नेपाली कांग्रेसका सभापति गगन थापाले १४औँ महाधिवेशनको मुखमा विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउन तत्कालीन सभापति शेरबहादुर देउवाले गरेको प्रयासको विरोध गरेका थिए। तर अहिले १५औँ महाधिवेशनको मुखमा उनकै नेतृत्वमा कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार बढाइएको छ।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनमा देउवा सभापति र प्रधानमन्त्री दुवै थिए।
दोस्रो कार्यकालका लागि सभापतिमा देउवासँगै नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत नेताहरू प्रतिस्पर्धामा थिए। पहिलो चरणमा देउवाले ५१ प्रतिशत मत कटाउन नसकेपछि निधि, सिंह लगायतको समर्थनमा दोस्रो चरणबाट सभापति निर्वाचित भएका थिए।
त्यतिबेला देउवा नेतृत्वको कांग्रेसले महाधिवेशनको मुखमा विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाएको थियो। विभिन्न क्लस्टरका आधारमा ८ सहमहामन्त्री बनाउने व्यवस्था गरिएको थियो। कोषाध्यक्ष मात्र मनोनीत हुने र अन्य १३ पदाधिकारी निर्वाचनबाट आउने व्यवस्था गरिएको थियो।
१४औँ महाधिवेशनमा १३४ जना केन्द्रीय सदस्य निर्वाचनबाट तथा ३३ जना सभापतिबाट मनोनीत हुने व्यवस्था थियो। सभापतिमा दोस्रो धेरै मत ल्याउने उम्मेदवारमध्ये एक जना स्वतः केन्द्रीय सदस्य हुने प्रावधानसहित कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय थियो।
महाधिवेशनको मुखमा केन्द्रीय समितिको आकार बढाइएको भन्दै त्यतिबेला देउवाको पार्टीभित्रै आलोचना भएको थियो। आफूलाई महाधिवेशनमा सहज हुने गरी पदाधिकारी संख्या थपेर टिम व्यवस्थापन गर्न खोजेको आरोप उनीमाथि लागेको थियो।
यद्यपि, कृष्णप्रसाद सिटौला सहितको समर्थन लिँदा र केन्द्रीय समितिको आकार बनाएर प्यानल बनाउँदा पनि पहिलो चरणमै देउवा सभापतिमा जितेनन्।
उपसभापति एक, महामन्त्री दुई र सहमहामन्त्री दुई पदमा अर्को प्यानलका उम्मेदवार विजयी भए। केन्द्रीय सदस्यमा भने देउवा पक्षका ८० प्रतिशतभन्दा बढी उम्मेदवार निर्वाचित भएका थिए।
त्यही महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका गगन थापाले महाधिवेशनको मुखमा विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने कदमको आलोचना गरेका थिए। थापाले त्यतिबेला भनेका थिए, ‘पार्टी महाधिवेशनको एक दिनअघि विधान संशोधन गरी पदाधिकारी थप्न थाल्यौँ भने त्यसले बेथिति निम्त्याउँछ।’
गगन आलोचना गर्दा त्यसबेला देउवाले नेतृत्वमा रहेको मानिसले कहिलेकाहीँ 'कम्प्रमाइज' गर्नुपर्ने रहेछ भन्ने जबाफ दिएका थिए।
‘अहिले म नेतृत्वमा छु, तिमीहरूले कराइरहेका छौं, कति ठाउँमा कम्प्रमाइज गर्नुपरेको छ, कुनै दिन नेतृत्वमा तिमीहरू आयौं र म बाँचिरहेँ भने तिमीले पनि त्यसबेला कम्प्रमाइज गर्नुपरेको मैले देख्नुपर्नेछ,’ देउवाले त्यसबेला थापालाई भनेका भनाइ उद्धृत गर्दै एक पूर्वपदाधिकारीले भने।
तर, अहिले परिस्थिति फेरिएको छ र देउवाले भनेजस्तै थापा पनि कम्प्रमाइज गर्न बाध्य भएका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापति बनेका थापाको नेतृत्वमा कांग्रेसले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिको आकार २३१ सदस्यीय बनाउने निर्णय गरेको थियो। सोही संरचनाका आधारमा वडा, पालिका, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भई महाधिवेशन प्रतिनिधिसमेत चयन भइसकेका छन्।
तर १५औँ महाधिवेशनको बन्द सत्रमा आइपुग्दा खुलामञ्चबाट फेरि केन्द्रीय कार्यसमितिको आकार बढाइएको छ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिको प्रस्तावअनुसार एक सभापति, एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति, एक महिलासहित तीन महामन्त्री, ११ निर्वाचित र चार मनोनीत गरी १५ सहमहामन्त्री, एक मनोनीत कोषाध्यक्ष तथा ६६ मनोनीत केन्द्रीय सदस्यसमेत रहने गरी कुल २९७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने निर्णय बन्द सत्रबाट अनुमोदन भइसकेको छ। अब सोही संरचनाअनुसार निर्वाचन प्रक्रिया अघि बढेको छ।
केन्द्रीय कार्यसमितिको आकार बढाइएको विषयमा कांग्रेसभित्र ठूलो विवाद देखिएको छैन। यसपालि वडादेखि केन्द्रसम्मका पदमा आकांक्षीहरूले सभापति गगन थापाकै तस्बिर राखेर प्रचारप्रसार गरिरहेको देखिन्छ। आफू निर्वाचित हुन सभापति थापाको सहयोग खोजिरहेका छन्- विभिन्न पदका उम्मेदवारहरूले!
