गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ को नवनिर्मित भवन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्।
छोप्राकस्थित राम्चे चौतारानजिकै निर्माण गरिएको भवनको आइतबार आयोजित कार्यक्रमबीच मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन्।
वडा कार्यालय भवन नहुँदा राम्चेस्थित सामुदायिक भवनमा १७ महिना र केही वर्ष खेपुवामा घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो।
अहिले एक तले, चार कोठाको वडा कार्यालय भवन बनाइएको वडाध्यक्ष भरत हमालको भनाइ छ। ३७ लाख ९ हजार २ सय ४९ रुपैयाँको लगानीमा वडा कार्यालय भवन बनाइएको हो।
भवन निर्माणका लागि शिक्षकसमेत रहेका स्थानीय बासिन्दा कटकबहादुर खत्रीले जग्गा दान गरेका थिए। भवन उद्घाटनको अवसरमा जग्गादाता खत्रीलाई मुख्यमन्त्री पाण्डेले दोसल्ला र सम्मान पत्रसहित सम्मानसमेत गरेका थिए।
वडा कार्यालय भवन बनाउन खत्रीले ३ रोपनी जग्गा दान गरेका थिए।
उनले कालोपत्र गरिएको चोरकाटे-राम्चे-चित्रेपोखरी-भच्चेक सडकखण्डमा पर्ने राम्चे चौतारास्थित जग्गा वडा कार्यालयको नाममा नामसारी गरिदिएका थिए।
यो जग्गाको सरकारी मूल्यांकनअनुसार पनि ३६ लाख रुपैयाँ मूल्य पर्छ।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस भवनबाट जनताले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरेका थिए।
उनले फरक प्रसंगमा बोल्दै फागुन २१ मा सरकारले घोषणा गरेको चुनावमा सबै सहभागी हुनुपर्ने बताए।
अहिलेको अवस्थामा चुनाव हुन नसके देश झन् नयाँ चपेटामा फस्न सक्ने उनको भनाइ छ।
