नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाउने भएका छन्।
५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित कारण खुलाएर विशेष महाधिवेशन माग गर्न 'कभर लेटर' पनि तयार भइसकेको छ।
सकेसम्म आज र ढिलोमा भोलि बिहानसम्म महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने तयारीमा महाधिवेशन प्रतिनिधि छन्। भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। उक्त बैठकअघि विशेष महाधिवेशन माग गर्ने प्रयोजनका लागि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउन लागिएको हो।
नेता प्रतिमा गौतमले ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन लागिएको सेतोपाटीलाई जानकारी दिइन्।
महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दै आएका छन्। मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ छ भने सभापति शेरबहादुर देउवा पक्षले मंसिरमा नियमित वा विशेष महाधिवेशनमा जान नसकिने अडान राखिरहेका छन्।
सभापति देउवा पक्ष मंसिरभित्रै नियमित महाधिवेशनमा जान नखोजेकोले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन लागिएको नेताहरूले बताएका छन्। सभापति देउवा पक्ष भने चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने पक्षमा छ।
महामन्त्री गगन थापाले अब बस्ने केन्द्रीय समिति बैठकमा यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव नल्याउने बताएका छन्। २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले नियमित ४ वर्षे कार्यकाल मंसिरमा सकिँदैछ।
त्यसैले मंसिरभित्रै नियमित महाधिवेशनका पक्षमा महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला छन्।
सभापति देउवा पक्ष मंसिरमा नियमित महाधिवेशन पनि गर्न नचाहेपछि विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या बढ्दै गएको नेताहरूले दाबी गरेका छन्।
महामन्त्रीद्वय थापा र शर्माको सक्रियतामा जिल्ला-जिल्लामा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको भन्दै संस्थापन पक्ष असन्तुष्ट छ। विशेष महाधिवेशनले पार्टी कमजोर बनाउने र विभाजन निम्तने दाबी संस्थापन पक्षको छ भने महामन्त्री थापा र शर्मानिकट विशेष महाधिवेशनको व्यवस्था विधानअनुसार नै भएकोले यसले विभाजन र पार्टीलाई कमजोरभन्दा पनि बलियो बनाउने तर्क गर्दै आएका छन्।
विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर कारण खुलाएर माग गरे सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
विशेष महाधिवेशन माग गर्ने पक्षमा हस्ताक्षर बढ्दै गएपछि सभापति देउवा, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महतले फोन गर्दै हस्ताक्षर फिर्ता लिन दबाब दिएको स्रोतको दाबी छ।
यतिका नेताहरूले हस्ताक्षर फिर्ताका लागि दबाब दिए पनि जम्मा ६ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएको स्रोतको भनाइ छ।
‘कैलालीका ४ जना, डडेल्धुराका १ जना र जाजरकोटका १ जनाले मात्रै हस्ताक्षर फिर्ता लिनुभएको छ,’ स्रोतले भन्यो, ‘५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुटिसकेको छ, थप आउने क्रम जारी छ।’
कैलालीका ४ जना यज्ञबहादुर महरा, ईश्वरी रावल, विदेशनी चौधरी, रमेश ताम्राकारले असोज २६ गते हस्ताक्षर फिर्ता लिएको संयुक्त विज्ञप्ति निकालेका थिए।
उनीहरूले 'महामन्त्री थापा र शर्माबाट विशेष महाधिवेशन आह्वानका लागि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिबाट हस्ताक्षर संकलन अभियान चलाएकोमा हामीलाई विशेष अधिवेशन नभई नियमित अधिवेशन हो भनी झुक्काएर हस्ताक्षर गराएकोमा हाम्रो गम्भीर आपत्ति र असहमति प्रकट गर्दै विशेष महाधिवेशन पक्षमा नरहेको स्पष्ट पार्दछौं' भनेर विज्ञप्ति जारी गरेका थिए।
तर नियमित महाधिवेशनका पक्षमा कांग्रेसमा हस्ताक्षर अभियान चलेको थिएन।
महामन्त्री थापा र शर्माले प्रष्ट रूपमा नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन गर्ने आह्वानसहित हस्ताक्षरका लागि आग्रह गरेका थिए।
२०७८ सालको मंसिरमा भएको १४ औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। यीमध्ये कतिको निधन भइसकेको छ। अहिले रहेका महाधिवेशन प्रतिनिधिमध्ये ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्।
यो हस्ताक्षरसहित कारण खुलाएर विशेष महाधिवेशन माग गर्न ढिलोमा भोलि बिहानसम्म हस्ताक्षर बुझाउने तयारी छ।
सकेसम्म सभापति, नभए उपसभापति पूर्णबहादुर खड्का र उपसभापतिले नबुझेका खण्डमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भए पनि महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्न हस्ताक्षर बुझाउने तयारी गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निवास बूढानीलकण्ठमा प्रदर्शनकारीहरूको आक्रमणमा परेका सभापति देउवा एक महिनासम्म पनि सार्वजनिक रूपमा देखिएका छैनन् भने पार्टी पदाधिकारी तथा कार्यसम्पादन समिति बैठकमा अनुपस्थित छन्।
सोमबार दिउँसो सानेपामा हुने केन्द्रीय समिति बैठक सुरू गर्न सभापति देउवा आउने उनीनिकट नेताहरूले बताएका छन्। कांग्रेसभित्र जेनजी पुस्ताको आन्दोलनपछि नेतृत्व र नीति परिवर्तनको माग उठेको हो।