राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।
रास्वपाले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको हो। इच्छुक व्यक्तिले पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्नेछन्।
पार्टीका प्रवक्ता जगदीश खरेलले आइतबार सार्वजनिक गरेको जानकारीअनुसार स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले आवेदन खुला गर्ने निर्णय गरेको हो। पार्टी महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन विभिन्न सातवटा उपसमितिसमेत गठन गरेको छ।
गठित उपसमितिमध्ये क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामी छन्।
त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोशिमा कार्की, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको छ।