जेनजी मुभमेन्ट अलायन्सले नेपाली कांग्रेसको विशेष महाधिवेशन लक्ष्य गर्दै औपचारिक जमघट मात्रै नभई संस्थागत सुधारको प्रस्थान बिन्दु बनाउन आह्वान गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले गर्न लागेको विशेष महाधिवेशनलाई स्वागत गर्दै महाधिवेशन औपचारिक जमघट मात्रै नभई संस्थागत सुधारको प्रस्थान बिन्दु बनाउन कार्यकर्ताहरूलाई आग्रह गरेको छ।
दलको नेतृत्व, संगठन, नीति र कार्यक्रमहरू केकस्ता हुन्छन् भनेर स्पष्टसँग कांग्रेस नेताहरूले जबाफ दिनुपर्ने बताएको छ।
‘पुस २६ गते देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन हुन गइरहेको सन्दर्भमा दलको नेतृत्व, संगठन, नीति र आगामी कार्यक्रमहरू के कस्ता हुन्छन् भन्नेबारे स्पष्ट जबाफ दिन कांग्रेसी नेता कार्यकर्ता तयार हुनुपर्दछ। निरन्तरको बेथिति अन्त्य गरिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक वृत्तमा जेन-जी हस्तक्षेपको ओझ, सामर्थ्य र सन्देशलाई नेपाली कांग्रेसले बुझेको होस्। इतिहासको ब्याजमा भविष्यको राजनीति हुँदैन।’
आन्तरिक लोकतन्त्रका लागि दलभित्रबाट नेता कार्यकर्ताबाट सशस्त्र हस्तक्षेप गर्न जरूरी हुने पनि विज्ञप्तिमा भनिएको छ।
‘हामी महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसका साथै सबै राजनीतिक दलहरूमा सुधार र परिवर्तनको अपेक्षा गर्दै शुभकामना व्यक्त गर्दछौं। देश निर्वाचनको संघारमा छ, जनताको बीचमा मतादेश परिक्षण जानु अघि दलहरूले आफू भित्रैबाट परिवर्तनको शंखघोष गरेको अनुभूति दिलाउन सक्दा मात्रै देश र जनताप्रति न्याय हुनसक्छ,’ अलायन्सले भनेको छ।
