अरबौं न्युरोनहरूबाट बनेको हाम्रो मस्तिष्क रहस्यमय छ। अत्यन्त सूक्ष्म रूपमा रहेका न्युरोनहरूले नै हामीले गर्ने सबै खालका कृयाकलापहरूलाई नियन्त्रण गर्दछन्।
उमेर बढ्दै जाँदा अनि नयाँ नयाँ परिस्थितिहरू अनुभव गर्दै जाँदा मस्तिष्कभित्र पनि नयाँ नयाँ सम्बन्धहरू सिर्जना हुँदै जान्छन्।
भिडभाडमा हुने आक्रमकता र हिंसामा मानव मस्तिष्कका विभिन्न संरचनाहरू र मस्तिष्कबाट निस्कने न्युरोकेमिकल पदार्थहरूको गहिरो अन्तरसम्बन्ध देखिन्छ। यसैले गर्दा नै विश्वका हरेक क्षेत्रका लोकतान्त्रिक र गैर लोकतान्त्रिक देशहरूमा पनि देखिएको छ कि, सुरूमा शान्तिपूर्ण विरोध आन्दोलन अन्ततः हिंसात्मक झडपमा परिवर्तन हुन्छन्। अब लागौं मस्तिष्कका ती संरचनातिर।
पहिलो चरण – एमिग्डाला (भावनात्मक स्पार्क):- मस्तिष्कको यस भागलाई डर र क्रोधको केन्द्र मानिन्छ। आगो लाग्दा जसरी अलार्म घडीले तुरून्त प्रतिक्रिया दिन्छ, ठिक त्यसरी नै कुनै पनि घटनाप्रति तुरून्त प्रतिक्रिया दिने गर्दछ।
कुनै पनि आन्दोलनको क्रममा हुने प्रहरी प्रशासनको दमन, बढ्दो तनाव, समाजमा विद्यमान अन्याय, अत्याचार र दमनले यस केन्द्रलाई झन् बढी उत्तेजित बनाउँछ। यसको कारण तर्कसंगत विचार गर्नुभन्दा पहिले नै यसको विरूद्धमा आक्रमण सुरू गर्दछ। आन्दोलनको डर र त्रासले मस्तिष्कलाई कि त लड्न कि त रणभूमि छोडेर भाग्न तयार गराउँछ।
दोस्रो चरण:- दोस्रो चरणमा एमिग्डालाले मस्तिष्ककै अर्को भाग हाइपोथेलामस र ब्रेनस्टिमलाई आफ्नो सूचना प्रवाह गर्दछ।
यो सूचनाका कारण उक्त भागहरूबाट एड्रिनालिन र कोर्टिसोल जस्ता हर्मोनहरू झन् बढी उत्पादन हुन्छन् जसको कारण मुटुको धड्कन बढ्दछ, रक्त सञ्चालन बढ्दछ। साथै शरीरलाई घटनाप्रति सतर्क बनाउन र परिस्थितिसँग लड्नका लागि तयार पार्दछ। यसले गर्दा मानिसमा झन् बढी क्रोध, डर, रिस बढ्छ र शरीर आफ्नो रक्षाका लागि कि त लड्न कि त भाग्न तयार हुन्छ।
तेस्रो चरण– तर्क संगत मस्तिष्कको अपहरण:- हाम्रो मस्तिष्कको अगाडि भागमा प्रि-फ्रन्टल कर्टेक्स हुन्छ। यो भाग मानव जीवनमा तर्कसंगत निर्णय, नैतिक निर्णय अनि आवेग नियन्त्रणका लागि जिम्मेवार हुन्छ। एमिग्डाला अत्यधिक सक्रिय हँदा यसले मस्तिष्कको प्रि-फ्रन्टल क्षेत्रलाई दबाउँछ। फलस्वरूप मानिस कुनै पनि तर्कसंगत निर्णय गर्न नसक्ने अवस्थामा पुग्दछ। एमिग्डाला डर मात्र हैन रिस र आक्रमकताको केन्द्रबिन्दु पनि हो। प्रि-फ्रन्टल कर्टेक्सको नियन्त्रण गर्ने क्षमता अस्थायी रूपमा बिग्रिँदा एमिग्डालाबाट उत्पन्न हुने आक्रामक आग्रहलाई यसले रोक्न सक्दैन।
