब त्यस्तो ज्ञान लिएर अन्तिममा ऊ कुनै एउटा ठुलो संस्थाको सिइओ त पक्कै बन्छ तर खै सामाजिक पक्षलाई ध्यान दिएको? यस्तो शिक्षाले सामाजिक विभेद निम्त्याउने निश्चित देखिन्छ। तसर्थ, हामीले अबको प्रणालीमा कस्तो शिक्षा दिने र कसरी दिने भन्ने कुरामा बहस गर्न एकदमै जरुरी देखिन्छ, नभए एउटा छोराले आफ्ना बा-आमालाई कुनै वृद्धाश्रममा राखेर पैसाको घमन्ड गर्ने पक्कै देखिने छ।