नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद आरेन राईले सोधेको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको आफूले थाहा पाएको बताएका थिए।
‘यो विषय कुटनीतिक रुपमा टेलब टक... तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले भनेका थिए, ’यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौं।’
सांसद मल्लले यसैप्रति आपत्ति जनाएका हुन्।
‘गम्भीर विषय के भने प्रश्नोत्तरका क्रममा यो मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तहरू हाम्रो संविधानले पनि अपरिवर्तनीय भन्छ। संविधान लचिलो दस्तावेज हो, तर ती कुराहरू अपरिवर्तनीय छन्। मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रममा उभिएर जो कुरा व्यक्त गर्नुभएको छ। यो सामान्य विषय होइन। उहाँले अनौपचारिक कुराकानीमा राख्नुभएकोजस्तो छ। यो कुरा धेरै नै गम्भीर छ। कुनै मुलुकका राष्ट्रप्रमुखले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौं भन्छ होला, यो कति गम्भीर विषय छ। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई हामीले संसदको तर्फबाट करेक्सन गर्नैपर्दछ। यो गम्भीर अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइयोस्,’ मल्लले आपत्ति जनाए।