काठमाडौंको मनमैजुस्थित घर भित्र पसेको चितुवाको उद्धार भएको छ।
आइतबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१० मनमैजु मन्दिर नजिकै चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
मानिसलाई आक्रमण गरी उक्त चितुवा घरभित्र पसेको थियो।
अहिले उक्त चितुवाको उद्धार भएको एसपी भट्टराईले बताए।
उद्धारका लागि काठमाडौं डिभिजन वन कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।
उक्त चितुवाको आक्रमणबाट मनमैजुको नासलचोक बस्ने ६५ वर्षीय दुलाल महर्जन घाइते भएका थिए। उनलाई शुभम् अस्पताल मनमैजुमा पठाइएको थियो। उनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ।
त्यस्तै ५५ वर्षीय मायानाथ वाग्ले पनि घाइते छन्। उनको उपचारका लागि नेपाली सेनाको छाउनी अस्पतालमा पठाइएको थियो। उनको दाहिने कान र हातमा चोट छ।