भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ।
शनिबार बिहान १० बजे भक्तपुर नगरपालिका-२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले एक जना बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
ठक्करबाट रामेछाप सुनापाती गाउँपालिका-४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको परिसर प्रवक्ता डिएसपी राजु पाण्डेले बताए।
सडकमा खेलिरहेका बेलामा उनलाई ट्यांकरले ठक्कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएका बालकको उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको हो।
प्रारम्भीक अनुसन्धान गरी ठक्कर दिने पानी ट्यांकर र भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
परिसरले घटनाको थप अनुसन्धान अघि बढाएको छ।