अफ्रिकी मुलुक बेनिनमा सैनिक कू प्रयास विफल भएको छ।
आइतबार त्यहाँको सेनाले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पाट्रिस टालोनलाई अपदस्त गर्दै सत्ता कब्जा गरिएको घोषणा गरेको थियो।
तर सैन्य कू प्रयास १२ घन्टा नबित्दै बिफल भएको भनेर कतारबाट प्रसारण हुने टेलिभिजन अल जजिराले जनाएको छ।
राष्ट्रपति टालोनले आइतबार राति सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै सैन्य कू प्रयास बिफल भएको र स्थिति सरकारको नियन्त्रणमा रहेको बताएका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार सत्ता कब्जाको घोषणा गर्ने समूहका १४ जना सैनिकलाई सरकारले नियन्त्रणमा लिएको छ।
कू प्रयासमा संलग्न उनीहरूसहित अन्यलाई कडा कारबाही गरिने राष्ट्रपति टालोनले बताएका छन्।
आइतबार बेनिनको सबैभन्दा ठूलो सहर कोतोन्नूमा गोलीबारीको आवाज सुनिएको थियो। त्यसपछि हतियारधारी सैनिकहरू टेलिभिजनमा देखिएका थिए। उनीहरूले टालोनलाई सरकारबाट हटाइसकेको दाबी गर्दै संविधान र राज्य संस्थाहरू विघटन भएको घोषणा गरेका थिए।
रोयटर्सका अनुसार सैन्य कू बारे बेनिनको सेना दुई धारमा विभाजित छ। एउटा पक्ष राष्ट्रपति टालोनकै पक्षमा छ।
आइतबार सत्ता कब्जामा लिएको घोषणा गरेको समूहले आफूलाई मिलिटरी कमिटी फर रिफाउन्डेसन भनेर नाम दिएको छ।
सम्बोधनका क्रममा राष्ट्रपति टालोनले सरकारप्रति वफादार रहेको सुरक्षाबलले कू प्रयासलाई विफल पारेको बताएका छन्।
'द्रूत गतिमा परिचालन भएका देशका असली सिपाहीहरूले उनीहरूको प्रयास सफल हुन दिएन। देशद्रोह गर्नेहरूमाथि अवश्य सजाय हुनेछ,' राष्ट्रपति टालोनले भनेका छन्।
पक्राउ परेकाहरू बहालवाला र पूर्वसैनिक पनि छन्।
यो कू प्रयास आगामी अप्रिलमा हुने राष्ट्रपतीय निर्वाचनको तयारी भइरहेका बेला भएको हो। उक्त निर्वाचनपछि सन् २०१६ देखि सत्तामा रहेका राष्ट्रपति टालोनको कार्यकाल सकिँदैछ।
बेनिन क्षेत्रमा पछिल्ला वर्षहरूमा प्रजातन्त्रका लागि खतरा बढ्दै गएको छ।
यसअघि नाइजर, बुर्किना फासो, माली, गिनी र गत महिना गिनी–बिसाउमा सैनिकहरूले सत्ता कब्जा गरेका थिए।
राष्ट्रपति टालोनलाई अर्थतन्त्र पुनर्जीवित गर्ने श्रेय दिइए पनि देशमा माली र बुर्किना फासोमा सक्रिय सशस्त्र समूहहरूले उत्तरी क्षेत्रमा आक्रमण बढाएको सुरक्षा चुनौती कायम रहेको छ।