प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले दिएको एक अभिव्यक्तिले नेपालीहरूको शिर निहुरिएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले भने, ‘आज यो गरिमामय संसदमा उभिँदा मेरो शिर निहुरिएको महसुस भइरहेको छ। हिजोमात्र सदनको रोस्टममा उभिएर प्रधानमन्त्रीले ‘छाती चौडा बनाउँदै’ बोलेका विषयले मलाई मात्र होइन करिब तीन करोड नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ।’
नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो भन्ने जबाफ प्रधानमन्त्रीले दिनुपर्ने पनि उनले बताए। ‘भोलि हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कहाँको कुन भूमि दिने हो?’ उनले प्रश्न गरे, ‘प्रधानमन्त्री अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई ‘प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित’ छ भन्यो। ‘जमिन मिचेको विषय’ कसरी क्रस बोर्डर अकुपेसन हुन्छ? परराष्ट्र मन्त्रीलाई त्यति सामान्य ज्ञान छैन?’
रोस्टममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरित रहेको उनले बताए।
‘यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमा सहित हाम्रो भन्दै आएको दाबीलाई पनि कमजोर बनाउँछ । नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्व स्थापित गर्छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्माघाति अभिव्यक्ति दिएर प्रधानमन्त्रीले के पुष्टि गर्न खोज्नुभएको हो? के स्वार्थ पूरा गर्न चाहेको हो? यसको जबाफ हामीलाई प्रधानमन्त्रीले रोस्टमबाट दिनुपर्छ। अनिमात्र सदनमा हामी सहकार्य गर्न सकिन्छौं। हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको ‘धावा’ करेक्सन नभएसम्म सदनमा अगाडि सहकार्य गर्न सकिँदैन,’ उनले भने।
प्रधानमन्त्रीको अभिव्यक्ति इतिहासमै लज्जाबोध गराउने र अपरिपक्व रहेको उनले बताए।
‘सत्ता पक्षको मानिनयसमक्ष पनि अनुरोध छ कि- यस्तो राष्ट्रहित विपरीत अभिव्यक्तमा 'रफ्फु' लगाउँदै बचाउ कार्यमा क्रिपया दुख नगर्नु होला। मलाई लागेको थियो राष्ट्रिय हितमाथि धावा बोलिँदा सदनको अभिभावको रुपमा सभामुख आफै रुलिङ गर्नुपर्ने हो तर विडम्वना प्रश्नलाई वर्जित गर्दै आउनुभएको तपाईंले यस विषयमा पनि मौनता साँध्नु गम्भीर त्रुटि मात्र होइन पदीय गरिमा र जिम्मेवारी माथिको पनि प्रश्न हो। आम नागरिकले हेरिरहेका छन्- दुई तिहाइ बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सार्वभौम सत्ता बोक्न सकिरहेको छ कि छैन?’ उनले भने।