राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारत भ्रमणबाट फर्किएपछि प्रेससँग कुरा गर्ने बताएका छन्।
भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा सभापति लामिछानेले फर्किएपछि कुरा गर्ने बताएका हुन्।
'फर्किएपछि सबै साथीहरूसँग कुरा गर्छु, प्रेससँग कुरा गर्छु,' उनले भने।
पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, प्रदीप आचार्यसहित लामिछाने ५ दिने भ्रमणका लागि भारत गएका हुन्।
उनी २२ गते फर्कनेछन्।
सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ।
भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ।