नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदमा बस्ने नैतिक अधिकार गुमाएको बताएका छन्।
आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनु दुःखद् भएको रावलले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
‘आज नेपाल र नेपाली जनताको लागि एउटा विस्मयको दिन भएको छ। किनकि देशको सार्वभौमसत्ता अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ। नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झूटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन,’ उनले भनेका छन्।
प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्ति प्रकारान्तरले आफ्नो भूभाग अरू देशलाई सुम्पने किसिमको भएको उनको बुझाइ छ।
‘प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्छ त्यस्तो व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैन त? प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, तत्काल नेपाली जनतालाई जानकारी गराउनुपर्छ। यसबारे कहिल्यै कसैको अधीनमा नगएको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्छ। झन्डै दुईतिहाइ बहुमतका साथ नेपाल सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसद र सदस्यहरूको धारणा नेपाली जनताले तत्काल पाउनुपर्छ र जनताले त्यस्तो जवाफ खोज्नुपर्छ,’ रावलको भनाइ छ।