नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सार्वजनिक हुने भएका छन्।
जेनजी आन्दोलनपछि देउवा पहिलो पटक आज सार्वजनिक हुन लागेका हुन्।
भदौ २४ गते यता सार्वजनिक रूपमा नदेखिएका देउवा आजदेखि सुरू हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।
सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सेतोपाटीलाई जानकारी दिए।
'केन्द्रीय कार्यसमिति बैठकमा सभापतिज्यू जानुहुन्छ,' विश्वकर्माले भने।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि केन्द्रीय समिति बैठक सभापति देउवाले नै चलाउने बताउँदै आएका छन्।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित घरमै देउवा र उनकी पत्नी आरजु राणामाथि कुटपिट भएको थियो।
देउवा दम्पतीमाथि कुटपिट गरी प्रदर्शनकारीहरूले घरमा आगजनी गरिदिएका थिए।
देउवाको टाउकोमा चोट लागेको थियो। उनको टाउकोमा १२ वटा टाँका लगाइएको थियो। त्यसयता उनी उपचाररत थिए।
देउवा पार्टीको पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भने अनुपस्थित थिए।