नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन्।
११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पोखरेलले ओली नेतृत्वमा आएपछि एमालेको महाधिवेशन पञ्चायतको गाउँ फर्क अभियान जस्तै भएको बताएका हुन् ।
'दसौं महाधिवेशनपछि उहाँले एउटा लिष्ट पास गर्ने र ती लिष्टमा रहेका मान्छेले मात्रै चुनाव लड्न पाउने भन्नुभयो। यो त गाउँ फर्क शैली होइन र? २०३२ सालमा गाउँ फर्क लागू भएपछि यही कुरा गरेको थियो। गाउँ फर्कले टिकट दिन्थ्यो, ती मात्रै मान्छे पञ्च भएर चुनाव लड्न पाउँथे। अरुले लड्न पाउँदैनथे,' उनले भने।
ओलीले ११ औँ महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्याउन खोजेको आरोप उनले लगाए।
नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए।
पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुदा नवपुस्ता र जनतामाझ एमाले खुम्चिदै गएको उनले बताए।
'लोकतान्त्रिक ईतिहास बोकेको पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीको रुपमा रुपान्तरित गर्ने जुन किसिमको परिस्थिति बन्दैछ, यसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आईसोलेशनमा जाने अवस्था देखापर्दैछ,' उनले भने।