गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ जराङस्थित दिलबहादुर रम्तेल पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।
गोरखा सदरमुकामबाट करिब ३२ किलोमिटर दूरीमा रहेको ताकुकोटको रमणीय डाँडामा निर्माण गरिएको यस स्मृति पार्कले ऐतिहासिक, शैक्षिक र पर्यटकीय महत्व बोकेको छ।
पार्कमा २०५२ फागुन १ गतेदेखि सुरू भएको सशस्त्र जनयुद्धदेखि विस्तृत शान्ति सम्झौतासम्मका प्रमुख घटनाक्रम झल्काउने चित्र तथा अभिलेख राखिएका छन्। साथै, गोरखा जिल्लाका १ सय ८८ जना सहिद र राज्य पक्षबाट बेपत्ता पारिएका २० जनाको नाम अंकित शिलालेख समेत स्थापना गरिएको छ।
पार्क परिसरमा पिङ, भ्यूटावर, पिकनिक स्पट, फोटोग्राफी जोन, पैदलमार्ग, टिकट काउन्टर, पार्किङ स्थल तथा फोहोर व्यवस्थापनका संरचना निर्माण गरिएका छन्। ढुंगाले छापिएको बाटो र हरियाली दुबोले पार्कलाई आकर्षक बनाएको छ। यहाँबाट मनास्लु र गणेश हिमाल लगायतका हिमशृंखला अवलोकन गर्न सकिन्छ।
२०५२ फागुन १४ गते स्थानीय सूर्यज्योति माविका प्रधानाध्यापकलाई पक्राउ गरिएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ११ वर्षीय दिलबहादुर रम्तेलको मृत्यु भएको थियो। उनलाई तत्कालीन माओवादीले जनयुद्धको प्रथम सहिद घोषणा गरेको थियो। सोही स्मृतिमा करिब ११ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो।
हाल पार्कमा द्वन्द्वकालीन सामग्री सहित भिडिओ कक्ष, इ–लाइब्रेरी र सभाहल निर्माणको काम समेत भइरहेको छ।
प्रत्येक वर्ष फागुन १४ गते गाउँपालिकाले विविध कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ। ऐतिहासिक जराङ डाँडा सांस्कृतिक तथा धार्मिक विविधताको उदाहरणसमेत मानिन्छ।
तस्बिरहरू:
-1771648338.jpg)
-1771648338.jpg)
-1771648337.jpg)
-1771648337.jpg)
-1771648337.jpg)
-1771648337.jpg)
-1771648336.jpg)
-1771648336.jpg)
-1771648336.jpg)
-1771648336.jpg)
-1771648336.jpg)
-1771648335.jpg)
-1771648335.jpg)