राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबाट आफ्नो नाम हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
सोमबार उनले सर्वोच्च अदालतमा पुगेर आयोगविरूद्ध रिट दायर गरेका हुन्। उक्त रिटको पेसी मंगलबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
उनकाअनुसार बोहराले आफूलाई आयोगले सुनुवाइको मौका समेत नदिई आफ्नो नाम जेनजी आन्दोलनको अनुसन्धान कारबाही सिफारिस प्रतिवेदनमा मुछेको भन्दै रिट दायर गरेका हुन्।
‘मलाई सुनुवाइको मौकासमेत नदिइकन प्रतिवेदनमा नाम लेखियो। प्राकृतिक न्यायको सिद्धान्त विपरित नाम लेखियो। भदौ २४ गते म अस्पतालमा थिएँ, आयोगको प्रतिवेदनबाट आफ्नो नाम हटाउन माग गर्नुभएको छ,’ कइरालाले भने।
आयोगले जेठ १३ गते जेनजी आन्दोलनको अनुसन्धानको सिफारिस खण्ड प्रकाशन गरेको हो। उक्त प्रतिवेदन प्रकाशन गर्दा रास्वपाका सांसदहरूको नाम समेत उल्लेख गरिएको थियो।
भदौ २३ र २४ को घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे/नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे/नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए/नभएको वा त्यसको दुरूत्साहन भए/नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको थियो।