नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेशको परिणामप्रति खुसी व्यक्त गर्दै प्रतिनिधि सभाको परिणामाप्रति भने असन्तुष्टि व्यक्त गरेका छन्।
पदाधिकारी बैठकअघि सम्बोधन गर्दै प्रचण्डले प्रदेशको परिणाम सन्तोषजनक रहे पनि प्रतिनिधि सभाको परिणाम अनपेक्षित रहेको बताएको सचिव गणेश साहले बताए।
‘प्रदेशतर्फको परिणाम हेर्दा सन्तोषजनकै छ। प्रतिनिधि सभामा हामी नराम्ररी किन खुम्चियौं, निर्मम समीक्षा र सुधारको खाँचो छ,’ प्रचण्डले भनेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने सात वटा प्रदेशसभामा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ५३ सिटमा विजयी भएको छ।
प्रचण्डले सम्बोधन गरेपछि चुनावी परिणामसहित सरकार गठनका संवभानाबारे छलफलका लागि पदाधिकारीहरूले धारणा राख्नेक्रम सुरू भएको थियो।
शनिबारको बैठकमा महासचिव देव गुरूङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसालले धारणा राखेका थिए।
बैठकमा बोल्दै महासचिव देव गुरूङले प्रतिनिधि सभाको परिणाममा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको टिप्पणी गरेका छन्।
‘पार्टीको अवस्थामा खुम्चिनुमा आन्तरिक कारण पनि छन् तर यसमा अन्तर्राष्ट्रिय शक्तिको भूमिकाबारे पनि निर्मम समीक्षा हुन आवश्यक छ,’ उनले भनेका थिए।
यस्तै, उपमहाचिव पम्फा भुसालले गठबन्धनबाट अपेक्षित सहयोग नभएको बताएकी छन्।
‘हामी खुम्चिनुमा गठबन्धन दलले सहयोग नगर्नु पनि प्रमुख कारण हो। चुनाव असाध्यै महँगो हुँदै गएको छ,’ उनले भनिन्।
शनिबारको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सबै विकल्पमा खुला रहने तर गठबन्धन तत्काल नछोड्ने निर्णय गरेको छ।
पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पनि बस्नेछ।