‘यस्तो त रास्वपा महाधिवेशनमा देखिएको थियो, जुन पदका उम्मेदवारले पनि रवि लामिछानेको ठूलो फोटोमा आफ्नो सानो फोटो राखेर प्रचारप्रसार गर्थे, अहिले कांग्रेसमा त्यस्तै देखियो, जुन पदका उम्मेदवारले पनि गगन थापाको ठूलो फोटोमुनि आफ्नो सानो फोटो राखेर प्रचार गरिरहेका छन्,’ एक नेताले भने, ‘गगनको फोटो नराखी प्रचार गर्नेलाई कांग्रेस नै होइन कि जस्तो गर्छन् सामाजिक सञ्जालमा पनि।’
तर पार्टी बाहिर भने थापाका विगतका अभिव्यक्ति र अहिलेको निर्णयबीच तुलना गर्दै आलोचना हुन थालेको छ।
यसपालि सभापति थापा र उपसभापति शर्माले प्यानल नबनाउने भनेका छन् र सबैजसो पदमा उम्मेदवारी धेरैको पर्ने र प्रतिस्पर्धा हुने देखिन्छ।
कांग्रेसका कतिपय नेताहरूले भने विशेष महाधिवेशनमा सहभागी र सहभागी नभएका दुवै पक्षलाई समेटेर अघि बढ्न धेरै पद सिर्जना गर्नु बाध्यता भएको तर्क गरेका छन्।
विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। त्यसक्रममा कांग्रेसका धेरै वरिष्ठ नेताहरू पनि बाहिर थिए। त्यसो हुँदा जुनियर नेताहरू विशेष महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्य बनेका थिए।
विशेष महाधिवेशनमा भाग नलिएका सिनियर केही नेताहरू विशेष महाधिवेशनपछि संस्थापन पक्षमा जोडिएका छन् भने यसअघि पदाधिकारी भइसकेका नेताहरू पुनः पदाधिकारी बन्ने आकांक्षासहित प्रतिस्पर्धामा छन्।
१५औँ महाधिवेशनमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र शेखर कोइरालालगायत नेताहरू सहभागी छैनन्। महाधिवेशन उद्घाटन गर्न देउवालाई निम्ता दिए पनि उनी आएनन्, देउवाका लागि कुर्सी खाली राखेर महाधिवेशन उद्घाटन गरिएको सभापति थापाले बताएका थिए।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। उक्त पक्षले वडा अधिवेशन असोज १५ गतेदेखि सुरू गरेको थियो तर जिल्लाका वडाहरूमा प्राय: अधिवेशन हुन सकेको छैन, वडा अधिवेशन भएका ठाउँमा क्षेत्रीय प्रतिनिधि राख्ने मानिस नपाइएको गुनासा सुनिन्छन्।
नेता पूर्णबहादुर खड्का र शेखर कोइराला भने दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि काम गर्ने बताउँदै आएका छन्।
देउवा पक्षले पनि गगन पक्षले जस्तै युवालाई वडादेखि नै प्राथमिकतामा राखेर अघि बढाउने प्रयास गरेको छ। तर, पदाधिकारी तथा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने पुरानै व्यवस्थालाई भने देउवा पक्षले निरन्तरता दिएको छ।
गगन पक्षले भने जुनसुकै तहका नेता पनि वडाबाटै चुनिएर आउनुपर्ने व्यवस्था गरेको थियो। त्यसैले कतिपय केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
सभापति थापाले ७५ जना महाधिवेशन प्रतिनिधि मनोनीत गर्दा देउवा पक्षले ३०० जना प्रतिनिधि मनोनीत गर्ने तयारी गरेको छ। यससँगै देउवा पक्षले पनि महाधिवेशनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार थप बढाउने हो कि भन्ने आकलन हुन थालेको छ।
केन्द्रीय कार्यसमितिको आकार बढाउनुको उद्देश्य नेता व्यवस्थापन हो भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यसलाई अस्वीकार गरे।
उनका अनुसार कांग्रेसभित्र काम गर्ने दायरा फराकिलो बनाइएको र अब केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मलाई स्पष्ट जिम्मेवारी तोकेर काम गराउने व्यवस्था गर्न लागिएको छ।
‘नेता व्यवस्थापन र उत्पादनका लागि केन्द्रीय समितिको आकार वृद्धि गरेको होइन, हाम्रो काम गर्ने दायरा फराकिलो बनाइएको छ,’ चालिसेले भने, ‘प्रत्येक नेता अब त्यसै बस्न पाइँदैन। प्रत्येकले तोकिएको कार्यसम्पादन गर्नैपर्छ।’
कांग्रेसले केन्द्रीय सदस्य र पदाधिकारीलाई जिम्मेवारी तोकेर निश्चित समयभित्र कार्यसम्पादन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको उनको भनाइ छ।
