एकदिन मैले मेरो एक जना भाइ—साजनलाई—एउटा चिया पसलमा भेट्ने भनेर बोलाएँ। एकान्तकुनातर्फ जाँदा बाटोको बायाँपट्टि रहेको ठूला रूखको छायाँमुनि एउटा सानो चिया पसल थियो। त्यहीँ भेटेर उनले बनाएको चियाको स्वाद लिँदै लामो समयपछि भेट भएको कुराकानीले हामीलाई झनै नजिक बनायो।
साजन कक्षा १० मा अध्ययनरत, अत्यन्तै चलाख र मेधावी विद्यार्थी। उसको घरमा हजुरबुवा पनि हुनुहुन्थ्यो र उनीहरूबीचको माया असाधारण थियो। हजुरबुवाले साजनलाई अत्यन्तै माया गर्नुहुन्थ्यो। कहिलेकाहीँ लुकी–लुकी चकलेट र पैसा दिएर खुसी पार्ने गर्नुहुन्थ्यो।
हजुरबुवाको एउटा बानी थियो—धूमपान। आँगनमा बसेर वा छिमेकीहरूसँग गफिँदा उहाँले भन्नुहुन्थ्यो—
'य–य साजन, के गरिराको छस? यता आइज… जा त एउटा बिँडी सल्काएर ल्याइदे!'
साजन हजुरबुवाको यो आग्रह कहिल्यै अस्वीकार गर्न सक्दैनथ्यो। धेरैपटक चुलोमा गएर बिँडी सल्काएर ल्याउने क्रममा उसमा एउटा उत्सुकता पलायो—
'चुरोटको स्वाद कस्तो होला? धुवाँ कसरी निस्कन्छ?'
एकदिन उसले हजुरबुवाका लागि सल्काएको चुरोट आफैँ पनि चाखेर हेऱ्यो। पहिलो तानमै सर्को लागेर खोकी उठ्यो। तर त्यही दिनदेखि उसको मनमा एउटा ढोका खुलेको रहेछ—जुन ढोकाबाट पछि अनेक अन्धकार पस्दै गए।
***
एसएलसी उत्कृष्ट अंकसहित उत्तीर्ण भएपछि साजनलाई कहाँ पढ्ने भन्ने विषयमा घरमा धेरै छलफल भयो। घरको आर्थिक अवस्था कमजोर थियो। बुवा भारतमा काम गर्दै हुनुहुन्थ्यो। साजन टीकापुर पढ्न चाहन्थ्यो, तर हजुरबुवाले भन्नुभयो—
'पढ्ने मान्छे जहाँ पनि पढ्छ, गाउँकै स्कुल–कलेजबाट पनि ठूला काम भएका छन्।'
अन्ततः परिवार र शिक्षकहरूको सल्लाहमा उनले गाउँनजिकैको कलेजमा व्यवस्थापन विषय लिएर प्लस टु सुरू गर्यो।
पहिलो दिन कलेज छिरेपछि उनलाई आफू निकै स्मार्ट र आत्मविश्वासी लागेको थियो। नयाँ साथीसँग परिचय, शिक्षकको भनाइ टिप्ने, पहिलो बेञ्चमा बस्ने—सबै कुरा सुन्दर लाग्थे। तर समय बित्दै जाँदा कलेजभन्दा नजिकको खोलाको किनार, नर्कटले ढाकिएको झारपात, र साथीहरूको आग्रहले उनको जीवन नयाँ मोडतिर गयो।
एकदिन साथीहरूले चुरोट, गाँजा निकालेर सबैलाई बाँड्दै थिए। उनले भने— म पढ्न चाहन्छु, मेरो सपना छ… म यो सबैमा नफसूँ।
तर साथीहरूको दबाब, धम्की र बारम्बारको प्रस्तावले कहिलेकाहीँ मानिसलाई आफूविरूद्धै धकेलिदिन्छ। साजनले त्यो ठाउँ छोडे पनि उनीहरू फेरि–फेरि बोलाउने गर्थे। र अन्ततः—साजनले चुरोट खान थाल्यो।
***
कलेजपछि पुलको ठाउँ—पिपलको रूख, चिसो हावा, तराईको गर्मी भुलाउने छहारी—साजन र उसका साथीहरूको नियमित भेटघाटस्थल बन्न थाल्यो। साँझको छायामा, बासको झारभित्र, साथीहरूको उपस्थितिमा चुरोट पिउन बानी परेपछि साजन त्यसैमै रमाउन थाले।
एक साँझ, नातामा काका पर्ने व्यक्तिले भने— आज साजनले ब्राउन सुगर खानुपर्छ।
साजनले त्यो नाम पहिलोचोटि सुनेको थियो। साथीहरूले पनि– एक सर्ट त खानै पर्छ।
उनी अनमोल भविष्यलाई खतराको धारमा राखेर अञ्जानमै एउटा सर्ट ताने।
त्यस एक सर्टले उनको शरीरमा नयाँ अनुभूति ल्यायो—गर्मीमा शीतल हावाजस्तै। मस्तिष्क हल्का, तनमन झुम्मिने, अस्थायी सुख।
