स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरघरमा राखिएका खाली अक्सिजन सिलिण्डर सम्बन्धित उद्योगलाई फिर्ता गरिदिन अनुरोध गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै घरमा, टोलमा र विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालहरूमा रहेका खाली सिलिण्डर उद्योगलाई फिर्ता गर्न आग्रह गरेको हो।
मन्त्रालयले अक्सिजन सिलिण्डरहरू देशका विभिन्न भागमा, व्यक्तिको घर-घरमा पुगेको भन्दै त्यसले अक्सिजनको आपूर्ति प्रणालीलाई असर गर्ने भन्दै यथाशीघ्र सिलिण्डर फिर्ता गर्न भनेको छ।
‘जुनसुकै व्यक्ति, संस्था, निकायहरूले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिण्डरहरू यथासक्य चाँडो जुन उद्योगको सिलिण्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।
साथै अस्पतालहरूलाई अधिकतम् मात्रामा अक्सिजन सिलिण्डर भेरेर राख्न र अक्सिजन प्लान्ट वा ट्यांकहरू मर्मत, जडान गर्न मन्त्रालयको अपिल छ।
पछिल्लो समय अक्सिजन उत्पादन गर्ने उद्योगहरूले अक्सिजन पर्याप्त भएको तर भर्नका लागि खालि सिलिण्डरहरूको अभाव रहेको बताएका छन्। उद्योगहरूले आफूसँग भएका सिलिण्डरहरू पनि फिर्ता नआएको भन्दै अहिले समस्या आएको जनाएका छन्।