पटक-पटकका धम्की, अन्याय, अत्याचारको कारण यो केन्द्र अझ सक्रिय हुन्छ। फलस्वरूप नैतिक निर्णय लिन नसक्दा मानिसले एकाएक ढुङ्गामुढा गर्ने, चिच्याउने, कराउने, आतंक मच्चाउने गर्दछ र यी सम्पूर्ण घटना र क्रियाकलापलाई जायज र परिस्थितिको आवश्यकता नै हो भन्ने महसुस गर्दछ।
चौथो चरण- मिरर न्युरोन (भिड एम्प्लिफायर) :- मस्तिष्कको अगाडि (प्रि-फ्रन्टल) र तालु (परापटल) भागमा मिरर न्युरोनहरू हुन्छन्। मिर न्युरोनको काम भनेको ऐना जस्तै हो। अर्थात् आफूले ऐनामा आफूलाई जस्तो रूपमा देखिन्छ ठिक त्यस्तै समाजमा कोही रोइरहेको, हाँसिरहेको, जप गरिरहेको, भजन गरिरहेको देख्दा यी न्युरोनहरू आफै सक्रिय हुन्छन् र स्वयं तपाईं हामीलाई पनि ती क्रियाकलापहरूमा जानी नजानी संलग्न गराउँछन्।
सामान्यतया कुनै पनि कार्यप्रति एकता र साझा उद्देश्यप्रति लक्षित गर्न अनि अपरिचित व्यक्तिहरूबीच मानवीय बन्धन बाँध्न पनि मिरर न्युरोनहरू जिम्मेवार हुन्छन्। त्यसैले त ठूलाठूला फिल्महल, प्रतिस्पर्धात्मक खेल हेर्न खेल मैदानमा जम्मा भएका पक्ष विपक्षका मानिसहरू पनि मिलेर बस्न सक्दछन्।
विरोध प्रदर्शनको क्रममा हुने कुनै पनि घटनाहरू, भावनाहरू आगोको डढेलो जस्तै फैलिन्छ। मिरर न्युरोनहरूले अरुको भावना र क्रियाकलापको ठ्याक्कै नक्कल गर्दछन्। त्यसैले प्रदर्शनको क्रममा देखिने रिस, डर, उत्तेजना र गतिविधिहरू सामूहिक हुन्छन् न कि व्यक्तिगत।
शान्तिपूर्ण भिड पनि हिंसात्मक व्यवहार प्रदर्शन भएमा त्यतातिर नै लाग्दछ। आगजनी, तोडफोड, लुटपाट ठिक होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि प्रि-फ्रन्टल कर्टेक्सभन्दा मिरर न्युरोनहरू हाबी भई त्यस्ता हिंसात्मक गतिविधि र व्यवहारहरू यस सन्दर्भमा स्वीकार्य छ भन्ने विचार बलियो बन्दछ। समाजमा विद्यमान अन्याय, अत्याचार, भ्रष्टाचार विरुद्ध उठेका साझा आवाजहरूका कारण अकल्पनीय ठानिएका कितिपय गतिविधिहरू पनि प्राकृतिक र आवश्यक ठानिन्छन्।
अब लागौं मस्तिष्कबाट निस्किने न्युरोकेमिकल तत्त्वको भूमिका तिर। हिंसा र आवेग नियन्त्रणको सन्दर्भमा सबैभन्दा प्रमुख भूमिका हुन्छ सेरोटोनिन भन्ने तत्त्वको। आक्रमक आवेगहरूलाई रोक्न एग्मिडालाबाट निस्किने प्रतिक्रियाहरू नियन्त्रण गर्न यसले मद्दत गर्दछ। जब शरीरमा सेरोटोनिनको कमी हुन्छ, तब मानिस अचानक रिसले चुर वा क्रोधित हुन्छ अनि धम्किपूर्ण गतिविधिहरूमा ब्रेक लगाउने प्रिफन्टल कर्टेक्सको काममा पनि असर पुग्दछ। अर्का दुईथरी हर्मोन टेस्टोस्टोरन र कार्टिसोलको भूमिका पनि रोचक छ।
