गत शनिबार झुण्डिएको अवस्थामा फेला परेकी रुपन्देहीको देवदह ११ बड्की गुम्मीकी किशोरी अंगिरा पासीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्।
शनिबार अपरान्ह १३ वर्षीया किशोरी अंगिरा पासी देवदह-२ स्थित रोहिणी खोला किनारमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
गत शुक्रबार राति स्थानीय २६ वर्षीय वीरेन्द्र भरसँग भेटिएकी अंगिरालाई भोलिपल्ट स्थानीयको भेलाले वीरेन्द्रकै जिम्मा लगाएको थियो।
रातिको समयमा परपुरुषसँग भेटिएको भन्दै स्थानीयले वडा अध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा वीरेन्द्रको जिम्मा लगाएका थिए। सोही साँझ किशोरी खोला किनारमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
किशोरीको शव भेटिएको तीन दिनपछि किशोरीकी आमा शान्ति पासीले छोरोको बलात्कारपछि हत्या भएको दाबीसहित प्रहरीमा मुद्दा दायर गरेकी थिइन्।
प्रहरीले सोही आधारमा किशोरीसँगै शुक्रबार राति भेटिएका वीरेन्द्र भर, उनकी आमा अकाली र ठूली आमा शितली भरलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले आरोपित तीनै जनालाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।
किशोरीको पोस्टमार्टम रिपोर्ट अनुसार उनको बलात्कार भएको देखिएको छ।
सोही अनुसार प्रहरीले किशोरीको हत्या वा आत्महत्या के हो भन्ने पुष्टि गर्न भिसेरा र योनीको स्वाब परीक्षण गर्ने तयारी गरेको जनाएको छ।
घटनाक्रम हेर्दा आत्महत्याको रूप देखिए पनि बालिकाका आफन्तले भने दलित र गरिब भएको भन्दै केटा पक्षले बलात्कारपछि हत्या गरेको आरोप लगाएका छन्।
बालिकाको दिदी प्रभावती पासीले केटाको परिवारले बहिनीलाई घरभित्र पस्न नदिएपछि सँगै खोलामा गएको केटा भाग्नुले पनि बहिनीको बलात्कारपछि हत्या भएको आरोप लगाइन्।
अंगिराकी ठूली आमा चिन्की पासीले केटाले ललाइफकाइ बलात्कार गरेको र समाजले जिम्मा लगाएपछि हत्या गरेको दाबी गरिन्।
यता, वडा अध्यक्ष अमरबहादुर चौधरीले भने राति नै समाज बसेर केटाको जिम्मा लगाइसकेको र आफू बिहानमात्र आएको बताए।
शुक्रबार राति नै स्थानीयले किशोरीलाई केटाको जिम्मा लगाउने निर्णय भइसकेको र आफूलाई भने बिहानमात्र जानकारी भएपछि उपस्थित भएको बताए।