नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति गगन थापालाई देशको नेतृत्व गर्ने आँट गरेर अघि बढ्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै प्रचण्डले सभापति थापालाई साथ दिन आफूहरू तयार रहेको बताएका हुन्।
‘म तपाईंलाई हिजो स्वास्थ्यमन्त्री हुँदै गर्दा जस्तै तपाईं यो देशको नेतृत्व गर्ने आँट गर्नुभएको छ, तपाईं अगाडि बढ्नुस्। हामी तपाईंलाई सम्पूर्ण रूपले साथ दिन तयार छौँ,’ प्रचण्डले भने।
प्रचण्डले पछिल्लो समय नयाँ पुस्ताका नाममा वृद्ध र बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई लोकतन्त्रवादी र शान्तिका पक्षधरहरूले अनुसरण गर्न नहुने पनि बताए।
‘यहाँ एउटा प्रवृत्ति छ— बुढापाका, वृद्ध भनेपछि तिनीहरूलाई अपमानित गर्ने खालको प्रवृत्ति नयाँ भन्नेहरूले एकथरीले देखाएका छन्। हामी लोकतन्त्रवादी, हामी शान्तिका पक्षधर, हामीले त्यो प्रवृत्ति देखाउन हुँदैन,’ उनले भने।
समाज वृद्ध, प्रौढ र युवाहरू मिलेर चल्ने भएकाले पुस्ताबीच सहकार्य आवश्यक रहेको उनले बताए।
प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारो अवस्थामा रहेको पनि बताए। सरकारका केही अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले देश स्वेच्छाचारिता र अराजकतातर्फ जाने खतरा देखिएको उनको भनाइ थियो।
‘देश अप्ठ्यारोमा छ। लोकतन्त्र नै अप्ठ्यारोमा छ। हामीले समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ, त्यो संविधान पनि अप्ठ्यारोमै छ,’ उनले भने, ‘अझ अहिलेका सरकारका कैयौँ अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर, अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ।’
यस्तो अवस्थामा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी पनि गगन थापालाई लिन पनि आग्रह गरे।
‘म शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ताको नाताले अब त्यो बाँकी काम नेपाली कांग्रेसको तर्फबाट पूरा गर्ने जिम्मेवारी म गगन थापा जीलाई विशेष रूपले भन्न चाहन्छु,’ उनले भने, ‘तपाईंले त्यसलाई पूरा गर्न अगाडि बढ्नुहुनेछ।’
शान्ति प्रक्रियाका बाँकी काम पूरा नगरिए देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्ने पनि प्रचण्डले बताए।