विपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएका छन्।
प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा दिएको एक अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसदमै आएर प्रष्टीकरण दिन भनेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको बैठक बसेको थियो।
बैठकपछि नेकपा प्रमुख सचेतक युवराज दुलालले सेतोपाटीसँग कुराकानी गर्दै सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले हिजो सदनमा दिएको अभिव्यक्ति 'राष्ट्रघाती’ भन्ने निष्कर्ष निस्किएको बताए।
‘प्रधानमन्त्रीको यो अभिव्यक्ति रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसदबाट देशबासीका नाममा माफी माग्नुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले आज संसदमा अवरोध गर्ने निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने।
बैठकमा सहभागी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले पनि प्रधानमन्त्रीले त्रुटिपूर्ण अभिव्यक्ति दिएकोले सच्याउनुपर्ने बताएका थिए।
राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले पनि प्रधानमन्त्रीले त्रुटिपूर्ण अभिव्यक्ति दिएकोले संसदमै आएर प्रष्टीकरण दिनुपर्ने माग आफूहरूको रहेको बताएकी छन्।
प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएपछि हिजै संसदमा कांग्रेस र नेकपाले उक्त अभिव्यक्ति पुष्टि गर्न र नसके रेकर्डबाट हटाउनुपर्ने माग राखेका थिए।