तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ।
यो संगै दाङका प्रमुख दुई क्याम्पसहरूको निर्वाचन तोकिएको मितिमा नहुने भएको छ।
निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेपछि पूर्व सन्ध्यामा निर्वाचन स्थगित हुन पुगेको हो। यहाँ पनि परिचय पत्र फर्जीको विषयका कारण विद्यार्थी संगठन बीचमा विवाद उत्पन्न भएको हुँदा अन्तिम समयमा निर्वाचन रोकिएको हो।
सत्ता साझेदार भित्रकै प्रमुख दलहरू नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले नै यहाँ विद्यार्थीको परिचय पत्र फर्जी बनाएको भन्दै विरोध गरेका छन्।
सोही माग गर्दै नेविसंघले क्याम्पसको निर्वाचन कार्यालयमा र नेकपा एमाले निकटको अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन्।
नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसका इकाइ सभापति भिमार्जन बस्नेत र सचिव डिमन गिरीले विज्ञप्ति मार्फत क्याम्पसमा परिचय पत्र फर्जी रहेको भन्दै त्यसको निष्पक्ष रूपमा छानविन नहुँदासम्म ताला नखोल्ने अडान लिएका छन्।
उनीहरूले प्रत्यक्ष मतपत्रमा संगठनको पहिचान खुलाउने गरी मतपत्र बनाउन माग गरेका छन्।
यो सामुदायिक क्याम्पसमा गठबन्धनबाट नेविसंघका प्रमोद भण्डारी सभापतिका उम्मेदवार छन्। त्यस्तै नेविसंघबाटै विद्रोह गरी प्रभास लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रभासको बलियो प्रभाव देखिएको हुँदा निर्वाचन बिथोल्ने षडन्त्र भएको उनका समर्थकहरू बताउँछन्।
नेविसंघका नेताहरू भने क्याम्पस प्रशासनले नै मिलेमतोमा फर्जी परिचय पत्र वितरण गरेको हुँदा त्यसको निष्पक्ष छानविन हुनुपर्ने कुरा गर्दै आएका छन्। यो क्याम्पसमा यसअघि पनि नेविसंघले स्ववियु जितेको थियो। कांग्रेस भित्रकै दुई धार आमने सामने हुँदा निर्वाचन प्रभावित बनेको कतिपयले विश्लेषण गर्न थालेका छन्।
एमाले निकटको अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपाका बीचमा गठबन्धन भएको छ। यो गठबन्धनबाट अनेरास्ववियुका प्रदीप बस्नेत सभापतिका उम्मेदवार छन्।
अनेरास्ववियुका एक नेताले भने दुई गुट आपसमा भिड्दा फाइदा अनुरास्ववियुलाई हुने भएपछि निर्वाचन बिथोल्ने प्रपञ्च भएको दाबी गरे।
विद्यार्थी संगठनहरूको यही विवादलाई कारण देखाउँदै क्याम्पस प्रशासनले पनि चैत ५ गते हुने भनिएको निर्वाचन अनिश्चित कालका लागि बन्द भएको सूचना सार्वजनिक गरेको छ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १८:२५:१६