नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन शाहले शुक्रबार संसदमा बोलेको कुरा रेकर्डबाट हटाउन माग गरेको छ।
सोमबार प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरेका हुन्।
'सदनको रेकर्ड हटाउँदै प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्छ,' उनले भने।
लिपुलेक, लिम्पियाधुरा कालापानी नेपाली भूमि हो भन्ने कुरा पनि स्मरण गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे।
'नभए अध्ययन गरे हुन्छ। तथ्यांकको विश्लेषण गरे हुन्छ। अध्ययन छैन भने पढे हुन्छ हामीसँग सिक्न आए हुन्छ,' उनले भने।
प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सिंगो नेपालीहरूले शीर झुकाएको र विदेशीहरू खुसी भइरहेको उनले बताए।
'प्रधानमन्त्रीले विदेशीहरूलाई खुशी बनाउने रणनीति लिनुभएको हो? कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहोल बनाउन त्यो खालको चाकडी गरेको हो हाम्रा प्रधानमन्त्रीले?,' उनले सोधे।
उनले प्रधानमन्त्री बालेनको सदनप्रतिको दृष्टिकोण बारे पनि प्रश्न गरे।
'सेनाले व्यवस्थापन गरेको कार्यक्रममा दौरा सुरूवाल लगाएर जानुहुन्छ, नेपाली पोशाकमा जानुहुन्छ,' उनले भने, 'तर जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ। सदनलाई उहाँले अन्डरइस्टिमेट गर्नुभएको छ।'
संसदको मर्यादा कायम राख्ने जिम्मेवारी सभामुखको पनि भएको उनले बताए।