एमाले महाधिवेशन नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज लैजाने तयारी गरेका छन्। अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई उक्त दस्तावेज छलफलका लागि बुझाउन लागेको एक नेताले जानकारी दिए।
‘हामीले भदौ २३ र २४ गतेको घटनाको वस्तुपरक समीक्षा हुनुपर्ने, फरकफरक आयामबाट ती घटनालाई बुझ्नुपर्ने निष्कर्षसहित दस्तावेज तयार पारेका छौं। हाम्रो यो राजनीतिक दृष्टिकोण महाधिवेशनको हलमा छलफल हुनुपर्छ,’ ती नेताले भने, ‘छलफलको मागसहित हामीले अध्यक्ष केपी शर्मा ओलीलाई दस्ताबेज बुझाउने तयारी गरेका छौं।’
वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले यही दस्तावेजसहित आफ्नो उम्मेदवारी प्रस्तुत गर्न खोजेको छ। पोखरेल समूहले अघि सारेको दृष्टिकोणमा भदौ २३ गतेको घटना नेकपा एमाले नेतृत्वको सरकारको कमजोरी, सरकारको नेतृत्व गरिरहेका अध्यक्ष ओलीकै कमजोरीको जगमा भएकाले त्यसको गम्भीरतापूर्वक समीक्षा हुनुपर्ने उल्लेख छ।
अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना वैदेशिक हस्तक्षेप र षड्यन्त्रको अंगको रूपमा भएको भन्दै यसको प्रतिवाद गर्नुपर्ने बताउँदै आएका छन्। पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकमा पनि उनले यही निष्कर्ष सुनाएका थिए।
तर पोखरेल समूहले त्यसलाई काउन्टर दिँदै यसरी आफ्ना कमजोरी, गल्तीहरूलाई वैदेशिक हस्तक्षेपका नाममा ढाकछोप गर्ने कुराले सही निष्कर्षमा नपुर्याउने बताउँदै आएको छ। दस्तावेजमा यिनै कुरा प्रतिविम्बित भएको एक नेताले बताए।
एमालेको ११ औं महाधिवेशन यही शनिबारदेखि सुरू हुँदैछ। महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।