रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न तनावमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेद र वडा अध्यक्ष अवध विहारी प्रसाद साह तेली रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको र सोधपुछ गरिरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए।
‘हिजो सहमति गर्ने उहाँहरू दुई जना हो, कार्यान्वयन गराउन नसकेपछि नियन्त्रणमा लिएर डिएसपी साहेबले सोधपुछ गरिरहनुभएको छ,’ उनले भने, ‘सहमति भनेको खेल खेलाँची हैन नि, आफ्नो पहल हुनुपर्छ कि हाम्रो नियन्त्रणमा छैन भन्न सक्नुपर्छ।’
गौर नगरपालिका वडा नं. ६ सवगढाबाट दुई समुदायबीच विवाद सुरू भएको थियो। पक्राउ परेका शेख जमशेद पूर्व वडाअध्यक्ष हुन भने अवध बिहारी वडा अध्यक्ष हुन्।
बिहीबार साँझ विवाद उत्पन्न भएको थियो। उक्त विवादले हिंसात्मक रूप लिएको थियो। हिजो शुक्रबार दिनभर झडप चलेपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराएको थियो। तर आज बिहानबाटै पुनः सवगढामै दुई पक्षबीच झडप भयो। दुई पक्षबीच भएको झडपका क्रममा १० जना सामान्य घाइते भएको, २० जना व्यक्ति पक्राउ परेको र ७ मोटरसाइकल र १ थान जीप आगजनीबाट नष्ट भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गर्नु परेको भने दर्जनौं राउण्ड हवाई फायर गरेको थियो।
जिल्ला सुरक्षा समिति निर्णयअनुसार प्रशासनले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय चार किल्ला ताकेर प्रमुख जिल्ला अधिकारी दिनेश सागरले फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छन्।
कर्फ्यू आदेशपछि स्थिति नियन्त्रणमा रहेको प्रजिअ दिनेश सागरले बताए।