श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिलाई आधार बनाएर भूमि फिर्ता मागेमा कुन दिने भनेर प्रश्न गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने बताउँदै उनले प्रश्न गरेका हुन्।
‘मलाई आफैंलाई लज्जास्पद महसुस भइरहेको छ। प्रधानमन्त्री ज्यूले रेकर्डबाट हटाउने कुरा मात्रै होइन। इतिहासमा नजिर यस्तो स्थापित भयो। भोलि तिम्रो प्रधानमन्त्रीले भनेको हाम्रो मिचेको छ फिर्ता देउ भन्यो भन्छ भने कुन फिर्ता दिने?,’ उनले प्रश्न गरे।
त्यस्तै, प्रधानमन्त्रीले राष्ट्रकै हित विपरित अभिव्यक्ति दिएको बताएका छन्।
‘जसरी प्रधानमन्त्रीले रोस्ट्रममा आएर राष्ट्रको हित विपरित अभिव्यक्ति दिनुभएको छ। यही आएर माफी मागेर आफ्नो शब्द फिर्ता लिएर हामीले कसैको भूमि मिच्दैनौं र कसैको भूमि मिच्न पनि दिँदैनौं,’ उनले भने।
उनले श्रम संस्कृति पार्टीले प्रधानमन्त्री नआउँदासम्म संसद अवरोध गर्ने पनि बताए।
सभामुख डिपी अर्यालले प्रधानमन्त्रीलाई रूलिङ गरी बोलाउनुपर्ने समेत बताए।