प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिनिधिसभाको नयाँ नियमावलीमा विपक्षीहरूले थप छलफल माग गरेपनि सभामुख डोलप्रसाद अर्यालले पारित गर्ने प्रक्रिया अघि बढाउन खोजेका थिए।
सभामुखले प्रक्रिया अघि बढाए पनि विपक्षीहरू रोस्ट्रम घेर्न पुगेका थिए। तर सभामुखले निरन्तर बैठक सञ्चालन गरेका थिए।
त्यसपछि विपक्षी सांसदहरू एकअर्काको काँधबाट माथि उक्लिएर, कुर्सीमा चढेर सभामुखको आसनमा पुग्न खोजेका थिए। त्यसपछि सभामुखलाई मर्यादापालकहरूले घेरेका थिए।
सभामुखले मर्यादापालकको पछाडि बसेर बैठक चलाएका थिए।
सभामुखको आसन भएको ठाउँमा विपक्षी सांसदहरू उक्लिन खोजेपछि सत्तारूढ दलका सांसदहरू पनि प्रतिवादमा ओर्लिन खोजेका थिए।
रास्वपाका अशोक चौधरी पनि सिट माथि चढेर विपक्षी माथि जाइलाग्न खोजेका थिए। तर सत्तापक्षकै अन्य सांसदहरूले उनलाई रोके।
प्रतिनिधिसभाको कार्यसूचीमा आजको बैठकबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने उल्लेख छ।
प्रतिनिधिसभा नियमावलीमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले १३० वटा संशोधन दर्ता गराएका छन्। सांसदहरूले व्यक्तिगत र सामूहिक रूपमा ३५ वटा संशोधन राखेका छन्।
विपक्षी सांसदहरूले नियमावली मस्यौदा समितिको प्रतिवेदन उपर हालेको संशोधन समितिमा पठाएर छलफल गर्नुपर्ने माग गरेका छन्।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले निमायवलीमा राखिएको संशोधनमा छलफल भए अनुरूप समितिमा पठाएर पुनः छलफलको माग राखेका थिए। सभामुखले हुन्छ र हुन्न भन्ने अघि बढाउनु भन्दा पुन: समितिमा लैजान माग गरेकी थिइन्।
तर सभामुख अर्यालले कार्यसूची अनुसार विरोधका बीच बैठक अघि बढाएका थिए।
'हामीले आजकै कार्यसूचीमा सभामा दफाबार छलफल गरेर पारित गरिसकेका छौं,' अर्यालले भने, 'त्यसपछि संशोधनकर्ता माननीयहरुको संशोधन लिइयो र सभापतिले स्वीकार गर्नुपर्ने विषय स्वीकार गरिसिकेको अवस्था छ। फेरि समितिमा लैजाने विषय छैन जस्तो लाग्छ।'
सभामुख अर्यालले सांसदको विचार सुनेको उल्लेख गर्दै कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए।
तर विपक्षीहरूले बैठकमा रोस्ट्रम घेराउ गरेका थिए। त्यसपछि मर्यादापालकहरूले रोस्ट्रम घेरेर सभामुखलाई सुरक्षित पार्न खोजेका थिए।
सभामुख अर्यालले पटक पटक सभाको मर्यादा कायम गर्न निर्देशन दिएका थिए। तर विपक्षीहरूले विरोध जारी राखेपछि बैठक स्थगित भएको छ।
सत्तारूढ दलका सचेतक प्रकाश चन्द्र परियारले विपक्षीले योजनाबद्ध रूपमा आजको बैठकमा अवरोध खडा गरेको बताए।
'सत्ता पक्ष पनि सम्हालिन आवश्यक थियो,' परियारले भने, 'दुवै पक्ष मर्यादा विपरीत जानाले बैठक स्थगित भयो।'