टेस्टोस्टेरोन हर्मोनको काम भनेको आफ्नो स्थिति खोज्ने, अरुमाथि प्रभुत्व जमाउने, अनि प्रतिस्पर्धात्मक आक्रमकतासँग जोडिएको हुन्छ। यसले भावनात्मक केन्द्र एमिग्डालाको गतिविधि बढाउँछ जसले गर्दा आन्दोलनमा टकरावको सम्भावना झन बढ्दछ।
त्यस्तै तनाव हर्मोन भनेर कर्टिसोललाई चिनिन्छ। तनावपूर्ण वातावरण वा खतरनाक परिस्थितिहरूमा शरीरमा उर्जा, ध्यान केन्द्रित गर्न, तनाव र उत्तेजनाको व्यवस्थापन गर्न यसले मद्दत गर्दछ।
सामान्यतया के देखिन्छ भने टेस्टोस्टेरोनको मात्रा बढी हुँदैमा आक्रमकता वा हिंसा बढ्दैन तर यो सँगै शरीरमा कर्टिसोलको मात्रा कम भयो भने मात्र यस्ता घटनाहरू घट्न सक्दछन् र मानिस आक्रामक हुन्छन्। प्रायः भिडभाडमा, आन्दोलनमा टेस्टोस्टेरोनको उच्च मात्रा अनि कर्टिसोलको कम मात्रा भइदिँदा मानिसहरू असामाजिक र हिंसात्मक व्यवहारतिर धकेलिन्छन्।
सन् २०१३ मा प्रकाशित एनाटोमी अफ भोइलेन्स नामक वैज्ञानिक लेख अनुसार धेरैजसो हिंसा र आक्रमणमा प्रिफ्रन्टल कर्टेक्सको कार्यक्षमतामा कमि आएको देखिन्छ।
सन् २००८ मा प्रकाशित डेभिडसनको लेख अनुसार राम्रोसँग गरिएको ध्यानविधि, त्यस्तै राटेको वैज्ञानिक लेख अनुसार नियमित रूपमा गरिने व्यायाम, सन्तुलित भोजन, राम्रो निद्राले हाम्रो प्रिफ्रन्टल कर्टेक्सको कार्य क्षमता बढाएको पाइन्छ।
विश्वप्रसिद्ध लेखक ड्यानियल काह्नेम्यानको ‘थिङकिङ फास्ट एण्ड स्लो’ नामक पुस्तकमा कसरी मानव मस्तिष्कले काम गर्दछ भन्ने व्याख्या पाइन्छ।
कुनै पनि विषय, घटना वा व्यक्तिप्रतिको सोचाइमा दिमागका दुई प्रणालीहरू सम्बन्धित हुन्छन्। धैरैजसो हामी पहिलो प्रणालीबाट निर्णय लिन्छौं। मानिसहरू वास्तवमा हामीले सोचे जस्तो तर्कसंगत छैनन्। तर्क गर्ने काम दोस्रो प्रणालीको हो। प्रायः हामि सबै छिटो निर्णय लिने, आफूलाई वास्तवमा भन्दा बढी नै जान्ने ठान्दछौं, भावनामा बग्दछौं।
गलत हुँदा पनि हामी आफ्नो अन्तरज्ञानलाई धेरै विश्वास गर्दछौं। तर वास्तवमा हामीले सोचाइको दोस्रो प्रणाली अर्थात तर्कसंगत सोचाइ, आलोचनात्मक सोचको विकास गर्नुपर्दछ, यसले आफैंलाई प्रश्न गर्न वाध्य पार्दछ भनेका छन्।
यसर्थ शिक्षामा नै परिवर्तन गर्दै सानै उमेरदेखि स्मरण मात्र होइन तर्क र आलोचनात्मक क्षमताको विकास, नैतिक ज्ञानमा जोड, बालबालिकामा इमान्दारिता प्रस्तुत गर्दा पुरस्कृत गर्ने, युवाहरूमा स्वतन्त्र अभिव्यक्ति र आलोचनात्मक विश्लेषण , वैकल्पिक समाधानका लागि उपायको खोजी, आफैंलाई प्रश्न गर्ने बानी, शारीरिक र मानसिक स्वास्थ्य, खानपान र जीवनशैली सुधार गर्न सके व्यक्ति, समाज र राष्ट्रमा घट्ने यस्ता घटनाहरूको धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ।