नेकपा (एमाले) संस्थापन इतर पक्षका नेताहरुले सामूहिकतामा चल्ने पार्टी निर्माण अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।
मंसिर २७ मा सुरु हुने पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापनइतर पक्षले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर अहिले एक जनाको आदेशका भरमा पार्टी चलेको र यसले क्षति निम्त्याएको बताएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली सोही पदमा तेहेरिने तयारीमा लागेका बेला संस्थापन इतर पक्षले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेद्वारका रुपमा अघि सारेको छ।
पोखरेललाई अध्यक्षको उम्मेद्वार बनाउने घोषणा गरेको इतर पक्षका नेताहरुले एकै स्वरमा भने ‘पार्टी सामूहिक नेतृत्व र विवेकमा चल्नुपर्छ। हामी त्यसरी चल्ने पार्टी बनाउन चाहन्छौं।’
उपाध्यक्ष सुरेन्द्र पाण्डेले ११ औं महाधिवेशनलाई आफूहरुले लोकतान्त्रिक विधिबाट नेतृत्व छान्ने विधिबाट लैजान खोजेको बताउँदै भने ‘हामी सामूहिक नेतृत्वको आधारमा अघि बढ्छौँ, नयाँ नेतृत्व आए नेपाली कम्युनिष्ट पार्टीलाई हामीसँगै ल्याउँछौँ।’
एमालेमा अध्यक्ष ओलीसँग टक्कर लिनेहरु पार्टी छाडेर जाने हल्ला चलाइएकोतर्फ संकेत गर्दै उपाध्यक्ष पाण्डेले त्यसको कडा प्रतिवादसमेत गरेका छन्।
उनले भने ‘एमाले हामीले जीवन बिताएको पार्टी हो। पार्टीभित्रका कमजोरीबारे बहस गर्छौँ, छलफल गर्छौँ, महाधिवेशनमा नेतृत्व फेर्ने लोकतान्त्रिक विधिलाई प्रयोग गर्छौँ। त्यो हाम्रो अधिकारको विषय हो। तर, हामीले भएको भएन भने कतै जाँदैनौं, यसैलाई सुधारेर बस्ने हो, यस्ता संकट पार्टी जीवनमा सधैँ आइरहन्छन्।’
पार्टीभित्रको आन्तरिक अवस्था र शक्ति सन्तुलनको अवस्थाबारे आफूहरु जानकार रहेको र त्यो थाहा पाएरै चुनौती मोल्न तयार रहेको पनि बताए।
हालका अध्यक्ष ओलीको नेतृत्व फेरिनुपर्ने उनको मत थियो। ‘नेतृत्व र पार्टीविरुद्ध जथाभावी गर्नेहरूविरुद्ध हाम्रो सामना सधैँ रहन्छ, उहाँले धेरै राम्रो काम पनि गर्नुभएको छ तर कमजोरी पनि भएका छन्। सधैँ एकैजनाले पार्टीको नेतृत्व गरेर हुँदैन, नेतृत्व विकासका लागि समय दिएर अघि बढ्नुपर्दछ।’
अर्का उपाध्यक्ष युवराज ज्ञवालीले सामूहिक नेतृत्वबाट पार्टी चल्नुपर्ने बताउँदै भने ‘सामुहिक नेतृत्व नै उन्नत लोकतन्त्रको नमुना हो। एकल नेतृत्व सहज चल्न सक्दैन। हाम्रो पार्टीमा सामुहिक नेतृत्व भएन, नीति होइन नेता प्रधान भयो।’
नेतृत्वले समयको माग र महत्व बुझ्नुपर्ने बताउँदै ज्ञवालीले अब नयाँ नेतृत्व अघि सार्नुपर्ने बताए। ‘पुरानाको योगदानको सम्मान गर्दै नयाँलाई नेतृत्व दिनुपर्छ। नयाँले जति काम गर्न सक्छन् त्यो पुरानाले गर्न सक्दैनन् ’, उनले भने।
कार्यक्रममा बोल्ने क्रममा नेताहरुले अहिले पार्टी एक जना व्यक्तिको आदेशका भरमा अघि बढेको आरोप पनि लगाएका थिए। ‘एमाले सामूहिक नेतृत्वको अभ्यासबाट अघि बढेको पार्टी हो,’ नेता विनोद ढकालले भने ‘अहिले जनवादको अभ्यास पनि खुम्चिएको छ। नेतामुखी कार्यकर्ता भएको छ। हामी जनतामुखी कार्यकर्ता बनाउन चाहन्छौं।’
अध्यक्षमा ईश्वर पोखरेललाई अघि सारेको यो समूहले बाँकी पदाधिकारी पनि विवादरहित रुपमा टुंगो लगाउने बताएको छ। कार्यक्रममा परशुमेघी गुरुङ, कर्णबहादुर थापा लगायतका नेताहरुले पार्टीमा सामूहिक ज्ञान, विवेक र नेतृत्वको आवश्यकता औंल्याएका थिए।