राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन शाहले दिएको 'नेपालले भारतको भूमि मिचेको' भन्ने अभिव्यक्ति अनुचित रहेको बताएका छन्।
आज प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नमा जबाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए।
यसबारे लक्ष्य गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो त्यो आपत्तिजनक छ। भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ।’
उनले यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपा प्रधानमन्त्री एवं नेपाल सरकारसँग माग गर्ने तथा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्ने बताएका छन्।
राप्रपा पूर्वअध्यक्ष कमल थापाले पनि संसदमा जबाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले "नेपालले पनि भारतको सीमा मिचेको छ" भनी दिएको अभिव्यक्तिले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाइदिएको बताएका छन्।
‘केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा हो। तर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन। नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ। यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छ; तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ। तर, मेरो बिचारमा प्रधानमन्त्रीको यो भनाई अतिरञ्जित र गलत छ।स्वयं भारतले समेत आजसम्म नेपालले सीमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको यस्तो तथ्यहिन अभिव्यक्ति सर्वथा उपयुक्त हुन सक्दैन,’ उनले भने।
नेपाल कुनै पनि छिमेकीको सीमा अतिक्रमण गर्दैन र अरूले हाम्रो भूमि अतिक्रमण गरेको पनि सहन सक्दैन भनेर पूर्वअध्यक्ष थापाले भनेका छन्।
‘देश सानो-ठूलो हुन सक्छ, तर राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि कुनै सम्झौता हुन सक्दैन। भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भैरहेका बेला, प्रधानमन्त्रीले "नेपालले पनि भारतको सीमा मिचेको छ" भनी दिनुभएको वक्तव्य पूर्णतः गैरजिम्मेवारपूर्ण छ। म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु। देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्री बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ,’ उनले भने।