पहिलो चखाइले हिजोभन्दा अझ धेरै चाख्ने इच्छा जन्मायो। र यहीँबाट सुरू भयो—ब्राउन सुगरको नियमित सेवन, त्यसपछि ड्रम, डोल, टुपिन, पिरिका र गाँजा…
साजन अब लागुऔषध दुर्व्यसनको गहिरो खाल्डोमा खसिसकेको थियो।
लत बढ्दै जाँदा लागूऔषध कहाँबाट आउँछ? कसरी पाइन्छ? भन्ने जिज्ञासाले उसलाई तान्यो। ग्रुपका साथीहरूले भारततिरका आपूर्तिकर्तासँग जोडिदिए।
साजनले पहिलोचोटि सीमापार जाँदा साथीहरूले पैसा बटुलेर सामान लिन पठाए। खक्रौला चेकपोस्ट पार गर्दै, झाडी र जंगलबाट यात्रा गर्दै ऊ तिर्कुनिया पुग्यो।
त्यहाँ उसले कहिले ब्याट्रीभित्र, कहिले बाइकको इनाभित्र, कहिले कपडाभित्र लागूऔषध लुकाएर ल्याइने चतुर तरिका देख्यो।
यात्रा दोहोरिन थाल्यो।
साथीहरूको संगत बढ्दै गयो। खाने स्थान, कोड भाषा, समूहको अनुशासन—सब चलिरहेको थियो। तर एक झगडाले समूह दुई भागमा विभाजित भयो। पुलको दुई छेउले अब दुई ग्रुप छुट्यायो। समूह फुटेपछि बदला, रिस, ईर्ष्या र धोका सुरू भयो।
एकदिन रात परेपछि साजन र धर्मेन्द्र पाल जक्सन पुगे। अन्य साथी पर्खिँदै उनीहरू आफैले तयार गरेको ब्राउन सुगर सेवन गर्दै थिए। त्यतिबेलासम्म उनीहरू झ्याप भइसकेका थिए—आँखा–कान धुम्म, शरीर सुन्निएको, जिब्रो बेस्सरी सुस्त।
त्यही बेला झाडी हल्लियो।
उनीहरूले सोचे—अन्य ग्रुपका दुश्मन आएका छन्।
तर त्यो त लागुऔषध नियन्त्रण ब्युरो थियो।
पिस्तोल तेस्र्याउँदा मात्रै उनीहरू होसमा आए।
उनीहरूलाई घेराबन्दी गरेर नियन्त्रणमा लिइयो।
साजन र धर्मेन्द्रलाई हत्कडी लगाइयो। रात परेर तीन घण्टापछि धनगढी जिल्ला प्रहरी कार्यालय पुर्याइयो।
त्यहाँ— उठबस, सोधपुछ, कुटपिट, अपमान—सबै सहनुपर्यो।
साजनले कोही साथीको नाम लिन मानेन। गल्ती आफ्नो भएकाले। केही दिनपछि अदालतले जेल सजाय तोक्यो।
जेलभित्र ३०–४० जना एउटै कोठामा, सास फेर्न गाह्रो हुने, सेप्टिक ट्याङ्की फोरेपछि फोहर बग्ने, नयाँ कैदीलाई कुट्ने पुराना कैदी—सबैभन्दा कठिन दिनहरू।
लागुऔषध नपाउँदा शरीरले सहन नसक्ने पीडा—झाडापखाला, रिँगटा, काँप्ने, बेष्टित दुखाइ। त्यस्तै अन्धकारभित्र पनि उसको मनमा एक मात्र कुरा बल्झिन्थ्यो। "घर… आमा… हजुरबुवा…"
केही समयपछि जेल सजाय सकियो।
जेल सजाय सकेर बाहिर निस्कँदा साजनले सोच्यो—अब जीवन फेरिन्छ।
तर गाउँले समाजले भन्यो घृणाको नजरले हेर्न थाल्यो। अनेक शब्द बोल्न थाले। यी शब्दहरूले जेलभन्दा बढी पीडा दियो।
साथी भनेर चिनाएका कोही आएनन्।
साथ दिएनन्।
दुःख–पीडा, अपराधबोध, गल्ती सुधार्ने चाहना—सब उसैभित्र दन्कियो।
साजनले सबै कुरालाई मन भरी लिएर, गल्ती स्वीकारेर, नयाँ जीवन रोज्यो। अहिले उनी काठमाडौंमा बस्छन्।
भन्छन्— गल्ती भयो, तर गल्तीपछि सुध्रिने निर्णय नै मान्छेको ठूलो जीत हो।'
उनी अहिले धेरै भाइ–बहिनीलाई लागुऔषधका जोखिम, सीमावर्ती क्षेत्रमा बढ्दो ओसारपसार, बेरोजगारीको प्रभाव, भेप–तम्बाकू–गाँजा जस्ता पदार्थका खतरा सबैबारे सन्देश दिन्छन्।
नेपाल–भारत सीमा नजिकका गाउँ र शहरमा लागुऔषध दुर्व्यसन बढ्नु ठूलो चुनौती भएको उनी बताउँछन्। लागूऔषध नियन्त्रण निकाय सक्रिय भए पनि समस्या झनै जटिल बन्दै गएको छ।
युवाहरू बेरोजगारी, गलत संगत, जिज्ञासा र क्षणिक आनन्दका कारण गलत बाटोतिर तानिन्छन्।