अमेरिकाले इरानी नागरिकलाई डिपोर्ट गर्न दोस्रो चरणको अभियान सुरू गरेको छ।
आइतबार ५० जना इरानी आप्रवासी लिएर अमेरिबाट चार्टर्ड फ्लाइट उडेको छ। योसँगै इरानीहरूलाई डिपोर्ट गर्न ट्रम्प प्रशासनले दोस्रो चरणको अभियान सुरू गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकाले गत सेप्टेम्बरमा इरानी आप्रवासीहरूलाई चार्टर्ड फ्लाइटमार्फत उसकै देश फिर्ता गरेको थियो।
यसपटक झन्डै २ हजार इरानीहरूलाई डिपोर्ट गर्ने तयारी रहेको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ।
आइतबार अमेरिकाको एरिजोनाको मेसोबाट उडेको जहाज इजिप्ट, कुवेत हुँदै तेहरान पुग्ने बताइएको छ।
अमेरिका र इरानबीच १९७९ यता कुटनीतिक सम्बन्ध छैन। तर डिपोर्ट गरिएका आप्रवासीलाई फिर्ता गर्ने सम्बन्धमा भने दुई देशबीच समन्वय भएको बताइएको छ।
चार्टर्ड फ्लाइटमा ५० जना इरानीसँगै अन्य अरब देश र रूसका पनि नागरिकहरू रहेको भनिएको छ। उनीहरूरुलाई इजिप्टको कायरोमा झारिने र त्यहाँबाट छुट्टै विमानमार्फत तेहरान पठाइने बताइएको छ।
डिपोर्ट गरिएकाहरू धेरैजसो दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका र लामो समय डिटेन्सन सेन्टरमा बसेका र शरण निवेदन अस्वीकृत भएकाहरू हुन्।
इरानको विदेश मन्त्रालयका कन्सुलर सेवा निर्देशक मोज्ताबा सस्ती करिमीले आगामी दिनमा करिब ५५ जनाको आगमन हुने बताएका छन्।
उनले अमेरिकी आप्रवासन नीतिलाई जातीय भेदभावपूर्ण रहेको र इरानीहरूमाथि हिरासतमा पनि अमानवीय व्यवहार गरिएको आरोप लगाएका छन्।
यसबीच, इरानी–अमेरिकी सांसद यास्सामिन अन्सारीले चार्टर्ड उडानमा जोखिममा परेका र संवेदनशील व्यक्तिहरू हुनसक्ने बताएकी छन्।
यसअघिको सेप्टेम्बर उडानमा गएका केही डिपोर्टीहरूले आफूहरूलाई जबरजस्ती विमानमा चढाइएको र अमेरिका तथा कतारमा दुर्व्यवहार भएको आरोप लगाएका थिए। यद्यपि अमेरिका र कतारले ती आरोप अस्वीकार गरेका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले डिपोर्ट गर्न लागेको एक जनासँग कुराकानी समेत गरेको थियो।
ती व्यक्तिले आफू समलिंगी रहेको र शरणका लागि अमेरिका आएको बताएका छन्। उनले पुनः इरान फर्काइए त्यहाँको सरकारले आफूलाई फाँसी दिनसक्ने बताएका छन्।
ट्रम्प प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो डिपोर्टेशन अभियान चलाउने घोषणा गरिसकेको छ। इरानी यात्रा प्रतिबन्ध सूचीमा परेका १९ देशमध्येको हो। जसका कारण उनीहरूको कानुनी आप्रवासन मार्ग थप सीमित बनेको छ।