साथै २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि रूपान्तरण र पुस्तान्तरणको नारा अघि सारेको कांग्रेसले नयाँ संरचनामा युवालाई पनि प्राथमिकता दिएको छ।
कांग्रेसको केन्द्रीय समितिमा ३५ वर्षमुनिका २१ जना सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यस्तै प्रजातन्त्र सेनानी, सहिद परिवार, श्रमिक, पेसागत क्षेत्र, जनसम्पर्कलगायत क्षेत्रबाट पनि केन्द्रीय सदस्य बन्ने व्यवस्था पहिलो पटक गरिएको छ।
यसरी कांग्रेसले संगठन विस्तार, पुस्तान्तरण र विभिन्न क्षेत्रको प्रतिनिधित्व बढाए पनि महाधिवेशनको मुखमा पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णयले सभापति थापाको विगतको अडानमाथि भने प्रश्न उठाएको छ।
१४औँ महाधिवेशनअघि देउवाले पदाधिकारी थप्दा ‘महाधिवेशनको मुखमा विधान संशोधनले बेथिति निम्त्याउने’ बताएका थापाले अहिले आफ्नै नेतृत्वमा त्यसभन्दा ठूलो संरचना निर्माण गरेपछि कांग्रेसभित्रको राजनीतिक व्यवस्थापन र संगठन सुधारबीचको बहस फेरि सतहमा आएको हो।
यस्तो हुनेछ केन्द्रीय कार्यसमिति-
(१) सभापति एक
(२) वरिष्ठ उपसभापति एक
(३) उप-सभापति एक महिला, एक समावेशी सहित चार
(४) महामन्त्री एक महिला सहित तीन
(५) खुल्ला दुई, महिला एक, आदिवासी जनजाती एक, दलित एक, मधेशी एक, खसआर्य एक, थारु एक, मुस्लिम एक र पिछडिएको क्षेत्र एक र अल्पसंख्यक समुदाय\अपाङ्गता भएका व्यक्तिबाट एक समेत निर्वाचित गरेका सह-महामन्त्री एघार जना
(६) केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट मनोनित एक महिलासहित चार सहमहामन्त्री र कोषाध्यक्ष एक।
(७) सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यबाट मनोनित प्रवक्ता एक र आवश्यकता अनुसार विषयगत रुपमा सह प्रवक्ता ।
(८) प्रत्यक्ष निर्वाचित गरेका पैंचालिस जना सदस्य।
(९) महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष निर्वाचित गरेका पन्ध्र जना सदस्य ।
(१०) प्रत्येक प्रदेशबाट एक जना महिला सहित चार जना रहने गरी प्रत्यक्ष निर्वाचित गरेका अठ्ठाईस जना सदस्य र काठमाडौं उपत्यकाबाट एक महिला सहित दुई।
(११) दलित महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिला र एक मधेशी दलित सहित चौध जना
(१२) आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि मध्येबाट आठ महिला सहित वीस जना
(१३) खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट आठ महिला सहित अठार जना
(१४) मधेशी महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिलासहित तेह्र जना
(१५) थारु महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित छ जना
(१६) मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिला सहित पाँच जना
(थ) पिछडिएको क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिला सहित दुई जना
(१७) अपसंख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट एक जना
(१८) अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना
(१९) श्रमिक महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित तीन जना।
(२०) पेशागत विषयगत क्षेत्रका महाधिवेशन प्रतिनिधिहरु मध्येबाट दुई महिला सहित सात जना सदस्य।
(२१) युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुनेगरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुइजना र खुल्ला सात जना गरी एक्काइस जना सदस्य।
(२२) नेपाली जन सम्पर्क समितिकाबाट दुई महिला खुला र तोकिए बमोजिमका क्षेत्रबाट निर्वाचित हुने पाँच गरी सात जना।
(२३) प्रजातन्त्र सेनानी, शहिद परिवार र द्वन्द्व प्रभावित परिवारका महाधिवेशन प्रतिनिधि मध्येबाट शहिद परिवार एक सहित तीन जना सदस्य।
(२४) केन्द्रीय सभापतिले मनोनित छैसट्ठी जना
(२५) प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ ।