प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ।
बिहीबार बिहान उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको हो।
प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री दाहालसँगको कुराकानीमा अध्यक्ष नेपालले आफू अहिलेकै समीकरणमा प्रतिबद्ध रहेको र मधेसमा पनि अहिलेकै गठबन्धनकै सरकार बन्ने बताएका थिए।
अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे राखेको छलफलमा सहभागी भएका थिए।
उक्त छलफलमा देउवासहित कांग्रेसका अधिकांश पदाधिकारी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।
सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ सोडारी मुख्यमन्त्री छन्। सत्ता गठबन्धनमा रहेका एमाले र माओवादीले सोडारीलाई विश्वास मत दिए पनि एमाले सरकारमा सहभागी भएको छैन।
मधेसमा जसपा नेपाल संसदीय दल नेता सरोज यादव मुख्यमन्त्री छन्। यहाँ एकीकृत समाजवादी पनि सरकारमा छ।
अध्यक्ष यादवले मधेस सरकार जोगाउन खोजेका छन्। उनले एकीकृत समाजवादीको साथ कायमै राखेर सत्ता गठबन्धनमा लोसपालाई भित्र्याउन पहल गरिरहेका छन्।
यसअघि लोसपा अध्यक्ष ठाकुरको निवासमै पुगेर अध्यक्ष यादवले कुराकानीसमेत गरेका थिए।