रूसले भारतीय कम्पनीलाई कोरोनाविरूद्धकाे १० करोड डोज भ्याक्सिन दिने भएको छ।
रूसको सार्वभौम धन कोषले भारतको डा. रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई स्पुतनिक–भी नामक भ्याक्सिनको १० करोड डोज दिन सहमत भएको हो।
समाचार संस्था रोयटर्सका अनुसार अहिले तेस्रो चरणको परीक्षणका लागि मस्कोले अन्य देशमा भ्यक्सिन वितरण गर्ने योजनालाई तीव्र गतिमा अघि बढाएको छ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ)ले भारतीय निर्मातासँग मिलेर ३० करोड भ्याक्सिन उत्पादन गर्ने प्रस्ताव गरेको थियो। त्यसपछि रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई १० करोड भ्याक्सिन दिने सम्झौता भएको हो।
भारतको शीर्ष स्थानमा रहेको औषधि कम्पनी डा. रेड्डिजले भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल परीक्षण गर्नका लागि लिएको आरडिआइएफले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यद्यपि कम्पनीले नियामक स्विकृति लिन बाँकी छ।
यस भ्याक्सिनको डेलिभरी भने सन् २०२०को अन्तिम महिनामा हुनेछ।
कोरोना भाइरस विरूद्धको खोपलाई अनुमोदन गर्ने रूस पहिलो राष्ट्र बनेको थियो। यसले तेस्रो चरणको परीक्षण गर्न बाँकी हुँदा नै राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिनलाई अनुमोदन गरेका थिए। उनले सो भ्यक्सिन आफ्नै छोरीमा लगाएको बताएका थिए।